भैंसेपाटी भेलाले ओलि र खनाललाई बालुवाटारमा चार घण्टा संङ्गै बसायो केके कुरा भयो त ?

‘हामीबीच करिब पौने चार घन्टा दु:ख–सुखका धेरै अनौपचारिक कुराकानी भयो,’ ओलीसँगको छलफलबारे खनालले भने, ‘जीवन, जगत्, वर्तमान र भविष्यका चुनौती र सम्भावनाका बारेमा छलफल गर्यौँ ।’
सभामुख चयन प्रकरणमा पूर्वएमाले समूहका वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका नेता अग्नि सापकोटालाई साथ दिएपछि अध्यक्ष ओलीले असहज महसुस गरेका थिए । सचिवालयमै अल्पमतमा पर्ने सम्भावना देखिएपछि ओली सापकोटाको नाममा निर्णयका लागि तयार भएको चर्चा नसेलाएकै अवस्थामा खनालसँगको लामो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यद्यपि, उनले सभामुख चयन प्रकरणलगायत विषयमा कुनै पनि चर्चा नभएको बताए पनि पार्टी सञ्चालन र सरकारको कामलाई अझ प्रभावकारी बनाउने विषयमा भने छलफल भएको स्वीकार गरे । ‘पार्टी र सरकारलाई राम्ररी सञ्चालन गर्नुपर्छ नत्र भोलिका दिनमा अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने कुराकानी भयो,’ उनले भने ।
ओली–खनालबीच लामो समयदेखि विश्वासिलो सम्बन्ध छैन । पार्टी एकतासँगै आफूलाई वरिष्ठ नेताको वरीयतामा तल पारिएको भन्दै खनाल ओलीसँग असन्तुष्ट थिए । तर, गत ३ भदौको सचिवालय बैठकले उनकै मागअनुसार वरीयता सच्याइएपछि भने ढिलै भए पनि पार्टीले न्यायोचित निर्णय गरेको खनालले प्रतिक्रिया दिएका थिए ।
ओलीले पार्टी सञ्चालनबारे अर्का अध्यक्ष प्रचण्डसँग नियमितजस्तै संवाद गर्दै आएका छन् । पार्टी सञ्चालनलगायत विषयमा प्रचण्डपछि ओलीले खनाललाई भन्दा नेपालसँगको संवादलाई प्राथमिकता दिने गरेका छन् । तर, गत ५ भदौमा ओली–नेपाल सम्बन्ध तिक्ततामा परिणत भएपछि उनीहरूबीचको सम्बन्ध व्यक्तिगत रूपमा अझै सुमधुर भइसकेको छैन । यद्यपि, ओली–नेपालले गत २९ कात्तिकमा करिब ४ घन्टा लामो छलफल गरेर तिक्तता सम्बन्धको समीक्षा गर्दै सुमधुर बनाउने प्रयास गरेका थिए ।