Logo

माघीको उल्लास थारु बस्तीमा


169 Views

  पुष २८-२०७६

धनगढी : अहिले पश्चिम नेपालका थारू समुदायमा माघीको उल्लास छाएको छ । कैलाली, कञ्चनपुर लगायतका थारु बस्तीमा माघीको रमझम सुरु भएको हो । माघ सुरु नहुँदै थारु समुदाय पुषलाई बिदाइ गर्न सर–सामान जोहो सुरु गर्न व्यस्त देखिन्छन् ।

उनीहरू अहिले घर लिपपोत गर्न, जाँड, ढिक्री, रोटी लगायतका परिकार बनाउन व्यस्त छन् । थारु समुदायले माघीलाई विशेष पर्वको रूपमा लिने गर्दछन् ।

माघी अर्थात संक्रान्तिको दिनमा थारु समुदायमा महत्वपूर्ण निर्णय गरिन्छ । हप्ता दिनसम्म मनाइने माघी पर्व अन्तरगत थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउने गर्छन् । नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमा समेत लिने गरेको धनगढीका स्थानीय फुलराम थारुले बताए । ‘माघे संक्रान्ति आउनुभन्दा २ दिन अगाडिदेखि नै थारु समुदायमा माघी पर्वले छोइसकेको हुन्छ’ उनले भने ।

माघ १ गते अर्थात माघीको दिन उज्यालो नहुँदै बिहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको थारु पत्रकार अभिनास चौधरीको भनाइ छ । माघीमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रही आएको उनले बताए । ‘अरु बेला सित्तैमा नुहाउने गर्दछौं । तर, माघीमा पानी किनेर मात्रै नुहाउनुपर्छ भन्ने मान्यता छ ।’

माघी नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै, ‘सेवाढोग’गर्दछन् । नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ । त्यसपछि घरको सबैभन्दा पूर्खालाई सबैभन्दा पहिले ढोग गर्दै आशिष थापिन्छ । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ भनिन्छ । सेवाढोगको कार्य परिवार हुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ ।

पुसको अन्तिम दिन घर-घरमा सुँगुर काट्ने चलन थारु समुदायमा छ जसलाई ‘जिता-मरना’ भनिने गरेको थारु अगुवा माधव चौधरीले बताए । ‘यो दिन जिता मारेर हरेक घरमा मासु परिकार खाने खानपानको दिन हो’, उनले भने । माघ १ गते आपसी वैमनस्यतालाई त्यागेर खुशीयाली साटासाट गर्ने गरेकाले यसलाई थारु समुदायमा मेलमिलापको दिनको रुपमा पनि हेरिएको छ । परिवार र छरछिमेकमा जस्तोसुकै वैमस्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ । यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने गरेको अधिवक्ता जोहारीलाल चौधरीको भनाइ छ ।

‘ढोगभेट, सेवा सलाम लाग्दा सम्बन्धमा सुधार हुन्छ’, उनले भने, ‘कसै-कसैबीच मनमुटाव छ भने हृदयदेखि नै त्यसलाई महसुस गरेर हटाउने गरिन्छ ।’ माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रही आएको छ ।

माघ २ गतेलाई पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ । यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ । यहि दिनबाट एक वर्षको लागि परिवारको घरमुली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अंशवन्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ । यसकासाथै, गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरुवा चयन गरिन्छ । यिनीहरुको कार्यअवधि एक वर्षको रहने गर्दछ ।

अचेल थारु समुदायको माघी पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आए पनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको छ । माघीमा आफ्नो चेलीबेटीलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ ।
माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर ‘निसराउ’ स्वरूप चेलीबेटीलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किने बेलामा ‘निसराउ’ लिएर जान्छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347