Logo

प्रशान्त महासागरमुनि अमेरिका-चीन प्रविधि युद्ध, यस्तो छ तयारी !


अमेरिका र चीनबीच जारी विश्वको प्रविधि पूर्वाधारमाथि कब्जा जमाउने प्रतिस्पर्धामा पछिल्लो लडाईं प्रशान्त महासागर भित्र भइरहेको छ।

अमेरिकाले आफ्नो गठबन्धनका सदस्य राष्ट्रहरुलाई चीनका ठूला कम्पनी जस्तै हुवावे र जेडटीईका फाइभजी प्रणाली जस्ता प्रविधिहरु नलिन दबाब दिइरहेका बेला चिनियाँ कम्पनीहरुले भने विश्वकै अत्यावश्यक सञ्चार पूर्वाधारको रुपमा रहेको समुन्द्रमुनीको इन्टरनेट केवलमा आफ्नो पकड जमाएका छन्।

एक प्रतिशत भूउपग्रह मार्फत् हुने बाहेक विश्वव्यापी डाटा प्रवाह सबै समुन्द्रमुनीका केवलमार्फत् प्रसारण भइरहेको छ र इन्टरनेटको मेरुदन्डको रुपमा रहेको समुन्द्री केवल मार्केटमाथि रहेको अमेरिकी, युरोपियन र जापानी पकडलाई चिनियाँ कम्पनीहरुले खोस्दैछन्।

अब चिनियाँ कम्पनीहरूले विश्वकै दूर्गम क्षेत्र मानिएको प्रशान्त टापुका मुलुकहरुलाई जोड्नेतर्फ आफ्नो नजर सोझ्याएका छन्।

अहिलेसम्म विश्वव्यापीरुपमा सञ्चालनमा रहेका ३७८ हवमध्ये २३ हव प्रशान्तमा रहेका छन्। तर तीमध्ये केही केवलहरु प्रशान्त टापुका मुलुकहरुद्वारा सञ्चालित छन् जुन लस एन्जेलस, टोकियो र सिंगापुरका हव (केन्द्र) हरुबाट चल्छन्।

प्रशान्त महासागर मुनिबाट डाटाको ठूलो अंश बगिरहँदा, प्रशान्त टापु र पपुवा न्युगिनीको ठूलो जनसंख्या भने त्यसको लाभबाट बन्चित छ। त्यहाँका १ करोड १० लाख मानिसमध्ये जम्मा पाँचलाख (पाँच प्रतिशतभन्दा कम) सँग मात्र तारजडित इन्टरनेटको सेवामा पहुँच छ र १५ लाखको मोवाइल सञ्जालमा। संयुक्त राष्ट्र संघको एशिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक नियोग (युनेस्क्याप) का अनुसार सो सुविधा थाइल्यान्ड र फिलिपिन्सका जनतामा क्रमशः ५३ प्रतिशत र ६० प्रतिशत रहेको छ।

सन् २०१६ यता हरेक वर्ष २ अर्ब अमेरिकी डलर मूल्य बराबरका केवलहरु सञ्चालनमा आउने गरेको ट्रेन्डको निरन्तरताले सन् २०२१ सम्ममा ४ अर्ब अमेरिकी डलरभन्दा बढि मूल्यका केवलहरु सञ्चालनमा आउने र तीमध्ये ६ वटा केवल प्रशान्त टापु मुलुकहरुमा जोडिने आँकडाले देखाउँछ।

चिनियाँ कम्पनीहरुको संलग्नतामा यी प्रशान्त टापुका मुलुकहरुमा नवीनतम इन्टरनेट पूर्वाधार जोड्नका लागि गरिएको जोडले अमेरिका र अष्ट्रेलिया सहित उसको गठबन्धन सदस्यहरुप्रति तीव्र शंका उब्जाएको छ।

सुरक्षा चासो- अमेरिकाले आफ्ना गठबन्धन मुलुकहरुलाई ५जी नेटवर्क विस्तार गर्दा चिनियाँ कम्पनी हुवावेको प्रविधि खरिद गर्नबाट रोक्न लागिरहेका बेला यस क्षेत्रका विज्ञहरुले विश्वव्यापी डाटा प्रवाहमा अमेरिका, युरेपियन युनियन र जापानको लामो समयदेखिको दबदबालाई चीनले समुन्द्री केवलमा लगानी गरेर निस्तेज पार्ने बताएका छन्।

