डोनाल्ड ट्रम्पः एउटा अर्बपतिको ह्वाइटहाउस यात्रा
डोनाल्ड ट्रम्पका बुवा फ्रेडलाई ‘राम्रो प्रचार’को मूल्य थाहा थियो। सानै छँदा उनी नियमितरूपमा आफ्ना गतिविधि प्रचार गराइरहन्थे। खासगरी उनले कुन नयाँ प्रोजेक्ट गरे र त्यसको अवस्था कस्तो छ भन्ने समाचार मिडियामा खुसुखुसु गइरहन्थ्यो। आफूले पठाउने विज्ञप्तिमा उनी ‘ब्रुकलिनको सबैभन्दा ठूलो बिल्डर (निर्माण व्यवसायी)’ भनेर अवश्य घुसाउँथे। ट्रम्पले आफूलाई सधैँ न्युयोर्कको सबैभन्दा ठूलो निर्माण व्यवसायी भनेर चिनाउन खोज्नुको प्रेरणा सायद उनका बुवाबाटै पाएको हुनुपर्छ। ट्रम्पको प्रचार डिजाइनर थिए, रोय कोन। मिडियालाई कसरी चलाउने भन्नेमा आफू ‘महारथी’ भएको गफ दिन्थे कोन। केही समय न्युयोर्क पोस्ट पत्रिकामा काम गरिसकेका कोनले नै ट्रम्पलाई कसरी विज्ञापित हुने भन्ने सिकाएका थिए।
सन् १९७६ को नोभेम्बर १ मा न्युयोर्क टाइम्समा जुडी क्लेमस्रडले ट्रम्पका बारेमा एउटा लेख लेखेकी थिइन्। ‘डोनाल्ड ट्रम्प, रियल इस्टेट प्रोमोटर, बिल्ड्स इमेज एज हि बाइज बिल्डिङ्स’ शीर्षकको यो लेखले ट्रम्पलाई त्यो बेलाको न्युयोर्कका अन्य प्रख्यात बिल्डरहरू रुडिन, तिस्मान, फिसर, रोज समूह आदिको हाराहारीमा उभ्याइदिएको थियो। न्युयोर्क टाइम्सले लेखेपछि अरुले नपत्याएर पनि भएन! तर, न्युयोर्कको ‘कोर समूह’ले ट्रम्पलाई कहिल्यै पनि गनेन। त्यसैले उनले आफ्नो पनि गन्ती होस् भनेर क्षमताभन्दा बढी देखाउन खोजे।
आफ्ना आलोचकको पछाडि लाग्नुभन्दा आफूले बोलेकै छाप्ने पत्रकारहरूको खोजीमा उनी लाग्थे। त्यस्तालाई उनी समाचारको स्रोत पनि दिन्थे। कहिलेकाहीँ उनले विशेष सूचना चुहाउँथे र ‘योचाहिँ अफ द रेकर्ड हो है’ भन्थे अनि तुरुन्तै तिमीले मेरो नाम नराखी यसलाई समाचार बनाए हुन्छ पनि भन्थे।
दशकौँसम्म ट्रम्पले बिहान दैनिकरूपमा बितेका २४ घन्टामा आफूबारे लेखिएका सबै सामग्रीको क्लिपिङ बनाउन लगाउँथे र त्यसको विश्लेषण गर्थे। यो क्लिपिङ बनाउने काम मुख्य सहायक नोर्मा फोर्डररले गर्थिन्। नोर्माले ट्रम्पसँग कुराकानी गर्न इच्छुक पत्रकारहरूको नामावली पनि बुझाउँथिन्। ट्रम्पले कोसित कुरा गर्ने वा नगर्ने निर्णय गर्थे। उनको ख्याति चम्कँदै गर्दासम्म पनि उनले आफूबारे लेखिएका हरेक कुरा पढ्थे। ट्रम्प कहिलेकाहीँ आफ्ना आलोचकहरूलाई डाक्थे र आफूबारे राम्रो लेखिएका ‘पिस’ देखाउँथे। उनी जतिसुकै चर्चित, ख्यातिप्राप्त र धनकुबेर भए पनि उनले साना अखबारलाई पनि उत्तिकै स्वागत गरे। एकपटक फर्च्युन म्यागेजिनले उनका बारेमा गरेको टिप्पणी चित्त नबुझेपछि ‘न्युयोर्क कन्स्ट्रक्सन न्युज’ले उनलाई ‘वर्षका शीर्ष डेभलपर’ भनी दिएको उपाधि भएको समाचारको कटिङ पठाएका थिए।
