Logo

नेकपा केन्द्रीय समिति बैठक: नेताहरुको सम्पत्ति छानबिनदेखी ब्यानरबाट ओली–दाहालको फोटो तुरुन्त हटाउन माग


माघ १५, २०७६

 

काठमाडौँ — बुधबारदेखि सुरु भएको नेकपाको केन्द्रीय समितिको बैठकको मूल ब्यानरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको फोटो हटाउन सदस्यहरुले माग गरेका छन् ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र राजेन्द्र राईले ब्यानर साइडमा राखिएको अध्यक्षद्वयको फोटो हटाउन माग गरे। केहीदिन अघि नेकपाले जारी गरेको आचारसंहिताको प्रसंग उठाउँदै सदस्यहरुले बैठककोबीचमै मूल ब्यानर साइडमा राखिएको ओली–दाहालको फोटो हटाउन माग गरेका हुन्।

‘दुई अध्यक्षको फोटो राख्ने निर्णय कुन बैठकले गरेको हो। बैठकको निर्णय हो भने माइन्यूट होला, पढेर सुनाउनु पर्यो। होइन भने फोटो तुरुन्त हटाउन पर्यो,’ बैठकमा खतिवडाले भनेका थिए। यस्तै राईले पनि दुई अध्यक्षको फोटो ब्यानरमा किन राखियो भन्ने प्रश्न गर्दै तत्काल हटाउन माग गरे।

बैठकमा सहभागी एक नेताका अनुसार अधिकासं केन्द्रीय सदस्यले एमसीसी, बालुवाटार जग्गा प्रकरण,यति होल्डिङ्स लगायतका विषयलाई एजेण्डा बनाउनुपर्ने भन्दै होहल्ला भएपछि अध्यक्ष दाहाल रिसाउँदै सबैलाई मत्थर पारेका थिए।

बैठकमा महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन नाम मात्रैको भएको भन्दै केही सदस्यहरुले त्यसको पनि

विरोध गरेका थिए। राजनीतिक प्रतिवेदनमा समेटिएका विषयहरु संगठनात्मक प्रतिवेदनमा आएको भन्दै ठोस कार्ययोजनासहितको आउनुपर्ने माग गरे।

बैठकमा सहभागी ती सदस्यका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्यमा पार्टीभन्दा सरकारको कुरा बढी गरेको भन्दै उनको आलोचना गरे। प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्नेलाई जवाफ दिँदै कामको सूची बैठकमा पेस गरेका थिए।

यस्तै, बैठकमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कम्युनिष्ट नेता कार्यकर्ताको सम्पति छानबिन गर्न आयोग बनाउनुपर्ने माग राखे। ‘कसैको अकूत सम्पत्ति, कोही सर्वहारा हुनुपर्ने यो के हो?’ न्यौपानेले प्रश्न गरेका थिए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्