हुवावे जस्तै चिनियाँ विशाल कम्पनीहरुले समुन्द्रमुनीको कनेक्टिभिटीका लागि नै समर्पित छुट्टै विभागहरु मार्फत् काम गरिरहेका छन्। तिनिहरुले हजारौं किलोमिटर तार विछ्याइसकेका छन्। उता चाइना युनिकम जस्ता सरकारी टेलिकम्युनिकेसन कम्पनीहरुका विद्यमान प्रशान्तपारका केवलहरुमध्ये धेरैसम्म पहुँच कायम छ।

अमेरिकी कानुन मन्त्रालयको एउटा समितिले एउटा सम्पन्न हुनै लागेको ट्रान्स–प्यासिफिक केवल परियोजनामा चिनियाँ लगानीकर्ता बेइजिङस्थित डा पेङ टेलिकम एन्ड मिडिया ग्रुप समेत संलग्न भएको कारण देखाएर रोकिरहेको छ।

प्यासिफिक लाइट केवल नेटवर्क नामक सो परियोजना सो समितिले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अस्वीकार गरेको पहिलो परियोजना हुनसक्छ। गुगल र फेसबुक जस्ता विशाल अमेरिकी कम्पनीको साथ–सहयोग हुँदाहुँदै पनि यो कम्पनीलाई स्वीकृति नदिएर सो समितिले समुद्री केवलमा चिनियाँ कम्पनीहरुको संलग्नताप्रति कडा अमेरिकी अडान प्रस्तुत गरेको हो।

ट्रान्सप्यासिफिक केवलको सबैभन्दा ठूलो सञ्चालनकर्ता साउदर्न क्रस केवल नेटवर्कका सेल्स डाइरेक्टर क्रेग स्लूट्सले कुनैपनि नयाँ केवल सञ्चालकले कम्पनीको लगानीकर्ता र प्राविधिकहरुबारे कडा निगरानी व्यहोर्नुपर्ने संभावना रहेको बताए।

विज्ञहरुका अनुसार सो प्यासिफिक लाइट केवल रहन लागेको हङकङ पहिले बढि सुरक्षित ठानिएकोमा पछिल्लो अशान्तिका कारण सो धारणामा पनि परिवर्तन आएको छ।

त्यस्तै, चिन्ता गतवर्ष हुवावेको सहयोगमा भनुअतु र पपुवा न्यूगिनी जोड्ने परियोजनामा देखिएको थियो। अष्ट्रेलियाले आफ्नै केवल लगानी गर्ने भएपछि चिनियाँ लगानीको परियोजना रोकिएको थियो।

सरकारी लगानीको सोलोमन आइल्यान्ड सबम्यारिन केवल कम्पनीले सन् २०१७ ताका हुवावेसँग सो परियोजनामा सहमति गरेको केही महिनामै अष्ट्रेलियाले नोकियाको अल्काटेल सबम्यारिन नेटवर्क्सद्वारा समुन्द्रमुनिबाट केवल विछ्याएर सिड्नीलाई सोलोमन आइल्यान्ड र पपुवा न्यूगिनीसँग जोड्न ६ करोड ७० लाख अमेरिकी डलर लगानी गर्यो।

भनुअतुदेखि सोलोमन आइल्यान्ड्स जोड्ने अर्को परियोजनामा काम गरिरहेको कम्पनी इन्टरचेन्जका प्रमुख कार्यकारी अधिकृत सिमन फ्लेचरले कोरल सी परियोजनाले साना नीजि व्यवसायलाई अहिलेको धर्मराउँदो व्यवसायमा टिक्न कठिन हुने बताए। उनकै कम्पनी पनि कोरल सी परियोजना शुरु भएपछि हाललाई रोकिएको छ।

इन्टरनेट सञ्जालबाट दूर्गम- वर्षौंदेखि जापान, हङकङ, र सिंगापुर उच्च–गतिको इन्टरनेट डाटा प्रवाहका विश्वव्यापी केन्द्र रहँदै आएका थिए। समुन्द्र पिँधमा विछ्याइएका तारहरु एकअर्कोलाई पार गर्दै प्यासिफिक आइल्यान्ड मुलुकहरुको दुवैतर्फ तिनै हवहरु मार्फत् फैलिएका थिए।

