Logo

महिलाको शवमा समेत विभेद छाउगोठमा ज्यान गए नियमित हिँड्ने बाटो समेत छलेर दाहसंस्कारका लागि घाट लागिन्छ


 माघ १-२०७६

छाउगोठमै ज्यान गए घरको आँगनमा शव ल्याउँदैनन्, दाहासंस्कार गर्न घाटमा लैजाँदा नियमित हिँड्ने मूलबाटो प्रयोग गर्दैनन्

महिनावारी हुँदा घरभित्र छिर्न नदिने समाजले छाउगोठमा ज्यान गुमाउने महिलाको शवमा समेत विभेद गर्ने गरेको छ । छाउगोठमा मृत्यु भएकाको शव आँगनमा राख्न नदिने मात्रै होइन, दाहसंस्कारका लागि घाट लैजाँदासमेत नियमित हिँड्ने बाटो प्रयोग गरिँदैन । अन्तिम संस्कारमा पुजारी र धामीझाँक्रीसमेत जाँदैनन् ।

अछामको साँफेबगर नगरपालिका–३ डिग्रेनीकी पार्वती बुढा राउतको मृत्युमा यस्तै विभेद भयो । १६ मंसिरमा छाउगोठमा निसास्सिएर ज्यान गुमाएकी उनको शव छाउगोठबाट निकालेर घरको आँगनमा लगिएन । लगियो । मलामीहरू सधैँ हिँड्ने मूलबाटो हुँदै घाटतिर लागे पनि शव बोक्नेले खेतको आलीको वैकल्पिक बाटो प्रयोग गरेका थिए । ‘पार्वतीको मृत्युपछि शव घर ल्याइएन, छाउगोठछेउमै राखिएको थियो,’ अधिकारकर्मी पशुपति कुँवरले भनिन्, ‘टाढैबाट शव हेरेर दुःख व्यक्त गर्ने धेरै भए, तर शव छोएर अन्तिमपटक अनुहार हेर्ने भने परिवारका सदस्य र नजिकका आफन्त मात्रै थिए ।

तीन वर्षअघि छाउगोठमै ज्यान गुमाएका बान्नीगढी–जयगढ गाउँपालिका–४ तिमिल्सैन गाउँकी डम्बरा उपाध्याय र वडा नम्बर १ गाज्राकी रोशनी तिरुवाको अन्तिम संस्कार पनि प्रचलितभन्दा फरक गरिएको थियो । यहाँ कसैको मृत्युमा सम्बन्धित व्यक्तिको घरको आँगनमा लगेर मात्रै घाटतिर लगिन्छ । सामाजिक मान्यताकै कारण छोरीको शव आँगनमा नल्याई छाउगोठबाट सीधै दाहसंस्कारका लागि लगेको रोशनीका बुबा भरत तिरुवाले नयाँ पत्रिकासँग भने । ‘सामाजिक संस्कार नै यस्तै छ, अब विगत कोट्याएर काम छैन,’ उनले भने ।

डम्बराका ससुरा छविलालले पनि बुहारीको काजकिरिया डराइ–डराई गरेको अनुभव सुनाए । तर, त्यो भ्रम मात्रै रहेको अहिले उनलाई लागिरहेको छ । ‘मृत छाउपडीको किरिया बस्दा आफूलाई पनि केही हुन्छ कि भनेर मनमा डर लागिरहन्थ्यो,’ उनले भने, ‘१३ दिनसम्म त राम्रोसँग निद्रा लागेन । तर, त्यो सबै भ्रम मात्र रहेछ । मलाई अहिलेसम्म केही भएको छैन । म ठिकै छु ।’

छाउगोठमा ज्यान गुमाएका महिलाको शवमा समेत विभेद गर्ने चलन पितृसत्तात्मक सोच भएको छाउपडी प्रथा अन्त्य गर्ने अभियानमा संलग्न अधिकारकर्मी कुँवर बताउँछिन् ।

अछाममा ११ वर्षयता छाउगोठमै निसास्सिएर तथा प्राकृतिक प्रकोपलगायत कारण १४ महिलाले ज्यान गुमाएका छन् । तर, परिवारको सदस्य गुमाएकै घर र गाउँका महिला सामाजिक कुसंस्कारका कारण अहिले पनि छाउगोठमै बस्न बाध्य छन् ।

डम्बरा उपाध्यायको मृत्युपछि परिवारले छाउगोठ तत्काल भत्कायो, तर सधैँका लागि थिएन । तीन महिना नपुग्दै नयाँ छाउगोठ बनाइयो, जहाँ उपाध्याय परिवारका महिला अहिले महिनावारी हुँदा बस्छन् । आँगनमुनिबाट छाउगोठ घरको पालीमा सारिएको छ । नयाँ छाउगोठमा सानो झ्याल पनि राखिएको छ । तर, उपाध्याय परिवारका महिला छाउगोठ बस्दा डम्बराको ज्यान गएको घटना सम्झेर अत्यासिन्छन् ।‘डम्बराको मृत्युपछि आँगनमुनिको छाउगोठ भत्काएर घरको पालीमा नयाँ बनाइदिएका छन् । सानो झ्याल पनि छ । तर, डम्बराझैँ निसास्सिएर मरिएला भन्ने डरले अर्को साथी पनि सँगै लिएर सुत्ने गरेका छौँ,’ डम्बराकी जेठानी निर्मलादेवीले नयाँ पत्रिकासँग भनिन् ।

