माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र समाजवादीको गठबन्धन
पुस १७, २०७६
काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले हालैमात्र सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने संकेत दिएको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सरकारको विपक्षमा रहेका सबै दलहरुसँग तालमेलको ढोका खोल्ने गरी बिहीबारको कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको हो ।
‘विपक्षमा रहेका सबै दलहरु एकजुट भएर सरकारका गलत कामकारबाहीको विरोध गर्नु जुरुरी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘राष्ट्रियसभा निर्वाचनमा पनि विपक्षमा रहेका दलहरु एकजुट हुनु आवश्यक छ । त्यसका लागि कांग्रेसले सबै विकल्प खुला गरेको हो ।’
हालैमात्र राष्ट्रिय जनता पार्टीसँग राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा गठबन्धन गर्ने र राष्ट्रिय राजनीतिमा दीर्घकालीन सहयात्रा गर्ने भन्दै सत्तारुढ नेकपाले सम्झौता गरेको थियो । त्यसलगत्तै समाजवादी सरकारबाट बाहिरिएको थियो ।