वैदेशिक रोजगारी विस्थापित गर्नुपर्छ : मन्त्री पद्मा अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय सहकारी महासंघको २७औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । एक घर एक सहकारी सदस्य अनिवार्य अभियान चलाएर वैदेशिक रोजगारीलाई विस्थापित गर्ने गरी अघि बढ्नुपर्ने उनले बताइन् । मन्त्री अर्यालले एउटा सहकारी र एउटा रोजगारी पनि अनिवार्य गर्नुपर्ने बताइन् ।
उनले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि एउटा बलियो खम्बा सहकारी भएको बताइन् । राज्यले सहकारीलाई अर्थतन्त्र निर्माणको खम्बा मानेको र व्यवहारले पनि त्यो पुष्टि भएको उनको भनाइ छ । अब आउने नेतृत्वलाई सहकारीको माध्यमबाट कति योगदान पु¥याउने भन्ने चुनौती थपिएको मन्त्री अर्यालले बताइन् ।
समृद्धिको आधार क्षेत्र सहकारी भएकाले कार्यक्षेत्र परिवर्तन गर्नुपर्ने उनको धारणा छ । महिला उद्यमशीलता, किसानको व्यावसायिकता, युवा उद्यमशीलताका क्षेत्रमा केही न केही काम सुरु गरी प्रयोगात्मक बन्न पनि मन्त्री अर्यालले सहकारीहरूलाई आग्रह गरिन् । हिजोको दिनमा विस्थापित घरेलु उद्योगहरूको पुनःस्थापना गर्नुपर्ने उनको धारणा थियो ।
मन्त्री अर्यालले सहकारीहरूको संख्या बढाउनुभन्दा आफ्नो कार्यक्षेत्र विस्तार गर्न आग्रह गरिन् । निष्क्रिय रहेको संस्था, लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरूलाई बन्द गर्ने चेतावनी मन्त्री अर्यालले दिइन् ।