Logo

बाँदर भगाउन भालुको भेष


एजेन्सि- भारतको उत्तर प्रदेश राज्यमा पर्ने सिकन्दरपुर गाउँका बासिन्दा बाँदरको उपद्रोले आजित भएका थिए। गाउँमा दुई हजारभन्दा बढी बाँदरले आतंक मच्चाइरहेका थिए। बाँदरले बालीनाली ध्वस्त पार्थे, बालबालिकालाई आक्रमण गर्थे।

हनुमानका शाखा–सन्तानले हद नाघेर गाउँमा रजाइँ गर्न थालेपछि गाउँलेले एउटा उपाय आविष्कार गरेका छन्। अचेल हरेक दिन दुई जना युवा भालुको लुगा लगाएर गाउँ डुल्ने गर्छन्। सिकन्दरपुरको बाँदर भगाउने यो शैली अहिले संसारभरि चर्चाको विषय भएको छ।

भालुको भेषमा गाउँ डुल्ने उपाय ग्रामप्रमुख राम ललित बर्मालाई उनका एक जना आफन्तले सुझाएका थिए। ‘बाँदरले साह्रै दुःख दिएपछि गाउँको मुखिया हुनुका नाताले म साह्रै चिन्तित थिएँ,’ बर्माले भने, ‘एक जना आफन्तले भालुको पहिरन लगाएर गाउँ डुल्ने सुझाव दिए। उनको सल्लाह साँच्चै प्रभावकारी साबित भयो। अहिले गाउँमा बाँदरको उपद्रो निकै कम भएको छ। हरेक दिन पालैपालो दुई जना गाउँले भालुको भेष धारण गरेर घुम्ने गर्छन्।’

भारतीय पत्रिका ‘टाइम्स अफ इन्डिया’का अनुसार गाउँलेले चन्दा उठाएर तीन थान भालुको पहिरन बनाउन लगाए। जम्मा खर्च भयो, ५१ सय भारु। एक जना वेशभूषा कलाकार (मेकअप आर्टिस्ट) ले भालुको पहिरन तयार गरिदिए।

गत वर्ष बाँदरले मान्छेलाई, खास गरी बालबच्चालाई आक्रमण गरेका १ सय ५० घटना सार्वजनिक भएका थिए। भालुको भेषमा गाउँले घुम्न थालेपछि बाँदरको उपद्रो निकै घटेको छ।

वन विभागले अर्थ अभावका कारण बाँदरको जनसंख्या वृद्धि रोक्न नसकेको बताएको थियो। बाँदर समात्नु खर्चिलो पनि छ। वन अधिकृत एमएन सिंहका अनुसार एउटा बाँदर समात्न करिब छ सय भारु खर्च हुन्छ। ‘हामीसँग बजेट नै छैन,’ उनले भने, ‘हामीले गर्न सक्ने भनेको गाउँलेलाई बाँदर समात्न अनुमति दिनु हो। बाँदरलाई पक्रिएर जंगलमा छाड्न लगाउनुबाहेक हामीसँग अर्काे विकल्प छैन।’

वन अधिकृत सिंहले सिकन्दरपुर गाउँले बाँदर भगाउन अपनाएको शैली प्रभावकारी देखिए अन्य गाउँमा पनि यस्तै उपाय लगाउन आफूहरूले सिफारिस गर्ने बताए।

गत वर्ष कर्नाटक राज्यस्थित तीर्थहाली गाउँका एक जना किसानले आफ्नो कफी खेती बाँदरबाट बचाउन यस्तै नयाँ शैली अपनाएका थिए। उनले आफ्ना कुकुरहरूको जीउमा बाघका जस्ता पट्टी रंगाएका थिए। बाघजस्ता देखिने कुकुरबाट बाँदर भयभीत भएका थिए र कफी खेतीमा छिर्न छाडेका थिए।

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्