उनले नकारात्मक समाचारलाई पनि राख्थे। वाल स्ट्रिट जर्नलका पत्रकार निल बार्स्की उनीकहाँ पुग्दा आफूबारे उनले लेखेका शृंखलाबद्ध समाचार र लेखहरू वरिपरि राखेका थिए। ती लेखमा उनले केके कुरा गलत लेखे (गलतको अर्थ उनलाई चित्त बुझेन भन्ने हो) भनी टिप्पणी गरेका थिए।
अन्य व्यापारी आफूछेऊ पत्रकारहरू नपरुन् भनेर सकेसम्म प्रवक्ताको ढोकासम्म मात्र छिर्न दिन्थे। ट्रम्पले भने कहिल्यै त्यसो गरेनन्। कुराकानीको शैली चित्त बु‰यो भने उनी मिनेट होइन, घन्टौँ पत्रकारसँग कुरा गर्थे। ट्रम्पलाई धनको प्रदर्शन मन पर्थ्यो। त्यसैले जहिले पनि धनको प्रदर्शन गराइदिन रूचाउने फर्च्युन वा फोर्ब्सजस्ता पत्रिकालाई उनी आफ्नाबारे लेख्न घच्घच्याइरहन्थे। कसैले उनको सम्पत्ति कम छ भन्यो भने तुरुन्त प्रतिवाद गरिहाल्थे।
एकपटक डेली न्युजले छाप्यो– ‘ट्रम्पलाई आस्पेनस्थित एउटा स्कि रिसोर्टले स्थायी सदस्यता दिएन।’ समाचार लेख्ने जर्ज रस र जोआना मोलीलाई ट्रम्पले तथानाम गाली गरे। उनले पछि अखबारका सम्पादकलाई समेत फोन गरेर भने– ‘यस्तो वाहियात समाचार किन छापेको? घटना भएकै छैन। सदस्यता दिएन भनेर कसले भन्यो? साला त्यसलाई एकपटक मलाई फोन गर्न लाउनू। त्यसले पक्कै पनि फोन गर्दैन किनभने उसमा हिम्मतै छैन।’
सम्पादक जिम ब्राडीले पछि सम्झँदै भनेका छन्– ‘ट्रम्पले मलाई त्योबेला तथानाम गाली गर्यो। मलाई उसले यसको स्थायी सदस्यता पाउँदैन भन्ने थाहा थियो। रिसोर्टका बोर्ड सदस्यले उनको सदस्यता अस्वीकार गरिसके। उसको गाली ‘मा..मु..’भन्दा तल हुन्थेन। सबैभन्दा राम्रो गाली ‘सन अफ अ बिच’ (बोक्सीको छोरो) भन्ने थियो। उसले मलाई मुद्दा हाल्छु भनी धम्क्यायो। पत्रिकालाई मुद्दा हाल्छु अनि मुर्डोक र तँलाई पनि मुछ्छु भन्यो।’
पछि मुर्डोकले थुम्थुम्याए– ‘कसैले कसैलाई मुद्दा हाल्दैन। यत्रो हल्ला मच्चिएकोमा ट्रम्पलाई दुःख कहाँ लागेको छ र? उसलाई त चर्चा मन पर्छ। चाहे त्यो राम्रो होस् या नराम्रो। त्यसैले उसले मुद्दा हाल्दैन।’ नभन्दै ट्रम्पले धम्कीका बाबजुद मुद्दा हालेनन्। तर, सधैँ त्यस्तो हुँदैनथ्यो।
