सरकारले किन सुनुवाइ गर्दैन जनताका कुरा

सांसदहरूले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद मीनबहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसार आक्रान्त भइरहेका बेला बारम्बार कुरा उठाउँदा पनि सुनुवाइ नभएको गुनासो गरे ।
उनले चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याई सुरक्षित बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले भने, “नेपाली नागरिक चीनमा अत्यन्तै अत्तालिएर बसेको बेलामा बारम्बार सदन, सडक र विभिन्न सञ्चारमाध्यमबाट आफ्नो अभिव्यक्तिमार्फत तत्काल उनीहरूलाई नेपाल ल्याउने र सुरक्षित बनाउने कुराको आवाज अभिभावकहरूले उठाइरहेका छन् । सरकारको जवाफमा हामीसँग दुईवटा विमान छ भनेको सञ्चारमा सुन्यौं । पाइलटहरूलाई सोध्दा दुईवटा मात्रै होइन सबै प्लेन ग्राउन्डेड छ भनेको पनि जवाफ पाइयो । सरकारले प्लेन ग्राउन्डेड छ भनेको हो कि उड्नका लागि स्ट्यान्डवाई छ भनेको हो स्पष्ट पार्नुपर्यो ।”
यस्तै सांसद विमला विकले तात्कालीक सरकारले २०७१ को बाढी प्रभावित बर्दिया, बाँकेलगायत प्रभावितलाई भूकम्प प्रभावितसरह राहत उपलब्ध गराउने भने पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरिन् ।
सांसद भवानीप्रसाद खापुङले मुलुकभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
बालशिक्षामा कार्यरत शिक्षकले मासिक तलब ६ हजार र विद्यालयका कर्मचारीले मासिक ६ हजार ५ सयदेखि ७ हजार ५ सय रहेको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक १३ हजार ५ सय उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे ।
भूमिप्रसाद त्रिपाठीले नागढुंगा सुरुङ मार्ग निर्माणले प्रारम्भमै अवरोधको सामना गर्नुपरेको उल्लेख गर्दै धादिङतर्फको सुरुङ मार्गको मुखैमा देखिएको जग्गा मुआब्जाको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।
भैरवबहादुर सिंहले बझाङको खोड्पे बजार जयपृथ्वी राजमार्गको अवस्था नाजुक भएकाले यात्राको समयमा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै सो राजमार्गको स्तरोन्नति गर्न सरकारसँग माग गरे ।