Logo

राष्ट्रपति ट्रम्पले इरानी सैन्य कमाण्डर सुलेमानी मार्नुको कारण खुलाए


वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जनतालाई सम्बोधन गर्दै इरानसँग अहिले देखिएको समस्याको शान्तिपूर्ण समाधानका लागि आफू तयार रहेको बताएका छन् । तर, इरानलाई आणविक हतियार विकास गर्न कुनै पनि हालतमा नदिने बताएका छन् । उनले भने, “म राष्ट्रपति भएसम्म इरानलाई कुनै पनि हालतमा पनि आणविक हतियार राख्‍ने अनुमति दिइने छैन ।”

इरानका सैनिक जनरल कासिम सुलेमानीलाई ड्रोन प्रयोग गरेर अमेरिकाले हत्या गरेको भोलिपल्ट इराकमा रहेको अमेरिकी सैनिक अड्डामा बुधबार १७ वटा ब्यालेस्टिक मिसाइलद्वारा इरानले आक्रमण गरेको थियो । यदि अमेरिकाले प्रत्याक्रमण गरेमा इरानले अमेरिकाका थप सैनिक अड्डामा आक्रमण गर्ने जनाएको छ ।

इरानले गरेको आक्रमणमा अमेरिकाका कुनैपनि सैनिकको हताहत नभएको र आफूले चाहेको खण्डमा इरानलाई समाप्त गर्ने क्षमता भएको बताउँदै अमेरिकी राष्ट्रपतिले आफूले सो गर्न नचाहेको र अहिलेको समस्या समाप्त गर्न चाहेको बताएका छन् ।

अमेरिकाको राजधानी वासिंङ्टन डिसीको समय अनुसार बुधबार बिहान एघार बजेर बीस मिनेटमा (नेपाली समय अनुसार रातको सवा १० बजे) डोनल्ड ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गरेका हुन् ।

अमेरिकाले कासिम सुलेमानीको किन हत्या गर्नु परेको भन्ने विषयमा उनले लामै बयान गरे । राष्ट्रपति ट्रम्पले अमेरिकी सेना ‘जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहेको’ बताएका छन् । उनले भने, “तर, अहिले इरान पछि हटेको देखिन्छ । जुन सबै पक्षका लागि राम्रो र संसारका लागि झनै राम्रो हो ।

ट्रम्पले गत साता अमेरिकी कारबाहीका क्रममा मारिएका इरानी सैन्य कमाण्डर सुलेमानी ‘विश्वकै शीर्ष आतंककारी’ भएको बताएका छन् । उनले भने, “उनले आतंककारी सेनालाई तालिम दिने र युद्धमा पठाउने काम गर्थे । उनले हजारौं अमेरिकी सेनाको हत्या गरेको र घाइते पारेका थिए । यससँगै उनले सडक छेउमा बम राख्‍ने कामसमेत गर्थे ।”

“पछिल्ला दिनहरुमा पनि उनले अमेरिका लागि निशाना बनाएर आक्रमण गर्ने योजना बनाएका थिए । तर हामीले त्यसलाई विफल पारि दियौं,” ट्रम्पले भने ।

साथै, उनले अल बग्दादीलाई पनि अमेरिकाले समाप्त गरेको बताए । साथै अमेरिकाले विगतमा आईसीसीका दशौं हजार लडाकूलाई समाप्त पारेको र सो कार्यले इरानलाई पनि फाइदा हुने बताए । यदि इरानले शान्तिको बाटोमा आउन चाहेमा अमेरिकाले साथ दिने पनि बताए ।

इरानी जनतालाई सन्देश दिँदै भने, “अन्त्यमा, इरानी जनता र नेताहरु तपाईंहरुको भविष्य छ, राम्रो भविष्य छ र त्यो तपाईंले पाउनुपर्छ । हरेक घरमा समृद्धि र संसारका राष्ट्रहरुसँग सद्भाव होस् भन्‍ने चाहन्छौं ।

उनले अमेरिकालाई मध्यपूर्वको तेल पनि नचाहिने बताएका छन् ।  अमेरिका अहिले प्राकृतिक ग्यास र पेट्रोलियममा आत्मनिर्भर भइसकेको र गल्फ क्षेत्रको तेलमा भर नपर्ने पनि राष्ट्रपतिले बताए । उनको यो भनाईलाई विज्ञले अमेरिका अब सो क्षेत्रबाट विस्तारै निस्कन चाहेको हुनसक्ने र खाडी क्षेत्रको सुरक्षाको जिम्मा नेटोलाई बुझाउन खोजको अर्थ लगाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको छलफल चल्दै गरेको यो अवस्थामा इरानसँगको लडाईंको ठूलो अर्थ रहन्छ । यसका साथै करिब ३०० दिनमा राष्ट्रपतिको चुनाव पनि हुँदैछ र ट्रम्प दोस्रो चार वर्षका लागि राष्ट्रपतिमा निर्वाचित हुन निर्वाचनमा भाग लिँदैछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्