Logo

इलामको एउटा गाउँ : जहाँ माछा, मासु र मदिरा चल्दैन


इलाम । ‘मदिरा, माछामासु, धुम्रपान, बिक्रिवितरण, ओसार पसार तथा लागुऔषध मुक्त गाउँ भएकाले यस्ता वस्तु गाउँमा निषेध गरीएको छ ।’ झापाको बिर्तामोड–दानाबारी हुँदै इलामको माङ्सेबुङ गाउँ छिर्ने मुख्य मार्ग आसपास यस्तै वाक्याम्स लेखिएका बोर्ड झुण्डाईएको छ । इलाम जिल्ला स्थित माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बा गाउँको चिनारी पनि यहिनै हो ।

बाहिरी क्षेत्रबाट जाने जो कोहिले यो क्षेत्रमा प्रवेश गर्दा प्लाष्टिक निषेध, सरकारले सुरु गरेको धुम्रपान निषेध जस्तै औपचारीक कुरा होला भन्ने ठान्न पनि सक्छ । तर, अन्य स्थानमा सुरु गरेको निषेध अभियान प्रभावकारी नबनेका कैयौँ उदाहरण सार्वजनिक भईरहँदा यो गाउँमा भने बोर्डमा लेखेको सबै कुरा पुर्ण रुपमा कार्यन्योयन भएको पाईएको छ । माङ्सेबुङ गाउँपालिका स्थित लारुम्बा गाउँको पुरै घर घरमा नत माछा मासुनै चल्छ, नत मदिरानै भेटिन्छन् ।

१ हजार ५ सय भन्दा बढि घर भएको यो गाउँ साकाहारी गाउँ भनेर पनि परिचित छ । यहाँ माछा मासु, धुम्रपान, मदिरा, लागुऔषध ओसार पसार नियन्त्रण गर्न नत सरकारले कुनै अभियाननै चलायो नत कुनै गैरसरकारी निकायले डलरका कार्यक्रमनै ल्याए । यहाँका नागरीकको पहल र किराँत धर्मगुरुको उपदेशलेनै गाउँको मुहार परिवर्तन भएको स्थानिय बताउँछन् । “देवी देवता खुसी पार्ने निहँुमा अन्य गाउँ र जिल्लाका मठमन्दिर र धार्मिकस्थलहरुमा बली चढाउने गरिन्छ, हाम्रोमा फुल चढाईन्छ, मदिरा चढाउने ठाउँमा दुध र पानी चढाईन्छ ।” लारुम्बाका स्थानिय गजेन्द्र लिम्बुले भने ।

मदिरा र पशुबलीविना पनि धर्म भएको र गाउँ समाज पनि चलेको देख्दा यो स्थानमा पुग्ने जोकोही पनि अचम्ममा पर्दै भन्ने गर्छन –“अर्कै संसार पुगे जस्तो लाग्छ ।” “लिम्बु जातीको बाहुल्यता रहेको यो गाउँमा नत कोहि मदिराको गन्ध छाड्दै हिडेको भेटिन्छ, नत झैझगडानै भएको देखिन्छ, सबै मिलेर बसेका छन्, अनि मदिरा र मासु बिना पनि दैनिकी सहित जिवन चल्छ भन्ने देखाएका छन् ।” लारुम्बाका स्थानिय सुमना लिम्बु भन्छिन् – “हाम्रो जातीमा पाहुनालाई स्वागत गर्दा, मृत्यू तथा विवाहको संस्कारमा मदिरा र मासु चाहिन्छ भन्ने भनाई थियो, तर हामिले त्यो बिना पनि सबै कर्म राम्ररी चलाएकै छौ ।” किरात धर्मावलम्बीहरुको बसोवास रहेको यो स्थानमा काटमार गर्न र मदिरापान गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।

घरैपिच्छे तीनवटा बाँसका लिंगामा राता र सेता रङका ध्वाजा राखिएको हुन्छ, साथमा सूर्य अंकित अर्काे ध्वजा पनि गाडिएको देखिन्छ । यो गाउँघरको नियमनै हो । “यो कुनै पार्टी वा संघ संगठनको झन्डा नभएर माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बा गाउँको चिनारी हो ।” सुमनाले भनिन् । “कतिले धर्मको प्रचार भन्छन्, तर हामिले धर्म गुरुले भनेको एउटा कुरालाई मात्रै पनि व्यवहारमा लागु गर्दा समाजनै परिवर्तन भएको छ, अहिले किराँतीहरुले मात्रै नभई यो गाउँका सबैले यसको अनुसरण गरेका छन् ।” उनले भनिन् । सो गाउँको सिरान डाँडामा किराँतहरुको धार्मिकस्थल माङसेबुङ पनि रहेको छ ।

धार्मिक स्थलमा धर्मगुरु आत्मनन्द लिङ्गदेनले समय समयमा दिने प्रवचनमा मदिरा र मासुले मानव शरिरलाई हानि पु¥याउने उदाहरण सहित बताउने गरेकाले पनि पुरै गाउँमा यसको प्रभाव परेको स्थानियको भनाई छ । यो गाउँलाई ११ चैत ०७२ मा औपचारिक रुपमा माछामासु, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँनै घोषणा गरिएको थियो ।

बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको स्थानीय युवराज योङ्हाङ बताउँछन् । योङ्हाङका अनुसार त्यस क्षेत्रमा जताततै फोहोर गर्न, सँुगुर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँवासीलाई प्रतिबन्ध नै लगाइएको छ ।

झापाको दमकदेखि करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर पुग्न सकिने माङसेबुङमा साकाहारी गाउँ भएकै कारण वर्षेनी राष्ट्रिय व्यक्तित्वहरुको उपस्थिती हुने भएपनि विकासको दृष्टिले निकै पछि रहेको स्थानिय गुनासो गर्छन् । यो गाउँमा विद्युत र पानीको भने अभाव छ । माङसेवुङ झापाको विर्तामोड–खुदुनावारी–दानाबारी हुँदै करिव ३५ किलोमिटर कच्चि सडक यात्रा गरेपछि पनि पुग्न सकिन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्