Logo

सभामुखमा अग्‍नि सापकोटा सर्वसम्मतरुपमा निर्वाचित


माघ १२-२०७६ 

 काठमाडौं : प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएका छन्।

आइतबारको बैठकमा सभामुखको हैसियतमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरे।

बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा  सिङ्गो संसद्लाई विश्वासमा लिएर काम गर्ने विश्वास व्यक्त गरे।

प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए। सभामुख निर्वाचित भएपछि उनलाई सत्तापक्ष र विपक्षी दलका सांसदले बधाई तथा शुभकामना दिएका छन्।

माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आइतबारका लागि सभामुख निर्वाचनको मिति निर्धारण गरेको थियो। सोही दिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन्।

निवर्तमान सभामुख कृष्णबहादुर महराले महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १ गते राजीनामा दिएका थिए । उनी अहिले जेलमा छन्। 

को हुन सापोकटा ?

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट सापकोटाको २०१४ साल फागुन २४ गते जन्म भएको हो। साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी सापकोटा ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्।

२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुई वर्ष जेल जीवन बिताएका थिए । २०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा सापकोटा पराजित भएका थिए।

२०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका उनी माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत थिए। समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए। साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन समेत गरे । सापकोटाले शिक्षण पेशा छोडेर राजनीति गरेका हुन्।

२०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए। सापकोटा २ पटक मन्त्री भइसकेका नेता हुन्। सूचना तथा सञ्‍चार र वन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी अहिले नेकपा स्थायी समिति सदस्य हुन्।

सापकोटाको व्यक्तिगत विवरण

जन्म मिति/स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे गाउँ

आमाको नामः तिलमाया सापकोटा

बुबाको नामः धनपति सापकोटा

स्थायी ठेगानाः चौतारा साँगाचोकगढी न.पा वडा नं ४, सिन्धुपाल्चोक

शैक्षिक योग्यता: स्नातक, त्रिभुवन विश्वविद्यालय

पारिवारिक स्थितिः श्रीमती, तीन छोरा

पेशा र अनुभवः

१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)

पार्टी सदस्यता मिति र पार्टीको नामः

वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)

पार्टी जिम्मेवारीः

स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

राजकीय जिम्मेवारीः

वि.सं. २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार । संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील ।

वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री

वि.सं. २०७० – सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विजयी एकमात्र सांसद ।

वि.सं. २०७३ –नेपाल सरकारको वन तथा भू-संरक्षण मन्त्री

वि.सं. २०७४ – प्रतिनिधिसभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी (ह्याट्रिक)

संक्षिप्त राजनीतिक जीवन

वि.सं. २०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व

वि.सं. २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन)

वि.सं. २०३७ – शिक्षक संर्घष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष

वि.सं. २०४८ – मा शिक्षकबाट राजीनामा दिइ पूर्णकालीन राजनीतिमा सक्रिय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य

वि.सं. २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत

वि.सं. २०५२ – फागुनवाट सुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रीय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्व्युरो सदस्यमा निर्वाचित

वि.सं. २०५८ – पार्टीवाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी

वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते

वि.सं. २०६२/२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाई जनआन्दोलनमा परिचालनको नेतृत्व

वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनबाट पोलिट्व्युरो सदस्य

वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता

वि.सं. २०७१ – मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य

वि.सं. २०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य

वि.सं. २०७५ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्