निर्मलादेवीका श्रीमान् तीर्थराज तिमिल्सिना गाउँ–समाजको डरले पुनः छाउगोठ बनाउनुपरेको बताउँछन् । ‘गाउँमा बसेपछि गाउँकै रीतिरिवाज मान्नुपर्छ । महिनावारी भएका वेला घरभित्र छोइछिटो गर्दा कुलदेउवा रिसाउने मान्यता छ । के गर्ने घरकै सदस्यले छाउगोठमा ज्यान गुमाउँदासमेत फेरि अर्को छाउगोठ बनाउनु बाध्यता हो । सबैले मान्दै आएको पुरानो संस्कार कसरी त्याग्नु ?’ उनले भने । निर्मलादेवी पनि सरकारले गाउँका सबैको छाउगोठ भत्काए आफूहरू पनि महिनावारी हुँदा घरभित्रै बस्न तयार रहेको बताउँछिन् ।
डम्बराले अकालमा ज्यान गुमाएको खबर गाउँभर फैलियो । तर, त्यो निर्मम घटनाले पनि गाउँ–समाजको आँखा खुलेन । तिमिल्सैन गाउँका सबै घरमा छाउगोठ छन् । अहिले जिल्लाभर छाउगोठ भत्काइँदै गर्दा यो गाउँमा भने अहिलेसम्म अभियान पुगेको छैन ।

तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानकी गौरी बुढा र तुर्माखाँद–४ जुयकी पार्वती बुढाको पनि छाउगोठमै ज्यान गयो । गौरीको २४ पुस ०७४ मा निसास्सिएरै मृत्यु भएको थियो भने पार्वतीलाई २८ जेठ ०७५ मा सर्पले टोकेको थियो । तर, उनीहरूको परिवारका महिला पनि महिनावारी हुँदा न घरभित्र बस्न सके, न छाउगोठ भत्काउनै सके ।अहिले भने स्थानीय सरकारले जुयमा छाउगोठ भत्काएको गाउँपालिका उपाध्यक्ष अमृता बुढाले बताइन् । ‘अहिले गाउँका सबै छाउगोठ भत्काएका छौँ । अब पनि कसैले फेरि बनाएर बसेको पाइए पक्राउ गरेर कारबाही गर्छौँ,’ उपाध्यक्ष बुढाले भनिन् । छाउ बस्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था भएपछि छाउपडी प्रथा हटाउन सकारात्मक पहल भएको उनको भनाइ छ ।

पुस्तौँदेखि चल्दै आएको मान्यता तोडिन समय लाग्ने मंगलसैन नगरपालिकाकी उपमेयर सरिता उपाध्याय बताउँछिन् । कानुनी कारबाहीको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सके मात्र छाउपडी प्रथा अन्त्य हुने उनको बुझाइ छ । ‘सचेत महिला नै छाउगोठमा बस्ने गरेकाले अशिक्षा र अज्ञानताका कारण छाउपडी प्रथा हट्न नसकेको भन्नु गलत हो,’ उनले भनिन् ।

अछाममा छाउपडी अन्त्यका लागि सचेतनामूलक कार्यक्रम दुई दशकदेखि भइरहेका छन् । तर, सरकारी तथा गैरसरकारी संघसंस्थाका कार्यक्रमले खासै उपलब्धि दिएका छैनन् । उपमेयर उपाध्याय छाउपडी धेरैका लागि कमाइ खाने विषय भएको गुनासो गर्छिन् । ‘अब छाउगोठमा बस्ने महिलालाई मात्रै होइन, घरमुलीलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्छ,’ उनले भनिन् ।

९ पुसदेखि अभियान सुरु भएयता अछाममा एक हजार नौ सय ४५ छाउगोठ भत्काइएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान चलिरहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । छाउगोठ भत्काउन जनप्रतिनिधिको नेतृत्वमा गाउँगाउँमा प्रहरी टोलीहरू परिचालित छन् । अछामलाई १५ फागुनमा छाउगोठमुक्त जिल्ला घोषणा गर्ने गरी अभियान चलिरहेको उनले बताए ।

 निर्मलादेवी उपाध्याय भन्छिन्– तीन वर्षअघि छाउगोठमा निसास्सिएर देउरानीको ज्यान गयो, महिनावारी हुँदा त्यही घटना सम्झेर डर लाग्छ
तीन वर्षअघि देउरानी डम्बराको छाउगोठमा निसास्सिएर मृत्यु भयो । उसको मृत्युपछि परिवारले आँगनमुनिको छाउगोठ भत्काए । हामी महिनावारी हुँदा तीन महिनाजति घरभित्रै बस्यौँ । पछि घरको पालीमा नयाँ छाउगोठ बनाइदिए, सानो झ्याल पनि राखेर । तर, छाउगोठमा सुत्दा डम्बराझैँ निसास्सिएर मरिएला भन्ने डरले सताउँछ । डरकै कारण अर्को साथी पनि लिएर सुत्ने गरेका छौँ ।

मंगलसैन नगरपालिकाकी उपमेयर सरिता उपाध्याय भन्छिन्– छाउपडी हटाउने भनेको दुई दशक भयो, तर धेरैका लागि कमाइखाने विषय बन्यो
अछाममा छाउपडी अन्त्यका लागि भन्दै दुई दशकदेखि सरकारी तथा गैरसरकारी संघसंस्थाले कार्यक्रम चलाईरहेका छन् । तर, छाउपडी धेरैका लागि कमाइखाने विषय भएको छ । अशिक्षा र अज्ञानताका कारण छाउपडी प्रथा हट्न नसकेको भन्नु गलत हो । यहाँ सचेत महिला नै छाउगोठमा बस्छन् । अब छाउगोठमा बस्ने महिलालाई मात्रै होइन, घरमुलीलाई पनि पक्रेर कारबाही गर्नुपर्छ ।

copy naya patrika

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्