नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले विगत ३ वर्षदेखि सहमति खोज्ने प्रयास गरेको र सहमति नभएपछि बहुमतीय आधारमा पार्टी चलाउन खोजेको स्पष्ट पार्नुभएको छ ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरुसंग सभापति देउवाले पहिलो प्रयास सहमतिका लागि हुने र सहमति नभए बहुमतीय आधारमा नेपाली कांग्रेस चल्ने बताउनुभयाे । उहाँले विधान अनुसार घोषणा गरिएको मितिमा नै नेपाली कांग्रेसको महाधिवेशन हुने जानकारी दिनुभयो ।

उहाँले पार्टी भित्र महाधिवेशनको मिति घोषणा गर्न दवाव दिने र घोषणा गर्दा उल्टो विरोध गर्ने गरेको आरोप लगाउनुभयो ।सभापति देउबाले कसैले वहिष्कार गर्दैमा पार्टीका गतिविधिहरु अवरुद्ध नहुने बताउँदै वहिष्कार गर्नेहरु पनि विस्तारै पार्टी गतिविधिमा संलग्न हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रजातान्त्रिक पार्टीमा सामन्य विरोध हुने भएकाले वहुमतीय आधारमानै पार्टी सञ्चालन गर्ने जिकिर गर्नुभयो । सभापति देउवाले एमसीसी कुनै पनि हालतमा संसदबाट पारित हुने जानकारी दिँदै एमसीसी पारित गराउन सरकारले गरेको प्रयास सह्राहनीय रहेको बताउनुभयो ।

प्रदेश नं. ३ को राजधानी र नामबारे सोधिएको प्रश्नमा सभापति देउबाले प्रदेश नं. ३ को नाम बाग्मती राख्नु उपयुक्त भएको र पार्टीगत निर्णय गर्नु जायज भएको धारणा व्यक्त गर्नुभयो । उहाँले दुई तिहाईको सहमतिमा राखिएको नामको विरोध गर्नु कुनै औचित्य नभएको धारणा राख्नुभयो ।