युनेस्क्यापको सूचना प्रविधि र विपद् जोखिम न्यूनीकरण महाशाखाका निर्देशक तिजियाना बोनापेसले प्यासिफिक आइल्याण्ड क्षेत्र नेटवर्कमा नजोडिएका कारण विश्वको दूर्गम क्षेत्र मानिन्छ, त्यसैले त्यहाँको ठूलो जनसंख्याको अहिले पनि इन्टरनेटमा पहुँच छैन।

त्यो क्षेत्रमा स्तरीय इन्टरनेट सेवा विस्तार गर्नुपर्नेमा युनेस्क्याप, एशियाली विकास बैंक र विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले जोड दिएका छन्। विश्व बैंकको प्यासिफिक रिजनल कनेक्टिभिटी प्रोग्रामले फिजी, फेडरेटेड स्टेट्स अफ माइक्रोनेसिया, किरीबाटी, मार्सल आइल्याण्ड्स, पलउ, समोअ र तुभलुमा ब्रोडब्याण्ड पूर्वाधार विस्तारका लागि ९ करोड अमेरिकी डलर लगानी गरेको छ।

तर बोनापेसका अनुसार त्यहाँ विजनेस भने पर्याप्त छैन।

‘एशियाको एउटा ठूलो शहरभन्दा कम रहेको जनसंख्यालाई जोड्नका लागि हजारौं किलोमिटर पार गरेर केवल लानुपर्छ,’ उनले भनिन्, ‘हामीले गर्ने सबै कुरा कुनै न कुनै किसिमबाट इन्टरनेटमै जोडिने हुँदा प्यासिफिकको सो क्षेत्र झन् विच्छेद् हुँदै जाने संभावना हुन्छ।’

इन्टरनेट विस्तार भएकै मुलुकहरुमा पनि त्यहाँका पूर्वाधार कमजोर छन्। जनवरीमा टोंगाले यसको एकल केवलमा क्षति पुगेपछि दुई हप्तासम्म पुरै इन्टरनेट ब्ल्याकआउट नै भोग्नुपरेको थियो। यस्तो पुरापुर विच्छेद व्यहोर्नु नपरोस् भनी संसारका अधिकांश ठाउँहरुलाई फरकफरक केवलबाट जोड्ने गरिएको युनिभर्सिटी अफ हवाईका समुन्द्र तथा स्रोत इन्जिनियरिङ विषयका प्रोफेसर ब्रुस होवे बताउँछन्।

नयाँ रेखा- एकतिहाई जनसंख्यामा मोवाइल इन्टरनेटको पहुँच रहेको पपुवा न्यूगिनीमा स्थानीय टेलिकम गोपीएनजी र चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकको साझेदारीमा हुवावेले बनाएको कुमुल डोमेस्टिक केवल प्रणालीलाई आर्थिक सहायता प्रदान गरिएको थियो र त्यो केवल यसैवर्षदेखि प्रसारणमा आएको थियो।

२०२२ सम्म अनलाइन आइसक्ने योजनामा रहेको स्पार्क, भेरिजन, सिङटेल ओप्टस र टेल्स्ट्राको स्वामित्व रहेको द साउदर्न क्रस नेक्स्ट सिस्टमले फिजी, समोअ, किरिबाटी र टोकेलउलाई सिधै जोड्नेछ। यो त्यही समूह हो, जसले अमेरिकालाई अष्ट्रेलिया र न्यूजिल्याण्डसँग ३०,५०० किमीको दोहोरो केवलबाट जोडेको छ।

चिनियाँ टेलिकम कम्पनी चाइना युनिकमले उसको नेटवर्क क्षमता अन्तर्गत हालको साउदर्न क्रसलाई समेत समेटेको छ। क्यानवेरास्थित थिंकट्यांक अष्ट्रेलियन स्ट्राटेजिक पलिसी इन्स्टिच्युटका अनुसार चाइना युनिकमले ती केवल प्रयोग गर्ने कुनै एक कम्पनीसँग लिज सम्झौता गरी सो केवल सञ्जालमा आफ्नो पहुँच कायम गर्नसक्छ।