आफ्ना आलोचकको पछाडि लाग्नुभन्दा आफूले बोलेकै छाप्ने पत्रकारहरूको खोजीमा उनी लाग्थे। त्यस्तालाई उनी समाचारको स्रोत पनि दिन्थे। कहिलेकाहीँ उनले विशेष सूचना चुहाउँथे र ‘योचाहिँ अफ द रेकर्ड हो है’ भन्थे अनि तुरुन्तै तिमीले मेरो नाम नराखी यसलाई समाचार बनाए हुन्छ पनि भन्थे।
उनको यस्तो प्रवृत्तिबारे पत्रकार जर्ज रसले भनेका छन्– ‘उनलाई गेम कसरी खेल्ने भन्ने थाहा थियो। कैयौँ समाचारबारे डोनाल्ड नजिकका साथीहरूका अनुसार भन्थे। कतिपय पत्रकारले ट्रम्पले अरुका बारे के सोच्छन् भन्नेसमेत समाचार बनाउँथे।’ ‘न्युयोर्कर’का पत्रकार मार्क सिंगर ट्याब्लोइड पत्रिकाहरू धनीमानी, प्रख्यातहरूबाट प्रयोग भएकोमा दुःख मनाउ गर्थे। ट्याब्लोइडमा काम गर्ने पत्रकारहरूचाहिँ पाठकले त्यही पढ्न चाहन्छन् भनी टक्टकिन्थे। सिंगर भन्छन्– ‘त्यो बेला भर्खर छिरेका नवअमेरिकीहरू अमेरिकी सपना पूरा गर्न चाहन्थे। तिनको खुराकचाहिँ ट्रम्पले दिन्थे। उनी आफू अमेरिकी सपनाको प्रतिमूर्ति भएको देखाउँथे। ‘दाग अच्छे है’ भनेजस्तै सम्पत्ति प्रदर्शनी गर्नु राम्रो कुरा हो भन्ने ट्रम्पले स्थापित गरिदिए। वास्तवमा कुलीनहरूचाहिँ त्यसलाई ‘अश्लील’ ठान्थे। उनीहरू ट्रम्पका बारेमा जोक बनाउँथे। ट्रम्पले भने जहिले पनि आफूलाई ‘टपभन्दा माथि’ नै ठाने।’
‘न्युयोर्क म्यागेजिन’का लेखक जोन टेलर ट्रम्पका बारेमा भन्छन्– ‘वास्तवमा ट्रम्प प्रचार र पहिचानको लत लागेका व्यक्ति हुन्। उनलाई मान्छेले फर्कीफर्की हेरेको मन पर्थ्यो। बरु हेरेनन् भने उनलाई तनाव हुन्थ्यो।’
पत्रकार सिंगर भन्छन्– ‘ट्रम्पले चारैतिर आफूलाई मात्र देख्थे। अरुलाई देख्दैनथे। यी सबै ख्याति र चर्चाले आफ्नो व्यापारलाई सघाउ पुर्याउँछ भन्ने उनको धारणा थियो।’
प्रचारको लत
प्रचारको लतकै कारण कुनै विवाद प्रेसमा उछाल्ने र पछार्ने काममा समेत उनी संलग्न हुन्थे। कतिसम्म भने आफूलाई मन नपर्ने पत्रकारहफ्लाई आफ्नै हस्ताक्षरयुक्त टिप्पणी पठाइरहेका हुन्थे। आफ्नाविरुद्ध लेख्ने पत्रकारलाई उनी पटकपटक बदला लिन्थे। एकपटक ‘न्युयोर्क म्यागेजिन’का आर्किटेक्चर समीक्षक कार्टर वाइजम्यानलाई ‘छुल्याहा र हरुवा अनि लुगा लगाउन नजान्ने’ भनी लेखेको पत्र उनले केही गसिप लेखकलाई पनि पठाएका थिए, ताकि बेइज्जतीको पारो ह्वात्तै बढोस्। त्यस्तै ‘न्युयोर्क टाइम्स’का स्तम्भकार गेल कोलिन्सलाई उनले चिठी पठाएर भनेका थिए– ‘तिमीजस्तो आर्थिकरूपमा संघर्ष गरिरहेका ‘हजारिया’ले ‘अर्बपति’लाई सिकाउनुपर्दैन।’
