Logo

बाटो छेक्ने पहाड र क्रान्तिकारीहरूको कार्यभार


378 Views

रमेश सुनुवार

नेपालमा अहिले सर्वगुणसम्पन्न एउटा राजनीतिक पार्टीको उदय भएको छ । त्यसको नाम राखिएको छ– डबल नेकपा । त्यो कति भव्य छ भन्ने कुरा त्यसको नामले नै बताउँछ । नाम डबल, अध्यक्ष डबल, कार्यकर्ता डबल, आकार डबल, बहुमत डबल ।

डबल नेकपामा अहिले के छैन ? कम्युनिस्ट पार्टी चाहने मानिसहरूका लागि हँसिया– हथौडा अङ्कित रातो झन्डा फहराएको पार्टी छ । गौरवशाली इतिहास चाहने मानिसहरूका लागि एउटासँग झापा विद्रोहको विरासत छ र अर्कोसँग दसबर्से जनयुद्धको विरासत छ । बहुमत चाहने मानिसहरूका लागि महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने कुराबाहेक अरू सबै गर्नसक्ने दुई– तिहाइ बहुमत छ ।

तर यथार्थमा त्यहाँ केही पनि छैन । हँसिया– हथौडा अङ्कित रातो झन्डा फहराउने कम्युनिस्ट पार्टी त एउटा ट्रेडमार्क मात्र हो । डबल नेकपालाई कम्युनिस्ट पार्टी भन्नु र ‘हात्ती र हात्तीछाप चप्पल उस्तै–उस्तै हो’ भन्नु एउटै कुरा हो । त्यसको दुई–तिहाइ बहुमत मछुवाको धडियामा थुप्रिएको माछाजस्तै हो र त्यसको गौरवशाली इतिहास हिङ बाँधेको टालोजस्तै हो ।

डबल नेकपा कम्युनिस्ट नाम राखेर दुनियाँका सारा बुर्जुवा सुविधाहरू उपभोग गर्ने पाखण्डीहरूको जमात हो । त्यहाँ जसलाई जे गर्न पनि छूट छ । त्यहाँ इमान र बेइमान, सदाचारी र भ्रष्टाचारी, क्रान्तिकारी र प्रतिक्रियावादी सबै अटाउँछन् । जब क्रान्तिकारी बनेरै प्रतिक्रियावादी काम गर्न पाइन्छ भने प्रतिक्रियावादीको बिल्ला किन भिर्नुपर्यो ? जब कम्युनिस्ट बनेरै दुनियाँ ठग्न पाइन्छ भने शोषक बनेर घृणित किन हुनुपर्यो ? र जब सदाचारी बनेरै भ्रष्टाचार गर्न पाइन्छ भने भ्रष्टाचारीको दाग निधारमा किन लगाउनुप¥यो ? त्यसैकारण डबल नेकपा कयौँको आकर्षणको केन्द्र बनेको छ ।

विगतमा केपी वली माओवादी पार्टीको विशाल आकारप्रति व्यङ्ग्य गर्दै भन्थे, ‘दूध त एक माना नै हो, उम्लेर धेरै देखिएको मात्र हो ।’ अहिले उनको डबल नेकपा त्योभन्दा कुनै अर्थमा भिन्न छैन ।

इतिहासको कुनै कालखण्डमा नेपाली काङ्ग्रेसका नेताहरू दुनियाँलाई तर्साउने गर्थे– ‘ काङ्ग्रेस असफल भयो भने शिशु प्रजातन्त्र खतरामा पर्छ ।’ सबैलाई थाहा छ, इतिहासमा काङ्ग्रेस कहिल्यै पनि सफल भएन । तर पनि प्रजातन्त्र खतरामा परेको छैन किनभने काङ्ग्रेसले प्रजातन्त्र बचाएकै होइन, बरु प्रजातन्त्रका नाममा काङ्ग्रेसस बाँचेको हो ।

अहिले इतिहासको अर्को कालखण्डमा फेरि डबल नेकपाका नेताहरू दुनियाँलाई तर्साइरहेका छन्, ‘हामी असफल भयौँ भने समाजवाद खतरामा पर्छ ।’ तर यथार्थ के हो भने डबल नेकपाका नेताहरू असफल भएर समाजवाद खतरामा पर्दैन, बरु उनीहरू नै खतरामा पर्छन् । मानवजातिलाई समाजवादको आवश्यकता पर्छ भने जबसम्म मानवजाति रहन्छ तबसम्म समाजवाद कहिल्यै खतरामा पर्दैन । बरु जसजसले समाजवाद छोड्छन्, तिनीहरू नै खतरामा पर्छन् ।