सो थिंकट्यांकका अनुसार चाइना युनिकम र चाइना टेलिकमले एसिया अमेरिका गेटवे केवल सिस्टमलाई पनि उनीहरुको आफ्नो नेटवर्क क्षमताको सूची अन्तर्गत राखेका छन्। सन् २००९ मा प्रसारणमा आएको २०,००० किमीको सो केवलले अमेरिकालाई गुवम, हङकङ, ब्रुनई, फिलिपिन्स, सिंगापुर, मलेसिया, भियतनाम र थाइल्याण्डसँग जोड्छ।

यो सञ्जाल एटीएण्डटी, टेलिकम मलेसिया, टेल्स्ट्र एन्ड स्पार्कको स्वामित्वमा छ।

जापान र अष्ट्रेलियालाई गुवम हुँदै जोड्ने गुगल र अष्ट्रेलियन एकेडेमिक एण्ड रिचर्स नेटवर्कको सहयोगमा सञ्चालित केवल अर्को वर्षको शुरुवातमा सञ्चालन हुने तयारी छ।

अब के ?
विश्व बैंककी वरिष्ठ डिजिटल डेभलपमेन्ट विशेषज्ञ नतासा बेस्शर्नरले ब्रडब्याण्डलाई पहुँचयोग्य र सहज मूल्ययोग्य बनाउन चुनौतिपूर्ण भइरहेका बेला प्रशान्त क्षेत्रमा बढ्दो कनेक्टिभिटीले नयाँ अवसरहरु भने सिर्जना गर्न लागेको बताइन्।

‘डिजिटल प्रविधिहरुले प्रशान्त क्षेत्रमा आर्थिक विविधकरण, आय सिर्जना, र सेवा प्रदानमा योगदान गर्नसक्छन्,’ उनले भनिन्, ‘इ–कमर्स र वित्तीय प्रविधिहरु बढ्दो रुपमा आइरहेका छन् र सरकारहरुले अहिले केही निश्चित सेवाहरुलाई कसरी अनलाइन उपलब्ध गराउने भन्नेबारे सोचिरहेका छन्।’

विज्ञहरुले टेलिकम्युनिकेसन सञ्चालकहरुबाट सञ्चालित यो उद्योग विस्तारै गुगल र फेसबुकजस्ता कन्टेन्ट प्रदायक कम्पनीहरु तर्फ गइरहेको बताएका छन्। नीजि केवल उद्योगका प्रतिनिधिहरु कन्टेन्ट कम्पनीहरुले आफ्ना ग्राहकलाई आपूर्ति व्यवस्था सुनिश्चित गर्नका लागि केवलको पूर्वाधारमा लगानी गर्नसक्ने अवस्थामा रहेको बताए। तर, त्यो प्रतिस्पर्धाले अन्य कम्पनीहरुको अनुसन्धान र विकासका क्षेत्रमा भएको बजेट खुम्च्याउनेछ।

साउदर्न क्रसको स्लूट्सले नयाँ केवल सञ्जालमा सिधै जोडिने मुलुकहरु जस्तै समोअ, किरिबाटी र टोमेलउहरु प्रशान्त क्षेत्रभित्रकै कनेक्टिङ प्वाइन्टको रुपमा रहेर सो केवल सञ्चालन हुनेछन्। यी निश्चित टापुहरु जोडिएपछि यी ठाउँहरुको क्षमतामा सकारात्मक प्रभाव परेको बताइएको छ।

यसैबीच प्रशान्त भित्रै एउटा एक्सजेन्ज विन्दू समेत पत्तालगाउन जोड दिइएको छ ताकि इन्टरनेट डाटा टोकियो र लस एन्जेलसमा रहेका हवमा पुगेर मात्र फेरि प्रशान्त क्षेत्रका देशहरुमा आउन नपरोस्। यो कदमले प्रशान्त क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सस्तो हुनेछ।

एशिया–प्रशान्त क्षेत्रमा स्याटेलाइटमा आधारित सस्तो इन्टरनेट सेवा प्रदान गर्नका लागि भनी एसियाली विकास बैंकले सिंगापुरको क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइट्स इन्टरनेशनललाई ५ करोड अमेरिकी डलर ऋण दिन सहमत भइसकेको छ।

स्पेसएक्सले शुरु गरेको परियोजनाबाट उसले आउने वर्षको शुरुदेखि नै सेवा प्रदान गर्ने भनेको छ।

साभार -नेपालखबरबाट (साउथचाइना मर्निङ पोष्टबाट भावानुवाद)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्