कहिलेकाहीँ मनको भडास पोख्न चिठीमात्र पर्याप्त छैन भन्ने लाग्यो भने उनको हर्कत हेर्न लायक हुन्थ्यो। सन् १९९० मा फोर्ब्स म्यागेजिनले ट्रम्पको सम्पत्ति घट्यो भनेर १७ अर्बबाट झारेर ५ अर्बमा पुर्याइदियो। फोर्ब्स म्यागेजिनका मालिक माल्कोम फोर्ब्सको ७० वर्षको उमेरमा मुटुको व्यथाका कारण मृत्यु हुँदा ट्रम्पले बेइज्जतीको बदला लिए। उनले प्रकाशन हुन लागेको ‘ट्रम्पः सर्भाइभिङ एट द टप’ पुस्तक निस्कने बेलामा किताबकी सहलेखक चार्ल्स लिर्सनलाई केही पृष्ठ थप्न भने। ट्रम्पको अनुरोधअनुसार केही पृष्ठ थपियो। थपिएको पृष्ठमा माल्कोम फोर्ब्सका बारेमा लेखिएको थियो। किताब निस्कने केही दिनअघि उनले टेलिभिजनमा अन्तरवार्ता दिँदै भने– ‘फोर्ब्सका बारेमा सामान्य पाठकलाई गज्जबका कुरा मैले पस्किएको छु। उनीहरूले यो कुरा पक्कै रूचाउने छन्। सबैभन्दा ठूलो कुराचाहिँ फोर्ब्सले ममाथि गरेको अन्यायको पाठ मृत्युपछि पनि सिक्नुपर्छ भन्ने लागेको छ।’
जसै पुस्तक बजारमा आयो, बल्ल पाठकले चाल पाए। ट्रम्पले माल्कोम फोर्ब्सको समलैंििगक जीवनबारे लेखेका थिए। हुन त न्युयोर्कका धनीमानीमाझ यो कुरा कुनै रहस्य थिएन। सार्वजनिकरूपमा भने यो कुरा गोप्य नै राखिएको थियो। ३९ वर्षसम्म वैवाहिक जीवन बिताएका र चार छोरा बाबु फोर्ब्सले जहिले पनि दोहोरो चरित्र देखाएको आरोप ट्रम्पको थियो। ‘फोर्ब्सले दोहोरो चरित्र नदेखाएको भए र आफू ‘गे’ हो भनेर चिनाएको भए भइहाल्थ्यो नि,’ ट्रम्पले लेखेका छन्, ‘तर उनले त्यसो गरेनन्। उनले एलिट र प्रकाशकहरूलाई प्रभावमा पारेर कहिल्यै उनको त्यो पाटोबारे लेख्न दिएनन्।’ त्यस्ता दोहोरो चरित्रका व्यक्तिले आफूलाई दोहोरो चरित्रको भनेर आरोप लगाएको ट्रम्पलाई चित्त बु‰दैनथ्यो। ट्रम्पको भनाइअनुसार फोर्ब्सले एकपटक कच्चा उमेरका केटाहरूलाई ट्रम्पले चलाएको प्लाजा होटलमा छिर्न नदिएको रिस पोख्न उनले फोर्ब्स सूचीमा उनको सम्पत्तिको मूल्यांकन घटाएका थिए। त्यसको बदला उनले फोर्ब्सको मृत्युपछि लिएरै छाडे।
विवादको घेरा
