Logo

यो देशलाई अझै मेरो खाँचो छ


                                      बारीष्ठ कबी – भूपाल राई
आधा सताब्दी भन्दा पुरानो हो
यो एउटा बृत्तान्त कहानी
जहाँ कथाले माग्दै नमागेको एउटा यस्तो अध्याय छ
कि कसैले चाहे पनि नचाहे पनि
सम्झिनू
यो देशलाई अझै मेरो खाँचो छ
सम्झिनू
मेरो आदेश बिना पनि चल्छ
संघिय सचिवालयको सिलिङ पङ्खा
चल्छ राष्ट्रीय योजना आयोगको दिवाल घडी
कार्यकारी टोपी
पुलिसको फुलि
माननियको राष्ट्रीय पोसाक
न्यायमुर्तिको कालो कोट
सबका सब म बिना पनि
चल्छ तिनिहरुको स्वचालित धन्दा
सत्य हो कोहि कसैलाई मेरो केही खाँचो छैन
मात्र छ कसैलाई भने
यो देशलाई अझै मेरो खाँचो छ
खाँचो छ
तर यसको अर्थ यो हैन कि
बिलकुल अनाथ हुनेछ देश म बिना
ढल्नेछ गर्ल्याम गुर्लुम
७२ सालको धरहरा झैँ
दुई तिहाई शरीरमा गेरुवा रङ पोतेको सरकार
अवरुद्द हुनेछ नागरिकता बिधेयकको नाममा
चालू संसदको अधिवेसन
निभ्नेछ झ्याप्प सुहागरातको बत्ती झै
ट्राफिक लाइट र सडकका ल्याम्पपोष्टहरु
जाम हुनेछ शितलनिबास अगाडिको चौराहा
र रोकिनेछ महामहिम राष्ट्रपतिको साही सवारी
तर त्यस्तो केही हुने छैन
बिलकुल हुने छैन केही
मात्र यो देशलाई अझै मेरो खाँचो छ
यस्तो पनि हैन
कि बन्द हुनेछन् एकाएक
डाबर हनी र च्यवनप्रासका बिज्ञापनहरु
पक्रीनेछ सबभन्दा पहिले
सुरक्षा निकायले आफ्नै खोपडिभित्रको अपराध
सिलाउनेछ सरकारी सिलाई कारखानाले
बगली बिनाको कमिज
उँड्नेछ जुगल हिमालको काखतिर
आइरन चक्की बोकेर सुपर पुमा हेलिकप्टर
एकै झुल्को सहि
झुल्किनेछ प्रधानमन्त्रीको दिमागमा
अक्कलसीं आलेको आँखा
भिखन चौधरिको छाला
र ढेगनी देविको फरिया
तर त्यस्तो केही हुने छैन
हुने छैन केही पनि
तैपनी यो देशलाई अझै मेरो खाँचो छ
बिना अवरोध , बिना नियमापत्ती
सच्याउनेछ संविधान आफैले
राष्ट्रीय जनावरको महल
र सनातन धर्मको धारा – ४
उत्रीनेछ सुनको रेलभन्दा अगाडि
पानीको विभेद मेट्ने फलामको डोजर
र जित्नेछु केही हजार वर्षदेखि
मैले लड्दै आएको मेरो सौन्दर्यको लडाईँ
तर त्यस्तो केही हुने छैन
बिलकुल हुने छैन केही पनि
देश
जहाँ म बाहेक
बाँकी सब सुरक्षा घेराभित्र छन्
र टाउकोमा हिउँ जमाएर
एकै ठाउँ जमेर बसेका छन्
जसको लागि सबैले गाली गर्ने
सधै सरापिरहन मिल्ने
म जस्तै एउटा खलपात्रको खाँचो छ
म जस्तै एउटा स्थायी दुश्मनको खाँचो छ
म छु र नै त तिनिहरु गाली बर्साउँछन
छट्पटाउँछन
र केही हलचल महशुष हुन्छ
म नहुँदो हुँ त
कहाँ खपत हुन्छ शासकको महङ्गो गोलि ?
कसरी चल्छ अदालतको गोरख धन्दा ?
कसले लेख्छ सहानुभुतिको धुरन्धुर आख्यान ?
माननियको भत्ता
पुलिसको फुलि
हाकिमको गोजि
ब्यापारिको नाफा
सबथोक मेरै कारणले चलिरहेछ
म छु र नै त
आहाल जस्तो जमेको देश चल्मलाउँछ
गति पैदा हुन्छ
र , देश छ जस्तो लाग्छ
बस् यत्तिकै लागि भए पनि

यो देशलाई अझै मेरो खाँचो छ ।।

 

साभार- कान्तीपुर राष्ट्रीय दैनिक बाट

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्