१४ फागुनमा हुने भनिएको स्ववियु निर्वाचनको मिति सर्यो: त्रिवि गम्भिर हुन नसकेको विद्यार्थी नेताको आरोप

काठमण्डौ: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ । यसअघि १४ फागुनमा निर्वाचन हुने भनिए पनि त्रिभुवन विश्वविद्यालयमा मंगलबार बसेको कार्यकारी बैठकले निर्वाचनको मिति सरेपछि निर्वाचन अनिश्चित बनेको हो । बैठकले विशेष कारण देखाउँदै नयाँ सूचना नआउँदासम्म चुनाव स्थगित गरिएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरले बताए ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व नयाँ भएकाले औपचारिक रूपमा निर्वाचनको तयारी नपुगेको भन्दै त्रिवि र अनेरास्वीयूसँग तत्कालका लागि विकल्प खोज्न आग्रह गरिएको थियो । सोहीअनुरूप १४ फागुनमा हुने निर्वाचन तत्कालका लागि रोकिएको अनेरास्वियूका संयोजक ऐन महरले जानकारी दिए ।
आगामी चैतको दोस्रोदेखि तेस्रो हप्ताभित्र स्ववियुको निर्वाचन हुने संयोजक महरको भनाइ छ । नेविसंघले निर्वाचनको तयारी नपुगेको र केन्द्रीय कमिटीसमेत पूरा नभएकाले निर्वाचनका लागि तयार हुन समय लाग्ने बताएपछि मिति सारिएको उनले बताए ।
संयोजक महरले भने, ‘नेविसंघले केही दिनका लागि निर्वाचन मिति सारौँ र गरौँ भनेपछि दश वर्षदेखि रोकिएको निर्वाचन हुन्छ भने, एक महिना समय सर्दा केही नहुने निष्कर्षमा पुगेपछि हामीले मिति सारेका हौँ ।’
त्यस्तै, अनेरास्वियूका नेता जिपी मैनालीले नेविसंघलाई निर्वाचनका निम्ति जिम्मेवार हुन आग्रह गरेका छन् । उनले विद्यार्थी संगठन एकमत हुन नसकेकाले स्ववियु निर्वाचन स्थगित गर्नु परेको र ‘रेडिमेड’ जवाफ दिएर निर्वाचन गराउने दायित्वबाट त्रिवि प्रशासन भागिरहेको बताए । ‘के त्रिविको जिम्मेवारी चुनाव नहुने सूचना टाँसेपछि पूरा हुन्छ ?’ उनले प्रश्न गरे ।
त्रिवि गम्भिर हुन नसक्दा स्ववियु निर्वाचन स्थगित भएको नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले बताए । त्रिविले १४ फागुनमा निर्वाचन गर्ने हल्ला गर्यो तर, निर्णय गर्न नसकेको उनको आरोप छ ।
त्रिविले चुनावका लागि देशभर प्रस्तावित कार्य तालिका पठाए पनि निर्णय गरेको कार्य तालिका पठाउन नसकेको उनको भनाइ छ । निर्वाचनका लागि १६ माघमा केन्द्रीय समिति गठन भएपछि सबै विद्यार्थी संगठनसहितको बैठक बस्न नसकेको र कार्य तालिकामाथि छलफल नभएको उनले बताए ।
हालसम्म केन्द्रीय निर्वाचन समितिको अध्यक्षमा रेक्टर हुने त्रिविको व्यवस्था भए पनि रेक्टर नल्याएकाले विश्वसनियतामा प्रश्न उठ्ने गरेको अध्यक्ष ढुङ्गानाले बताए । उनका अनुसार निर्वाचन गर्न विद्यार्थी संगठन आतुर रहेको तर, त्रिविले निर्वाचन गराउने हल्ला चलाएर कुनै पूर्वाधार तयार गर्न नसकेको हो ।
नेविसंघको नयाँ नेतृत्व आएलगत्तै देशभर निर्वाचनको भरपर्दो वातावरण निर्माण र रेक्टर नियुक्त गर्न आग्रह गरे पनि त्रिवि गम्भिर नभएको उनको तर्क छ ।