Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सभामुख नान्सी पेलोसीबीचको कलह सदनमै छाताछुल्ल सभामुख पेलोसीले ट्रम्पले गरेको सम्बोधनको कपी धुजाधुजा पारीदिईन


वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हाउस अफ् रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीबीचको कलह फेरि एक पटक सतहमा आएको छ ।

अमेरिकी सभामुख पेलोसी राष्ट्रपति ट्रम्पको भाषणको प्रति च्यात्दै तस्बिर : रोयटर्समंगलबार संसद्‍मा राष्ट्रपति ट्रम्पले ‘स्टेट अफ् युनियन स्पीच’दिएका थिए। ट्रम्पले सम्बोधन सकेर फर्कने क्रममा सभामुखले हात अघि बढाइन्। तर ट्रम्पले हात मिलाउन चाहेनन्। ट्रम्पको सम्बोधनमा समर्थन जनाउँदै रिपब्लिकन सांसद्हरुले ताली बजाइरहेका थिए। सभामुख पेलोसीले ट्रम्पको सम्बोधनको कपी धुजाधुजा पारेर च्यातिदिइन्।

त्यसो त सभामुख पेलोसीले आफ्नो स्वागत भाषणमा राष्ट्रपति ट्रम्पका लागि ‘डिस्टिंक्ट अनर’ शब्द प्रयोग गरिनन्। चार महिना पहिले ह्वाइट हाउसमा भएको टकरावपछि सभामुख पेलोसी र राष्ट्रपति टम्प आमनेसामने भएका हुन्। ट्रम्पको सम्बोधनको प्रति च्यातेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभामुख पेलोसीले ‘विकल्पलाई मध्यनजर गर्दा यो विनम्र प्रतिक्रिया’ भएको जवाफ दिइन्।

झन्डै ८० मिनेट लामो आफ्नो सम्बोधनमा राष्ट्रपति ट्रम्पले आफूविरुद्धको महाभियोग प्रक्रियाबारे भने केही बोलेनन्। बरु उनले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाहीदेखि मेक्सिकोको सीमामा पर्खाल लगाएको चर्चासम्म गर्न भ्याएका थिए।

राष्ट्रपति ट्रम्पले आगामी चुनावलाई मध्यनजर गर्दै ‘ग्रेट अमेरिकन कमब्याक’ को चर्चा पनि गर्न भ्याए। ट्रम्पले आफ्नो कार्यकालको उपलब्धिको फेहरिस्त सुनाइँरहँदा रिपब्लिकन सांसद्हरुले ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए। तर केही डेमोक्र्याटिक सांसद्हरु भने ट्रम्पले भाषण गरिरहँदा सदनबाट निस्केका थिए। डेमोक्र्याट सांसद् जिम म्याकगोभर्नले ट्रम्पको भाषण चुनावी र्यालीजस्तै भएको प्रतिक्रिया दिए। ‘उनले राष्ट्रपतिको जस्तो व्यवहार नै देखाउँदैनन्, उनी सम्मानका हकदार नै छैनन्,’ म्याकगोभर्नले भने।

राष्ट्रपति ट्रम्प ‘दक्षिणपन्थी नायक’ बन्न खोजेको पनि विपक्षी सांसद्ले आरोप लगाएका छन्। अमेरिकी सञ्चारमाध्यम सीएनएनले राष्ट्रपति ट्रम्पको भाषण आधुनिक युगकै सबैभन्दा ध्रुविकृत भाषण भएको बताएको छ।

ट्रम्पका झुट

सदनमा भाषणका क्रममा राष्ट्रपति ट्रम्पले धेरै गलत तथ्यांक प्रस्तुत गरेको सीएनएनले जनाएको छ। ट्रम्पले आफ्नो कार्यकालमा ग्याँस र तेल उत्पादनमा पहिलो पटक विश्वकै नम्बर एक देश बनेको दाबी गरे। तर अमेरिकी सरकारकै इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनका अनुसार सन् २०१२ मा बाराक ओबामाको कार्यकालमै तेल र ग्याँस उत्पादनमा अमेरिका शीर्ष स्थानमा पुगेको थियो।

त्यस्तै ट्रम्पले आफ्नै कार्यकालमा फरक क्षमता भएका अमेरिकीहरुको बेरोजगारी दर सबैभन्दा कम भएको पनि गलत तथ्यांक पेस गरेका थिए। त्यस्तै उनले मेक्सिकोको सीमामा पर्खाल बनाएको पर्खालका बारेमा पनि तोडमरोड गरेर तथ्यांक पेस गरेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्