Logo

कंग्रेसको केन्द्रीय बहुमत पार्टि कार्यसमितिले गरेको निर्णय खारेज गर्न पौडेल पक्षको माग


पुस १२, २०७६

काठमाडौँ — नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठकले बहुमतले गरेकाे कार्यतालिकासहित महाधिवेशनको मिति घोषणा गर्ने लगायतका निर्णय खारेज गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले माग गरेका छन्। शनिबार महामन्त्री शशा‌ंक काेइराला निवास महाराजगञ्जमा पत्रकार सम्मेलन गरी नेता पाैडेलले शुक्रबारकाे बैठकले बहुमतले गरेकाे निर्णयले पार्टीलाई संकटमा पार्ने बताए ।

महामन्त्री डा.कोइराला र नेता प्रकाशमान सिंहलाई राखेर पत्रकार सम्मेलन गरेका पौडेलले पार्टीभित्र सहमतिबिनाकाे निर्णय कार्यान्वयन गर्न नसकिने बताए। २०७७ मंसिरसम्म महाधिवेशन गरिसक्नुपर्ने कार्यतालिका आफूले प्रस्ताव गरेको तर देउवाले असाधारण तरिकाले फागुनमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिबाट गराएको पौडेलले बताए। उनले यसरी नै जाने हो भने पार्टीलाई कसरी बचाउने भनेर चिन्ता बढेको बताए।

देउवाले बहुमतका आधारमा पार्टी विधानका संवेदनशील धारा निलम्बन गरेकोमा पौडेलले आपत्ति जनाए।’वैधानिक अवस्थालाई कसरी भताभुंग पारियो भन्ने देखा परेको छ। केन्द्रीय कार्यसमितिमा जुनखालका निर्णय भएका छन् ती गलत मनसाय र परिणाम ल्याउने किसिमले भएका छन्। तिनलाई सच्याउनुपर्छ’, उनले भने।

पार्टीलाई देउवाले खतरामा पारेकाले देशभरका कार्यकर्तालाई सजग रहन पौडेलले आह्वान गरेका छन्।’कांग्रेसलाई लोकतन्त्रका लागि जनताको भरोसाको केन्द्र बनाएर लैजान पार्टीमा छलफल गरेका हौँ’, पौडेलले भने, ‘सरकारले धाँधली र भ्रष्टाचार गरिरहेको छ। गोकर्णदेखि दरबारमार्गको जग्गा र वाइडबडी काण्ड भएका छन्, सरकारका यस्ता अव्यवस्थाको विरुद्धमा लड्छौँ। पार्टीको पनि एकलौटी निर्णयको विरुद्धमा लड्छौँ।’

पार्टीभित्रका समस्या समाधान गर्नका लागि नेता प्रकाशमान सिंहको नेतृत्वमा छलफल भइरहेको अवस्थामा सहमति नभइ निर्णय गरेकोमा पौडेलले विरोध जनाएका छन्। ‘पार्टीलाई निष्पक्ष र न्यायका आधारमा संचालन गर्नुपर्छ। संस्थागत निकास होस् भनेर छलफल हुनुपर्छ भनेका छौँ। पार्टीका भातृ संस्थालाई नीतिगत आधारमा वैधानिक आधारमा अगाडि लैजान भनेका हौँ। तर एकलौटी भयो’, उनले भने।

केन्द्रीय कार्यसमितिले शुक्रबार गरेका निर्णय विधि र पराम्पराविपरीत भएको पौडेलले बताए। ‘पार्टीलाई धरापमा पार्ने निर्णय हो’, पौडेलले भने, ‘पार्टीको विधिअनुसार संचालन गर्नुपर्छ। कांग्रेस विधान र सहमतिले चल्नुपर्छ। नेता कार्यकर्ताको चाहना र भावनालाई समेटेर अगाडि बढ्नेछौँ।’

महामन्त्री डा. शशांक कोइरालाले पार्टी एकताबद्ध भएर चलेमात्र नेपाली कांग्रेसलाई जनताले मुलुक संचालनका लागि पालो दिने बताए। पार्टीभित्र गुट र उपगुट बनाउने हो भने जनताले नपत्याउने उनको भनाइ थियो। उनले भने, ‘पार्टी एक भए मात्र कांग्रेस रहन्छ नत्र धराशयी हुन्छ। वार्ता भइरहेको थियो एक्कासी सभापतिले निर्णय गर्नुभयो, यो ठीक भएन।’

पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि सबैभन्दा पहिले देउवा र त्यसपछि नेता पौडेलले सोच्नुपर्ने महामन्त्री कोइरालाको भनाइ थियो। उनले सभापतिको निर्णयले कांग्रेसको अस्तित्व खतरामा पार्ने किसिमको भएको आरोप लगाए।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले न्यायपूर्ण ढंगले पार्टी अगाडि बढाउनुपर्ने बताए। उनले पार्टीका भातृ संगठनको संवेदनशीलतालाई ख्याल गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। ‘महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिको एजेन्डामा राख्नुपर्थ्यो। अन्तिम समयसम्म काम नगर्ने र अन्तिम समयमा म्याद थपौँ भन्ने कुरा ठिक भएन।’

केन्द्रीय कार्यसमितिले गरेको निर्णय लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक भएको नेता सिंहको भनाइ थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्