अहिले डबल नेकपा एउटा चिनियाँ कथामा वर्णन गरिएको बाटो छेक्ने पहाडजस्तो भएको छ र क्रान्तिकारीहरू पहाड पन्छाउने मूर्ख बूढोजस्ता भएका छन् । त्यो कथामा एउटा बूढो मानिसले आफ्नो घरअगाडि बाटो छेकेर उभिएका दुईवटा पहाडहरूलाई कोदालोले खनेर पन्छाउन थाल्छ । त्यो देखेर नजिकै बसिरहेको एउटा विद्वान् आउँछ र उसलाई उपहास गर्दै भन्छ, ‘तिमी कस्तो मूर्ख हौ, यसरी पहाड पन्छाएर कहिल्यै सकिन्छ ?’ विद्वान्को त्यस्तो कुरा सुनेर उसले उत्तर दिन्छ, ‘मेरो पालामा नसके छोराको पालामा सकिन्छ । छोराको पालामा पनि नसके नातिको पालामा सकिन्छ किनभने यी पहाडहरू त बढ्दैनन् । जति खनेर पन्छायो, त्यति घट्दै जान्छन् । यसरी घट्दै जाँदा एक दिन त अवश्य सकिन्छ ।’ त्यसपछि उसले पहाड पन्छाउने काम जारी राख्छ ।

लामो समयपछि त्यो बूढोको अदम्य साहस, अटल विश्वास र अनवरत लगनशीलता देखेर देवताहरू प्रभावित हुन्छन् र उनीहरू आएर ती पहाडहरूलाई बोकेर लान्छन् । त्यसपछि बाटो खाली हुन्छ । यसरी पहाड पन्छाउने मूर्ख बूढोले वास्तवमै पहाड पन्छाउँछ र ऊ मूर्ख होइन भन्ने कुरा सिद्ध गर्छ ।

त्यसकारण अब नेपालका क्रान्तिकारीहरूले पनि क्रान्तिको बाटो छेकेर उभिएको डबल नेकपा नामको पहाडलाई पन्छाउनुपर्छ र आफूमूर्ख नभएको कुरा सिद्ध गर्नुपर्छ । यसलाई देवताहरूले बोकेर त लाँदैनन् तर क्रान्तिकारीहरूको अदम्य साहस, अटल विश्वास र अनवरत लगनशीलताको परिणामस्वरूप नेपाली जनता र भ्रमबश डबल नेकपाभित्र रहेका प्रगतिशील कार्यकर्ताहरूले नै लगेर डम्पिङसाइटमा फाल्छन् ।

अहिले क्रान्तिकारीहरूलाई तथाकथित विद्वान् हरूले मूर्ख बनाइरहेका छन् । कोही भन्छन्, ‘यो बाउन्न साल होइन ।’ कोही भन्छन्, ‘राजनीतिक क्रान्तिको चरण समाप्त भइसक्यो ।’ कोही भन्छन्, ‘ बन्दुक पड्काएर समाज बदलिँदैन ।’

यी तथाकथित विद्वान्हरूलाई क्रान्तिकारीहरूले के उत्तर दिने ? यो बाउन्न साल होइन भन्ने कुरा सबैलाई थाहा छ । तर के मानव समाज दिन गनेर बदलिन्छ र ? मानव समाज दिन गनेर बदलिन्थ्यो भने राउटे र कुसुन्डाजस्ता मानव समुदायहरू अहिलेसम्म किन जङ्गलमै छन् ? युरोप र अमेरिकाका मानिसहरू धेरै अगाडि बढिसक्दा पनि हामी किन पछाडि छौँ ?

अहिले ‘राजनीतिक क्रान्तिको चरण समाप्त भइसक्यो’ भनेर तर्क गर्ने विद्वान्हरूलाई २०४६ सालको राजनीतिक क्रान्तिपछि बन्दुक बोकेर जङ्गल पस्ने रहर किन लागेको होला ? विद्वान् महोदयलाई २०६२–६३ को क्रान्ति अन्तिम हो भन्ने लागेको हो भने २०४६ को क्रन्ति र २०६२–६३ को क्रान्तिका बीचमा धेरै भिन्नता छैन । ती दुई क्रान्तिहरूका बीचमा एउटा भिन्नता छ, त्यो हो– गणतन्त्र । तर गणतन्त्र आउनु क्रान्तिको अन्त्य होइन । त्यसो हुन्थ्यो भने चीनमा सन् १९११ मा भएको क्रान्तिमा गणतन्त्र आएको थियो तर त्यसबाट केही पनि परिवर्तन भएन । त्यसकारण फेरि अर्को क्रान्तिको तयारी गर्नुपर्यो । त्यसैगरी रुसमा सन् १९१७ को फेब्रुअरीमा भएको क्रान्तिमा गणतन्त्र आएको थियो तर त्यसबाट पनि केही परिवर्तन भएन । फलस्वरूप त्यहाँ फेरि अर्को क्रान्तिको तयारी गर्नुपर्यो ।

