अदालतले महरा सरलाई पनि न्याय दियो र मैले पनि न्याय पाएकी छु, अब फेरी महरा सरसँगको सम्बन्ध पहिलेको जस्तै हुन्छ: रोशनी शाही

फाल्गुन ५- २०७६
काठमाडौं- ‘म एकदमै खुसी छु अदालतले जे गर्यो एकदम ठीक गर्यो’– काठमाडौं जिल्लाअदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ दिँदा कस्तो लाग्यो भन्ने प्रश्नमा रोशनी शाहीले यसो भनेकी हुन् । अदालतले महरा र आफू दुवैलाई न्याय दिएको भन्दै उनले भनिन्– ‘गरिमामय अदालतले आफनो विश्वास कायम राख्यो, मलाई पनि न्याय दियो, महरा सरले पनि न्याय पाउनुभयो ।’महरालाई बलात्कार प्रयास अभियोगमा प्रमाण नपुग्ने भन्दै अदालतले सफाई दिएको छ ।
सुनियोजित षड्यन्त्रका साथ महरालाई फसाउन खोजिएको दाबी गर्दै उनले भनिन्– ‘उहाँलाई फसाउन निकै प्रपञ्च रचियोे, हल्लै हल्लामा उहाँलाई जेल जान बाध्य पारियो ।’
तपाईंले नै जाहेरी दिनुभएको होइन र ? भन्ने प्रश्नमा उनले ती बेहोसीका कुरा भएको बताइन् । यसमा पनि राजनीति गर्न खोजिएको उनले दाबी गरिन् ।
महिला र बलात्कार शब्दलाई जोडेर राजनीति
महिलावादी कुरा गर्नेले नै समाज बिगारेको उनले बताइन्– ‘यी महिलावादीहरुले नै महिला र बलात्कार शब्दलाई प्रयोग गरेर राजनीति गरिरहेका छन्, कहिले अभियन्ताका नाममा कहिले एनजीओ आइएनजीओको आडमा खेलेका छन् ।’
याे पनि पढाैं-
अजयबाबुको प्रश्न– रोशनी शाही सजायको भागिदार बन्ने कि नबन्ने ?
महिलावादीहरुले दोहोरो खेल खेलेर पीडितलाई झनै पीडा र पीडकलाई पनि पीडा दिने काम गरेको उनले बताइन् । ‘जबरजस्ती मुद्दा लगाइदिने र जे बोल्न मन लायो त्यही बोल्नेहरुका कारण समाजमा झनै विकृति बढेको छ’– रोशनी भन्छिन् ।
उनले भनिन्– ‘कसैलाई न्याय दिन खोज्दै हुनुहुन्छ भने राम्रोसँग केलाएर, बुझेर मात्र दिनुहोस्, नत्र यो दोहोरो राजनीति छोडिदिनुस् ।’
पारिवारिक जीवन
यो घटनापछि आफ्नो पारिवारिक जीवन भाँडभैलो भयो भनेर निकै ठूलो अफवाह फैलाइएको भन्दै उनले आफू महिलाहरुबाटै पीडित भएको बताइन् ।
उनले भनिन्– ‘के एउटा एउटा लोग्नेमान्छेले डिर्भोस गर्दैमा स्वास्नी मान्छे मरिहाल्छ र ? पुरुषले पनि महिलालाई डिभोर्स गरेको हुन्छ । उसलाई हामीले कठै विचरा के गरेर बाँच्छ त भन्दैनौँ नि ? तर, महिलालाई कठै भन्छौं किनकी हामी महिलाबाट नै पीडित छौं ।’
‘म पुरुष बिना बाँच्न सक्छु भनेर हिड्ने मानिस हूँ, हामी महिला यसरी नै अघि बढ्नुपर्छ’– उनले भनिन् ।
महरासँगको सम्बन्ध पहिलाजस्तै
महरासँग आफ्नो राम्रो सम्बन्ध रहेको राेशनीले बताइन् । अरुले लगाइदिएका र फसाएका कुरामा आफू नलाग्ने बताउँदै उनले भनिन्– ‘हाम्रो सम्बन्ध पहिले जस्तो थियो अब त्यस्तै रहन्छ ।
हामी त्यसरी गएका पनि होइनौं, अरुले लगाइदिएका कुरामा हामीले दुश्मनी किन मोल्ने ? उनले अगाडि थपिन्– ‘हाम्रो सम्बन्ध बिग्रँदैन, उहाँ मेरो मात्र होइन हामी सबैका अभिभावक हुनुहुन्छ, गुरु हुनुहुन्छ ।’