नेकपा महासचिब बिष्णु पौडेलका छोरा नवीन पौडेलले अख्तियारमा बयान दिए: मैले बालुवाटारमा आनाको ५० हजारका दरले आठ आना जग्गा खरिद गरेको हुँ

अख्तियारलाई बयान दिँदै उनले भनेका छन्, ‘हाल म अस्ट्रेलियाको राजधानी क्यानबेरामा बस्छु । मेरो नाममा बालुवाटारमा कुल आठ आना जग्गा छ । सो जग्गा मैले २९ पुस ०६१ मा तत्कालीन उमाकुमारी ढकाल्नी र माधवी सुवेदीबाट खरिद गरेको हुँ । प्रचलित कानुनबमोजिम जग्गा बिक्री गर्ने जग्गाधनी व्यक्तिका नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता स्रेस्ता कायम रहेको, कहीँकतैबाट रोक्का नभएको र सम्बन्धित मालपोत कार्यालयले खरिद/बिक्री गर्न मिल्ने भनी यकिन गरेपछि मैले सो किनेको हुँ ।प्रचलित कानुनबमोजिम रजिस्ट्रेसन लिखत पारित गरी लाग्ने राजस्व बुझाई चार लाख रुपैयाँमा खरिद गरेको हुँ । उक्त जग्गा सार्वजनिक सरकारी प्रकृतिको हो भन्ने कुरा अनुसन्धानका क्रममा मलाई जानकारी भएकाले सरकारी सार्वजनिक जग्गा भए त्यस्तो जग्गा पुनः नेपाल सरकारका नाममा कायम गर्नुपर्छ ।’