प्रधानमन्त्री निवासमा आईतबारको खानपिन साँझ पछी मंगलबार भयो भब्य सारंगी साँझ

काठमाडौँ — गत आइतबार नेकपाका केन्द्रीय सदस्य र सांसदलाई ‘डिनर’ को आयोजना गरेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने ‘सारंगी साँझ’को आयोजना गरेका छन् ।
कलाकारहरुले ११ वटा धुन सुनाएका थिए। सांगितिक धुन सकिए लगत्तै खाना खाएर सबै फर्किएको एक मन्त्रीले बताए।
उक्त सारंगी साँझमा प्रधानमन्त्री ओलीले बाँसुरी र वरिष्ठ नेताद्वय खनाल र नेपालले सारंगी समातेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सो तस्बिरको वास्तविकता के हो त भनेर हामीले कार्यक्रममा सहभागी एक मन्त्रीलाई सोधेका थियौं। ‘प्रधानमन्त्रीको घरमा पनि सारंगी र बाँसुरी छ रे। उहाँलेबाँसुरी बजाइदिनु हुन्छ कि भनेर उद्घोषकले आग्रह गरे। प्रधानमन्त्रीले हुन्छ भन्नुभयो अनि मञ्चमा जानु भयो। मलाई अरुले पनि साथ दिनुहुन्छ कि भनेर झलनाथ खनाल र माधव नेपाललाई आग्रह गरेपछि उहाँहरुले पनि बजाए जस्तो गरेर तस्बिर लिइएको हो,’ ती मन्त्रीले भने।
कार्यक्रममा नेकपाका उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा,महासचिव विष्णु पौडेल,मन्त्रीहरु र अन्य केही व्यक्तिहरु सहभागीथिए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको पोखरामा पूर्वनिर्धारित कार्यक्रम भएकाले उनी सारंगी साँझमा भने सहभागी भएनन्।