पुलिससँग संकटा पराजित (भिडियो सहित)
नेपाल पुुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । सुरुवाती २ खेलमा १ अंक जोडेको पुलिसले बुधबार संकटा क्लबविरुद्ध २–१ ले हराउँदै अंकतालिकामा ७ अंक पुर्याएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १५ औं मिनेटमा सुमन लामाको गोलबाट पुलिसले अग्रता लिएको थियो । गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दाको अवस्थामा सुमन लामाको ट्यापिङ प्रहार गोलमा परिणत भएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन । १८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई अमितले गोलमा परिणत गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
पुलिसका अजित भण्डारीले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो । ३३ औं मिनेटमा सुमनको अर्को गोलबाट पुलिसले २–१ को अग्रता लिएको थियो । प्रवेश कुँवरको क्रसमा सुमनले वान भर्सेस वानमा गोलरक्षक विनय श्रेष्ठलाई बिट गर्दै गोल थर्न सफल भएका थिए ।
६०औं मिनेटमा प्रलोद रोयको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मुस्किलले बचाए । ७१औं मिनेटमा सुमन क्रस पासलाई सौजन राईले पेनाल्टी बक्समा बल भेट्न सकेन । ८३औं मिनेटमा अमितको प्रहारलाई गोलरक्षक शत्रुधनले पञ्च गर्दै बचाए । रिवाउन्डमा दिपेश आलेमगरले प्रयास गरेपनि डिफेन्डरले क्लियर गरिदिए ।
८२औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पेनाल्टी बकस बाहिरको प्रहार आकासियो । ८६औं मिनेटमा भोला सिलवालको कर्नरमा पुलिसका कप्तान सुमन सुवेदीको हेडर गोलरक्षक बिनय श्रेष्ठले पञ्च गर्दै बचाए । पुलिस पाँचौ स्थानमा उक्लेको छ भने ४ खेलमा ४ अंक जोडेको संकटा दसौं स्थानमा छ । लिगमा आजै दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



