मनाङ रोकियो : फ्रेन्ड्सलाई पहिलो अंक (भिडियो सहित)
साविक विजेता मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभजिन लिगको चौथो चरणमा पुगेर रोकिएको छ । अघिल्ला तीन खेल जितेको मनाङ सोमबार फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि पनि मनाङको खातामा १० अंक पुगेको छ । फ्रेन्ड्सले लिगमा पहिलो अंक जोडेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा उत्तम राईको गोलबाट फ्रेन्ड्सले खेलमा बराबरी गरेको थियो । रुमेश बर्तौलाको क्रसमा उत्तमले डाइभिङ हेडमार्फत गोल गरेका थिए ।
पहिलो हाफमा फरवार्ड रञ्जन विष्टले गोल गरेपछि मनाङलाई अग्रता दिलाएका थिए । ११ औं मिनेटमा रञ्जनले गोल गरेका हुन् । जगजित श्रेष्ठको कर्नरमा रन्जनले सिक्स यार्ड बक्सभित्रको फ्लिक हेडर गोलमा परिणत भएको थियो ।
दुवै टोलीले केहि मौका पाएपनि सफल हुन सकेनन् । १७ औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको प्रहार मनाङका गोलरक्षक दिप कार्कीले मुस्किलले बचाए । ३४ औं मिनेटमा फ्रेन्ड्सले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई मतलब नै गरेनन् । लुइस भिडालले फेन्ड्सका फिलिपे डि सौजालाई पेनाल्टी बक्समा फाउल गरेको थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा फ्रेन्ड्सले बराबरीको सुन्दर मौका खेर फाल्यो । प्रिजेन तामाङको प्रहार डिफेन्डरले गोललाइन नजिकबाट क्लियर गरिदिएका थिए । ४९औं मिनेटमा मनाङका फेमीको प्रहार गोलरक्षक सोजित गुरुङले सहजै बचाए । ७०औं मिनेटमा मनाङका विमल रानाको प्रहारलाई गोलरक्षक सोजित गुरुङले उत्कृष्ट बचाउ गरे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा फ्लोरेन्टको फ्रिकिकमा पुजन उपरकोटीको हेडर बाहिरियो ।
अन्तिम मिनेटको गोलसँगै मछिन्द्र विजयी
खेलकाे तेस्राे मिनेटमा एनआरटीका दर्शन गुरुङकाे प्रहार फितलाे बन्याे । १२ औं मिनेटमा पिटर सेगुनकाे हेडर पाेस्टबाट बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्याे । ३१ औं मिनेटमा रेजिन सुब्बाकाे क्रसमा विशाल राईकाे हेडरले पाेस्टकाे गति लिन नसक्दा मछिन्द्र अग्रता लिनबाट चुक्याे ।
३४ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त गरेको फ्रिकिकमा डिफेन्डर देवेन्द्र तामाङकाे प्रहार क्रसबारमा लागेर फर्कदा मछिन्द्रले अग्रता लिने सुन्दर माैका गुमायाे । त्यसमै रेजिन सुब्बा र अभिषेक रिजालकाे प्रयास एनआरटीका गाेलरक्षक अजित प्रजापतिले सहजै नियन्त्रणमा लिए । पहिलो हाफको इन्ज्युरी समयमा सुजल श्रेष्ठले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक अजितले बचाए ।
५३ औं मिनेटमा कप्तान प्रकाश बुढाथाेकीकाे पासमा दर्शन गुरुङले क्रस गरेकाे बललाई तपन कार्कीले गरेकाे प्रहार मछिन्द्रका गाेलरक्षक विशाल श्रेष्ठले सहजै बचाए । ५७ औं मिनेटमा एडिलाजा साेमिडेकाे प्रहार पाेस्टबाट थाेरै आकासियाे । ६१ औं मिनेटमा एनआरटीले खेलमा अग्रता लिने सुन्दर माैका खेर फाल्याे । काउन्टर एट्याकमा मैदानकाे मध्यभागबाट अफसाइड बिट ट्याप गर्दै तपन कार्कीले एक्लै बल अघि बढाउदै गरेकाे प्रहार दाेस्राेबारबाट थाेरै बाहिरिन पुग्याे ।
७४ औं मिनेटमा अभिषेक रिजालकाे सशक्त प्रहार एनआरटीका गाेलरक्षक अजित प्रजापतिले पञ्च गरेर बचाए । ८४ औं मिनेटमा अभिषेक रिजालकाे क्रसमा साेमिडेकाे हेडर पाेस्टबाट थाेरै बाहिरियाे । अन्तिम मिनेटमा सोमीडेले विजय धिमालको क्रसमा हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।
यस जितसँगै अपराजित रहेको मछिन्द्रले ४ खेलमा ३ जित र १ बराबरसहित कुल ९ अंक जोडेको छ । अघिल्लो सिजन अंक तालिकाको रेलिगेसन क्षेत्रमा रहेका कारण मछिन्द्रको १ अंक घटाइएको थियो । यस्तै एनआरटीको ४ खेलमा ४ खेलमा २ जित र २ हारसँगै ४ अंक भएको छ । एनआरटी पनि अघिल्लो सिजन पुछारमा रहेका कारण २ अंक घटाइएको हो ।