स्कुटर दुर्घटनामा परी नायिका महिमा सिलवालसहित २जनाको मृत्यु

धादिङ — स्कुटर दुर्घटनामा नायिका महिमा सिलवालसहित २ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट चितवन जाँदै गर्दा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर र भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस गजुरीकाे चाम्बासमा आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।
बस चालक पाल्पा पिपलडाँडा गाउँपालिका ६ का ४४ वर्षीय रणवीर गौतमलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ।दुर्घटनामा चितवन भरतपुर महानगरपालिका स्थायी घर भएकी २० वर्षीया महिमा र उनकी दिदी २२ वर्षीया शर्मिला सिलवाल गम्भीर घाइते भएका थिए। महिमाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र शर्मिलाको काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
महिमाले एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन्। उनले ‘कारबाही’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन्। ‘सकस’, ‘सुब्बा साब’, ‘अप्रिल फुल’, ‘नो स्मोकिङ’, ‘दानव’, ‘एक से एक’ लगायत चलचित्रमा अभिनय गरेकी थिइन्।