चितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थी आन्दोलनमा
चितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले थप आन्दोलन गर्ने भएका छन्। उक्त मेडिकल कलेजले शुल्क फिर्ता नगरेपछि चितवन मेडिकल कलेजका विद्यार्थीले शुक्रबार अभिभावक तथा राजनीतिक दलसँग समन्वय गरी बैठक आह्वान गरेका थिए।
तर, मेडिकल कलेज सञ्चालक हरिशचन्द्र न्यौपाने बैठकमा नआएपछि छलफलले सार्थकता पाएन। विद्यार्थीका अनुसार सर्वदलीय बैठकले मेडिकल कलेज सञ्चालकसँग वार्ताको पहल गर्ने भनेको थियो। तर, कलेज सञ्चालकले उपस्थिति नजनाएपछि वार्ता अघि नबढेको विद्यार्थीले बताए।
कलेज सञ्चालकले वार्तामा बस्न रूची नदेखाएपछि विद्यार्थी आन्दोलनमार्फत नै निकास खोज्ने तयारीमा छन्। चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलनका कार्यक्रम लिएर आइतबार काठमाडौं हिँडेका छन्।
शुल्क समायोजनमा कलेजले चासो नदेखाएपछि उनीहरूले थप आन्दोलनको तयारी थालेको बताएका छन्। सरकारले तोकेको भन्दा बढी शुल्क उठाएपछि त्यहाँका विद्यार्थी केही महिनायता आन्दोलनरत् छन्।
‘एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको अतिरिक्त शुल्क समायोजन गर्ने भनिए पनि अहिलेसम्म नभएकाले हामी आन्दोलनमा जानु परेको हो,’ संघर्ष समिति संयोजक प्रकाश चन्दले भने, ‘कलेजले टालटुले कुरा गरेको छ, त्यो हामीलाई मान्य छैन।’ उनका अनुसार कलेजले परीक्षा र रजिष्ट्रेशन शुल्क मात्र फिर्ता दिने भनेको छ। त्यो शुल्क चाहिँ विद्यार्थीले तिरिरहन नपर्ने शुल्क हो।