यस्तै विवादको घेरामा स्पाई नामक म्यागेजिन पनि परिरहन्थ्यो। ट्रम्पको मिडिया रूचिलाई उसले विनोदपूर्ण भाषामा व्यंग्य गर्थ्यो। सन् १९८६ मा कुर्त एन्डरसन र ग्रेडोन कार्टरले स्थापना गरेको यो पत्रिकाले सबै ‘ढोँगी’ र ‘मैँ हुँ’ भन्नेहरूलाई बेस्सरी गोदेर लेख्थ्यो। जसलाई संस्थापकहरू ‘क्रिएटिभ इन्सल्ट’ भन्न रूचाउँथे। पत्रिकाको उद्देश्य नै ‘वन एस, थि्र एफ’ अर्थात् ‘स्मार्ट, फन, फन्नी र फियरलेस’ बनाउने थियो। पत्रिकाले छोटो समयमै धनकुबेरहरूलाई बेइज्जत गरेर चर्चा बटुलेको थियो। सीबीएस टेलिभिजनका अध्यक्ष लरेन्स टिचलाई ‘पुड्के अर्बपति’ र उपाध्यक्ष डान क्वायललाई ‘गिदीमा पानीमात्र भरिएको पटमूर्ख गोरे फुच्चे’को उपाधि दिएको थियो। तर, नियमितरूपमा जति ट्रम्पले उनीहरूको भनाइ खाए, सायद कसैले पनि खाएनन्। ट्रम्प मनोरञ्जक भएकाले पत्रिकाले बेलाबेलामा उनलाई उडाइरहेको हुन्थ्यो। ट्रम्पलाई ‘सन् ८० को दशकमा न्युयोर्कको भड्किलो पहिरन लगाउने, गफाडी र अश्लील मान्छे’ भनी पुरस्कृत गरिएको थियो। स्पाईको पहिलो अंकमा उनलाई न्युयोर्क सहरका १० बेइज्जतिला मान्छेमध्येमा राखिएको थियो। अर्को वर्ष ‘स्पाई’ १०० को सूचीमा ‘जुनसुकै ठाउँ, वस्तु र मानिसमध्ये सबैभन्दा ‰याउलाग्दा’ भनी नामकरण गरेको थियो। सूचीमा उनी तेस्रो नम्बरमा थिए। अर्कोपल्ट पत्रिकाले ‘ट्रम्पस्कोर’ नै बनाएको थियो। ‘आनन्दहीन पंक करोडपति’देखि ‘छोटो औँलायुक्त भल्गरियन’ भनी अनेकौँ उपनाम दिएको थियो। पत्रिकाले लेखेको थियो– ‘हामीले उसलाई एउटामात्र शब्दले व्याख्या गर्यौँ भने उसले चित्त दुखाउने छ। त्यसैले हामी उसलाई बहुनामले पुकार्न उचित ठान्छौँ।’
पत्रिकाले आफूलाई छोटो औँले भन्यो भनेर ट्रम्पले ‘द आर्ट अफ द डिल’ किताब प्रकाशित भएपछि स्पाईको अफिसमा पठाइदिएका थिए। किताबको आवरणमा आफ्नो औँला कति सानो/ठूलो छ भनी स्वर्ण–मार्करले घेरो लगाएर औँलाछाप पठाइदिएका थिए। पछि स्पाईको अफिसमा उनको यो ‘क्रिएटिभ’ जवाफको ठूलो चर्चा भएको थियो। तर, किताबभित्र ट्रम्पले हातैले लेखेका थिए, जसमा कोनको भनाइ उद्धृत गरिएको थियो। ‘तिमीले मलाई जुन मुक्का हान्छौ, त्यही मुक्का म तिमीलाई सय गुणा बढी शक्तिले हान्छु, याद राख्नू,’ ट्रम्पले हस्ताक्षरसहित लेखेका थिए। पछि प्लेब्वाई म्यागेजिनमा उनले स्पाई पत्रिका ‘फोहोरको डंगुर’ भएको बताएका थिए। उनले पटकपटक स्पाईलाई मुद्दा हाल्ने धम्की दिए। स्पाईकी पूर्वसम्पादक सुसान मोरिसनले सम्झँदै भनेकी छन्– ‘ट्रम्पलाई ठोक्न बडो मजा आउँथ्यो। उसको बेहोराको कारणले होइन, उनका बारेमा छापिएपछि जुन प्रतिक्रिया दिन्थे, त्यो हेर्न हामीलाई मज्जा लाग्थ्यो। हरेकपटक उनका बारेमा केही न केही छापिन्थ्यो। उनले हामीलाई चिठी लेख्थे वा फोन गरेर ‘हरुवा हौ तिमेरु’ भन्थे।’ पछि सन् १९९० मा पत्रिकाले ट्रम्पलाई ‘अमेरिकाज् चिपेस्ट जिलियनेर’ भन्ने उपाधि दिएको थियो। उनका कतिपय कम्पनी घाटामा जाँदै गर्दा स्पाई पत्रिकाले ट्रम्पको उद्धारकोष भन्दै एउटा बैंक अकाउन्ट खोलेका थिए। पत्रिकाले डोनेसनवापत् १.११ डलर पठाएको थियो। ट्रम्पको कोपभाजनमा परिरहने अर्का पत्रकार ‘न्युयोर्कर’का सिंगरले ट्रम्पलाई ३७.८२ डलर ठट्टास्वरूप दान गरेका थिए। ट्रम्पले दान दिएको पैसा आफूसँग राखेका थिए।
ट्रम्प यस्तो पाजी पत्रिका चल्दैन र जुनसुकै बेला बन्द हुन्छ भनेर हल्ला गर्दै हिँड्थे। उनको आकलनमा यो पत्रिका सन् १९९४ मा बन्द हुन्छ भन्ने थियो, तर सन् १९९८ मा बन्द भयो। आफूलाई बेइज्जत गर्ने कार्टर पछि भेनिटी फेयरको सम्पादक भए। त्यहाँ जाँदा पनि ट्रम्पले आफ्ना पूरा औँला छापिएका पत्रिकाको कटिङ स्वर्ण–रङले घेरा लगाएर कार्टरलाई नियमितरूपमा पठाइरहन्थे। पछिल्लो पटक उनले सन् २०१५ मा कार्टरलाई त्यस्तै एउटा नोट पठाएका थिए। ट्रम्पले लेखेका थिएरू ‘ल हेर, त्यति छोटो पनि छैन जति तिमीले लेखेका थियौ।’
कार्टर पनि के कम! ‘मैले सोचेजस्तो लामोचाहिँ रहेनछ,’ जवाफमा कार्टरले चिठी लेखेका थिए।
प्रेम परिक्रमा
सन् १९८९ को अन्त्यतिर कसैले ‘न्युयोर्क पोस्ट’ पत्रिकालाई एउटा तस्बिर दिँदै खबर गर्यो– ‘तस्बिरमा देखिएकी युवतीको नाउँ मार्ला म्यापल हो। उसले चर्चित विवाहित व्यापारीसँग रोमान्स गरिरहेकी छ।’
जर्जिया राज्यको डाल्टनबाट न्युयोर्कमा आफ्नो भाग्य परीक्षण गर्न आएकी म्यापल केही समयभित्रै विवादमा पर्न थालिहालिन्। यो समाचार छाप्न तयार पारेर राखिएको थियो, कसो गरेर ट्रम्पले थाहा पाए।
यो पत्रिका मुर्डोकले रियल इस्टेटका अर्का व्यापारी पिटर कालिकोभलाई बेचिसकेका थिए। कालिकोभ र ट्रम्पको राम्रो मित्रता थियो। ट्रम्पले त्यो समाचार लिक हुन नदिन चेतावनी दिए। कालिकोभले सम्पादकलाई बोलाएर ट्रम्पकी प्रेमिका म्यापलका बारेमा नछाप्न आदेश दिए।
‘किन नछाप्नु?’ पत्रिकाका म्यानेजिङ एडिटर लोउ कोलासुनोले सोधे– ‘हामीले यस्तो ताजा खबर पाएका छौँ, त्यो पनि प्रमाणसहित भने किन नछाप्ने?’