यहाँ अर्कोथरीक विद्वान्हरू पनि छन् जसलाई ‘बन्दुकफोबिया’ भएको छ । उनीहरूलाई बन्दुकप्रति ठूलो वितृष्णा छ । त्यसकारण उनीहरूले शान्ति र अहिंसाको उपदेश दिनमा बुद्घ र गान्धीलाई पनि उछिन्न थालेका छन् तर यी विद्वान्हरूले विगतमा बन्दुककै बलमा आफ्नो गौरवशाली इतिहास रचेका थिए । वर्गशत्रु खतम गर्नका लागि सशस्त्र झापा विद्रोह गरेका थिए । आज पनि यिनीहरूले त्यसलाई आफ्नो योग्यताको प्रमाणपत्र बनाएकै छन् । फेरि बुद्घ र गान्धीका अनुयायीहरूले शान्ति र अहिंसाको उपदेश दिनुको अर्थ हुन्छ तर आफूलाई माक्र्सवादको पारखी ठान्ने यी महाविद्वान्हरूले यस्तो उपदेश दिनुको के अर्थ होला !

बन्दुकको विरोध गर्ने विद्वान्हरूले अगाडि सार्ने एउटा गज्जबको तर्क छ, ‘प्रजातन्त्रमा सबैलाई समान अवसर प्राप्त हुन्छ । त्यसकारण बन्दुकको आवश्यकता पर्दैन ।’ तर यथार्थ के हो भने तिनै प्रजातन्त्रवादीहरूले सबैभन्दा बढी बन्दुकको प्रयोग गर्छन् । विगतमा प्रजातन्त्रको जननी मानिएको बेलायतले बन्दुककै बलमा विश्वभरि आफ्नो साम्राज्य विस्तार गरेको थियो । अहिले आफूलाई प्रजातन्त्रको मसिहा मान्ने अमेरिका बन्दुककै बलमा महाशक्ति बनेको छ । के बन्दुकबिना बेलायतले आफ्नो साम्राज्यलाई ‘कहिल्यै घाम नअस्ताउने’ बनाउन सक्थ्यो होला ? के बन्दुकबिना अमेरिका प्रजातन्त्रको ‘मसिहा’ बन्नसक्छ होला ? यी प्रश्नहरूको उत्तर तिनै बन्दुकविरोधी विद्वान् हरूले दिऊन् जो दिनरात प्रजातन्त्रको महिमागान गरिरहन्छन् । उनीहरूले आफ्नो बन्दुकविरोधी पाठ बेलायत र अमेरिकालाई पढाऊन् जुन उनीहरू दिनरात उत्पीडित वर्गलाई पढाइरहन्छन् ।

वास्तवमा बन्दुकको विरोध गर्नु भनेको प्रजातन्त्रका नाममा बन्दुकको शासन गर्ने शासकहरूको पक्षपोषण गर्नु हो । त्यसकारण क्रान्तिकारीहरू तथाकथित विद्वान्हरूका यस्ता भ्रममा पर्नु हुँदैन ।

चिनियाँ कथामा भनिएजस्तै डबल नेकपा बढ्दैन, यो त निरन्तर घट्दै जान्छ । यसको अधोगतिको प्रमाण खोज्न अन्त कतै जानु पर्दैन, वर्तमान सरकारको दुईबर्से कार्यकाल हेरे पुगिहाल्छ । नाम छ दुई–तिहाइ बहुमतको कम्युनिस्ट सरकार तर काम छ अरूको बैसाखीमा उभिएको सरकारको जस्तो । दमित, उत्पीडित र निमुखा जनताका पक्षमा आजसम्म एउटा पनि उदाहरणीय काम गरेको देखिएको छैन । यसको पराक्रमको परिमाण पनि दिनानुदिन बढिरहेको छ– सुनकाण्ड, जग्गाकाण्ड, यौनकाण्ड, …, इत्यादि । यी काण्डहरूले डबल नेकपाको आकार दिनानुदिन घटिरहेको छ ।

त्यसैगरी यसको विघटनलाई तीव्र बनाउनका लागि क्रान्तिकारीहरूले दृढतापूर्वक प्रयत्न गर्नुपर्छ । यसको वास्तविकतालाई एकपछि अर्को उजागर गर्नु, यसको जनविरोधी गतिविधिलाई दृढतार्पूवक प्रतिवाद गर्नु, यसको प्रभुभक्तिलाई पर्दाफास गर्नु र निसहाय जनतालाई यसका विरुद्ध सङ्घर्षमा मार्गदर्शन गर्नु– अहिले क्रान्तिकारीहरूको कार्यभार यही हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347