नेपाल आईसीसी विश्वकप लिग–२ काे अङ्क तालिकामा कति औँ स्थानमा ?

काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकाेणात्मक एकदिवसीय क्रिकेटमा नेपालले सुखद् अन्त्य गरेको छ । नेपाल, अमेरिका र ओमानबीच नेपालमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल दुई पटक ओमानसँग पराजित हुँदा दुवै नै पटक अमेरिकालाई पराजित गर्न सफल भयो ।
ओमान भने नेपालमा खेलेकाे चार वटै खेल जित्दै शीर्ष स्थानमा उक्लिएको छ । ओमानले १० मध्ये आठ खेलमा जीत र दुई खेलमा पराजित हुँदै १६ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो । नेपाल आउनुअघि दोस्रो स्थानमा रहेको ओमान यहाँ भएका सबै चार खेल जित्दै शीर्ष स्थानमा उक्लिएको हो ।
यस्तै अमेरिका दोस्रो स्थानमा झरेको छ । १२ खेल खेलेको अमेरिका नेपाल आउनुअघि शीर्ष स्थानमा थियो । तर नेपाल र ओमानसँग सबै खेल गुमाएपछि दोस्रो स्थानमा झरेको हो । अमेरिकाले १२ मध्ये ६ खेलमा जीत र ६ खेलमा हारको सामना गर्दै १२ अङ्क बनाएको छ ।
आठ खेल खेलेको स्कटल्याण्ड नाै अङ्कसहित तेस्रो स्थानमा छ । स्कटल्याण्डले चार खेलमा जित र तीन खेलमा हार भाेगेकाे छ भने एक खेल नतिजाविहीन भएपछि नाै अङ्क बनाएको हो ।
लिग–२ खेल्ने सात टिममध्ये शीर्ष तीन टिम आईसीसी विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ । पुछारमा रहेका चार टिमले भने विश्वकपका लागि छनोट चरण पार गर्नुपर्ने छ ।
नामिबिया तालिकाकाे चौथो स्थानमा छ । अहिलेसम्म खेलेकाे सात खेलमध्ये चार खेलमा जित हात पारेको नामिबियाकाे आठ अङ्क छ । यस्तै पाँचौँ स्थानमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ । यूएईले सातमध्ये तीन खेलमा जीत हात पार्दा तीन खेलमा पराजित भएको छ भने एक खेल नतिजाविहीन भएकाे छ । उसको सात अङ्क छ ।
यस्तै नेपाल तालिकाको छैटौँ स्थानमा छ । घरेलु भूमिमा भएको त्रिकोणात्मक सिरिजका दुई खेलमा नेपाल ओमानसँग पराजित भयो । नेपालले अमेरिकासँगकाे दुई वटै खेलमा जित हात पार्दै तालिकमा चार अङ्क बनाएको हो ।
त्यस्तै तालिकाकाे सातौँ स्थानमा पपुवा न्युगिनी रहेको छ । पपुवा न्युगिनीले खेलेका आठ वटै खेलमा पराजित भएको छ । ऊ अङ्कविहीन छ ।
अन्तिम अपडेट: फागुन २, २०७६