कालिकोभले भने– ‘हेर, मेरी बूढी र इभाना (ट्रम्पकी प्रथम पत्नी)को मिल्ती छ। भोलि उनीहरूको घरको रडाँको मसम्म आइपुग्छ। म त्यसलाई थेग्न सक्तिनँ। फेरि ‘हल्ला’लाई समाचार बनाउन थालियो भने उनीहरूको बिहेलाई असर पर्छ।’ केही समयलाई समाचार स्थगन भयो, तर यो प्रकरणमा अर्की पत्रकार देखा परिन्, लिज स्मिथ। ट्रम्प र इभाना दुवैले लिज स्मिथलाई मन पराउँथे। लिज प्रायः ट्रम्प परिवारको वार्षिकोत्सव, बिहे, जन्मदिन आदिका भोजमा निम्तालु हुन्थिन्।
पछि ट्रम्प जापान गएको मौकामा इभानाले म्यापल र ट्रम्पबीचको रोमान्सको खबर थाहा पाइन्। जापानबाट आएलगत्तै ट्रम्प र इभानाबीच चर्काचर्की हुनु स्वाभाविक थियो।
‘म हुँदाहुँदै किन अर्कीसँग सुत्नुपर्यो?’ इभानाले ट्रम्पलाई सोधिन्।
‘तँसँगको मेरो रूचि घट्यो। हेर्दै कुरूप लाग्न थालिस्,’ ट्रम्पले इभानालाई प्याच्च जवाफ दिए, ‘जा प्लास्टिक सर्जरी गरेर आइज।’
लोग्नेको मुखबाट प्याच्च यस्तो कुरा सुन्दा इभानालाई पुग्नु चोट पुग्यो। उनले लिजलाई सबै कुरा बताइन्। यस्तो अवस्थामा ट्रम्पसँग झगडा गर्दा इभानाले सबै कुरा गुमाउने निश्चित थियो। ट्रम्पले रिस साध्नुपर्यो भने केसम्म गर्छन् भन्ने उनलाई थाहा थियो।
लिजले इभानालाई थुम्थुम्याउँदै भनिन्– ‘चिन्ता नगर। हुनेहुनामी भइहाल्छ। तिमीले आफ्नो जीवनचाहिँ सम्हाल्नुपर्छ। तीन जना छोराछोरीको ख्याल राख्नुपर्छ।’
सन् १९९० को फरबरी ९ शुक्रबार लिजको पत्रिका ‘न्युज’मा ‘एक्स्क्लुसिभ! लभ अन द रक्स’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापिएको थियो। समाचारमा विस्तारपूर्वक ट्रम्पको जीवनी दिइएको थियो। १२ वर्षे बिहेको कथा कहिएको थियो। भित्र दुई पेजमा कसरी यो जोडीको बिहे सकिँदैछ भनी छापिएको थियो। यो समाचार छाप्न न्युयोर्क पोस्टले धेरैअघिदेखि प्रयास गरेको थियो, तर छापियो न्युज पत्रिकामा। कम्तीमा दोषीको भागिदार बन्नुपरेन भनेर पोस्टका प्रकाशक कालिकोभ ढुक्क भए। तर, ट्रम्प सही कि इभाना भन्ने युद्ध पोस्ट र न्युजबीच छेडियो। अन्ततः पछि ट्रम्प र इभानाको पारपाचुके भइछाड्यो।
सन् १९९० को फरबरी महिनाभरि ट्रम्प र इभानाको हल्लाले पत्रिका रंगिएको थियो। कतिसम्म भने नेल्सन मन्डेला त्यो बेला जेलमुक्त भएको दिनबाहेक अरु सबै दिन आवरणमा ट्रम्प–इभानामात्रै थिए। पारपाचुकेको दिन डेली न्युजले लेखेको थियो– ‘उनीहरू चर्चमा भेट भएका थिए।’ पोस्टले चाहिँ इभानाको जन्मदिनको समाचार दिँदै लेखेको थियो– ‘ट्रम्प र इभाना फ्लोरिडा होटलमा देखिए, तर ओछ्यान भने फरक थियो।’
अखबारहरूले डोनाल्डको पक्षमा सेलिब्रिटी गायकहरू चेर, एल्टन जोन, फ्रांक सिनात्रा र एट्लान्टिक सिटीका सबैजसो भएको अनि इभानाका समर्थकमा चाहिँ केल्भिन क्लेन, ओप्रा विन्फ्रे, राजकुमारी डायना र न्युयोर्क सहरका सबै फूल बिक्रेता छन् भनी टिप्पणी गरेका थिए।
यो सबै प्रकरणको क्लाइमेक्स बन्न पुग्यो, न्युयोर्क पोस्टको फेब्रुअरी १६ मा प्रथम पृष्ठमा छापिएको समाचार। ‘बेस्ट सेक्स आ’हाभ एभर ह्याड’ शीर्षकको समाचारमा मार्ला म्यापलको गज्जबको तस्बिर छापिएको थियो। डोनाल्ड ट्रम्पसँगको सर्वोत्कृष्ट यौन सम्बन्धको उम्दा शीर्षक बनेर यो देखियो। समाचार लेखेका थिए बिल हफम्यानले। उनले म्यापलको अभिनय कक्षाका दुई जना साथीको स्रोत भन्दै लेखेका थिए। घटना विवरण दिँदै ती दुई साथीले ट्रम्पले म्यापललाई आफ्नो कारमा लगेको देखेका थिए। ती साथीलाई भोलिपल्ट म्यापलले ट्रम्पसँको सेक्स अहिलेसम्मकै उम्दा भनी बताएकी थिइन्।
जसै यो समाचार लेखेर पोस्टका म्यानेजिङ एडिटरकहाँ पुग्यो, उनले म्यापलले साँच्चिकै यस्तो भनेकी हुन् त भनी सोधे। सम्पादकहरूबीच छलफल भयो। पहिलो पृष्ठमा राख्न हुने हो कि नहुने भनेर छलफल हुँदा कसैले भन्यो– ‘ट्रम्पले यसमा कुनै विरोध गर्दैनन्, योचाहिँ पक्का हो।’ फोटो सम्पादकले बिरालो अनुहार लगाएको तस्बिर फेला पारे। तस्बिरको मुनि फोटो सम्पादकले क्याप्सन लेखेः हामीले जहिल्यै पनि डोनाल्ड ट्रम्पलाई कर्पोरेट बोर्ड बैठकमा बाघभन्दा कम देखेनौँ। बेडरुममा पनि उनी जंगली बिरालोभन्दा कम रहेनछन्।
समाचार छापिएपछि ट्रम्पले सम्पादकलाई फोन गरेर बेकारमा यस्तो समाचार किन छापेको भनेर गुनासो गरे। धेरै गनगनचाहिँ गरेनन्। बरु उनले भने– ‘तिमी कुनै राम्रो चिज लेख न। त्यसका लागि म तिमीलाई सहयोग गर्छु। जस्तो कि म समस्या समाधान गर्न कति पोख्त छु भनेर सोच। यसबारे लेख।’
पछि लिजलाई ट्रम्पले भने ‘बेस्ट सेक्स’ शीर्षक मलाई खुब मन पर्यो। लिजले त्यही कुरा लेखिदिइन्, तर अर्को दिन पोस्टले फलोअप समाचारमा ट्रम्पले सम्पादकहरूलाई ‘लिज स्मिथलाई जागिरबाट निकाल’ भनी दिएको आदेश अर्को समाचार बनेर छापियो।
यसरी दिनहुँको समाचारले आजित ट्रम्प परिवारचाहिँ पेलानमा परेको थियो। छोराछोरीहरू बु‰ने भइसकेका थिए। बाउ–आमाको झगडामा उनीहरू आफू पिसिएको महसुस गर्थे।
त्यो बेला हलिउड निर्देशक स्टिभन स्पिलबर्ग र अभिनेत्री एमी इर्भिङको पारपाचुकेको ठूलो हल्ला थियो, तर ट्रम्पको हल्लाका अघिल्तिर त्यो पनि सानै भयो।
‘बेस्ट सेक्स’ समाचारले उनको पारपाचुकेलाई सहज बनाइदियो। मार्ला म्यापलसँगको सम्बन्ध कसिलो बनाइदियो। यी बेइज्जतीका बीच ट्रम्पलाई न कहिल्यै अप्ठेरो लाग्यो न त कहिल्यै उनी यसबाट आजित भएकै देखिए। बरु ट्रम्पले त आफ्नो ब्रान्ड अझै फराकिलो भएको माने।
प्रकाशोन्मुख ‘डोनाल्ड ट्रम्पः एउटा अर्बपतिको ह्वाइटहाउस यात्रा’ पुस्तकबाट