बेइजिङ आउने नेपालीहरुमा ग्रेटवालजत्तिकै अर्को महत्वको विषय माओको शव हेर्ने इच्छा
बेइजिङ – चीन भ्रमणमा आएका नेपालीका लागि ग्रेटवालजत्तिकै महत्वको विषय माओ चतुङको शव हेर्ने इच्छा पनि हो। बेइजिङ आइपुगेका नेपाली एकपटक माओको शव हेरेर श्रद्धाञ्जली दिन चाहन्छन्। सन् १९७६ सेप्टेम्बर ९ मा निधन भएका माओको शवलाई बेइजिङको केन्द्र भागमा रहेको थिआन आनमन स्क्वायरको दक्षिणपट्टिको भवनमा संरक्षणका साथ राखिएको छ। माओको शव राखिएको ‘माओभवन’ सोमबारबाहेक हरेक दिन बिहान सात बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ। माओको जन्मदिन र मृत्युदिनमा चाहिँ अपराह्न २ बजेदेखि ४ बजेसम्म पनि खुल्छ। माओभवन पुग्ने नेपाली घन्टौं लाममा बसेर माओको शवको अवलोकन गर्छन्।
कात्तिकमा नेपालबाट चीन घुम्न आएका एम्बिसन एकेडेमीका प्राचार्य विष्णु घिमिरे र उनकी पत्नी विद्या घिमिरेको ठूलो चाहना माओको शव हेर्ने थियो। दोस्रोपटक चीन भ्रमणमा आएका घिमिरे दम्पत्तीलाई साँच्चै माओको शव राखिएको छ भन्ने कुरामा विश्वास पनि थिएन। ‘नेपालमा सुनेको त थिएँ तर आफ्नै आँखाले प्रत्यक्ष देखेपछि मात्र विश्वास भयो’, घिमिरेले भने, ‘४३ वर्षसम्म पनि माओ जस्ताको तस्तै सुतिरहेका रहेछन्।’ भाइटीकाको दिन बिहानै उनलाई यो अवसर जुटेको थियो।
नेपालका कृषि वैज्ञानिक डा. बुद्धिप्रसाद शर्मा पनि पत्नीसहित माओको शव हेर्न गएका थिए। यसपूर्व दुईपटक बेइजिङको भ्रमण गर्दा पनि शर्मालाई माओको शव हेर्ने अवसर मिलेको थिएन। चिनियाँको आतिथ्यमा आएका शर्माले आयोजकसँग माओको शव हेर्ने इच्छा प्रकट गरेका थिए तर आयोजकले धेरै समय लाइनमा बस्नुपर्ने भएकाले लान नसक्ने जवाफ दिएपछि उनी निराश बनेका थिए। गत कात्तिकको भ्रमणमा भने उनी आलुसम्बन्धी एक अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन बेइजिङ आएका थिए। उनले गोष्ठीको समयबाहेक दुई दिन निजी खर्चमा बस्ने गरी टिकट मिलाएकाले माओको शव हेर्ने अवसर पाए।
काम विशेषले वा भ्रमणका क्रममा बेइजिङ आउने नेपाली घन्टौं लाममा बसेर भए पनि चिनियाँ कम्युनिस्ट नेता माओको शव अवलोकन गर्छन्।
‘माओलाई हेर्न भनेर दुई घण्टा लाइनमा बसें’, शर्माले माओको शव हेर्ने दिनको घटना अविस्मरणीय रहेको सुनाउँदै उनले भने, ‘हजारौं मान्छेको लाइन सर्दैसर्दै दुई घण्टापछि सुरक्षा जाँच गर्दा मेरो गोजीमा क्यामरा भेटियो र म भित्र पस्न सकिनँ।’ सुरक्षाकर्मीले फर्काएपछि माओको शव हेर्न इच्छामा तुषारापात भएको ठाने शर्माले। उनले आफूले बोकेको झोला र अन्य सामान बाहिर रहेका एकजना सहयोगीलाई बोक्न दिएका थिए। उनको ज्याकेटको गोजीमा क्यामराचाहिँ छुटेछ। माओको शव हेर्न जाँदा मोबाइल लान पाइए पनि क्यामरा, झोलालगायतका सामान केही पनि लान पाइन्न। शर्मा निराश भएर फर्किए। बिहानको एघार बज्न लागेको थियो। पहिले जस्तो लामो लाइन थिएन। मान्छेहरु घट्दै थिए। उनको दिमागमा एउटा जुक्ती फु-यो र हत्तपत्त तिनै सहयोगीलाई क्यामरा दिएर फेरि लाइनतिर दौडे। यसपटक आधा घण्टामात्र लाइन बस्नुप-यो। लगभग अन्तिममा जाने शर्मा नै थिए। अन्ततः उनले माओको शव हेरेरै छोडे। ‘अब त गर्वका साथ नेपाली साथीभाइलाई सुनाइन्छ’, माओको शव हेरेपछि शर्माले भने, ‘ग्रेटवाल पनि गइयो र माओको शव पनि हेरियो। चीन भ्रमण पूरा भयो।’
मंसिरमा नेपालका विभिन्न स्थानीय तहका कार्यकारी अधिकृत तीन साताको तालिममा बेइजिङ आएका थिए। २० जनाको समूहमा रहेका उनीहरुलाई पनि माओको शव हेर्ने इच्छा थियो। बर्दिया राजापुर नगरपालिकाका कार्यकारी अधिकृत वसन्त अधिकारीले आयोजकलाई अनुरोध पनि गरे। तर आयोजकले शव देखाउने कुरामा कुनै वास्ता गरेनन्। ‘आयोजकले सकिँदैन भनेर जवाफ दिए। ‘खै कोहीकोही नेपाली साथीहरु त हेरेर आएँ भन्थे’, अधिकारीले भने, ‘सायद साथीहरुले गफ लगाए होलान् भन्ने ठानेको थिएँ। आफैंले हेरेपछि पक्का भइयो।’ उनीहरुलाई आयोजकले नभई एकजना नेपालीले माओको शव हेर्ने चाँजोपाँजो मिलाएका रहेछन्।
फाल्गुनन्द गाउँपालिकाका कार्यकारी अधिकृत अनिल त्रिखत्रीले १० चिनियाँ युआन तिरेर किनेको पहेंलो फूल माओको शवमा अर्पण गर्न नपाएको दुखेसो व्यक्त गरे। ‘सबै चिनियाँले आफूसँग लगेको फूल शव राखेको भवनबाहिरै राख्दै थिए। मैले चाहिँ शवमै राख्ने विचारले बोकेरै भित्र पसें’ त्रिखत्रीले भने, ‘भित्र त फूल राख्न नपाइने रहेछ। माओका लागि किनेको फूल लिएरै भवनबाट निस्कनुप-यो।’ माओको शव हेर्न पाउँदा आफूहरुले चीनमा तीन साताको तालिम लिएजत्तिकै महत्वपूर्ण प्राप्ति भएको सामान्य प्रशासन मन्त्रालयका नासु राम आचार्यले सुनाए।
विश्वले चिनेका नेतालाई हेर्ने इच्छा पूरा भएकोमा महोत्तरी बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत कविराज उप्रेती पनि दंग परे। ‘म जन्मनुभन्दा अगाडि मरेका नेताको शव भए पनि हेर्नपाइयो’, उप्रेतीले भने, ‘माओको बारेमा धेरै पढिएको थियो। उनलाई जिउँदो देख्न नपाए पनि शव हेर्न पाउँदा खुसी लाग्यो। उनको शवनजिकै पुगेर श्रद्धाञ्जली दिने मौका मिल्यो।’
६ महिनाअगाडि नेकपाको एउटा टोलीको नेतृत्व गरेर बेइजिङ आएका नेता देव गुरुङले पनि माओको शवलाई नजिकैबाट हेर्ने मौका पाएर श्रद्धाञ्जली अर्पण गरे। माओवादी सशस्त्र युद्ध लडेका गुरुङलाई माओकै शव हेर्न पाउनु पक्कै पनि गौरवको कुरा थियो। माओ विश्वप्रसिद्ध कम्युनिस्ट नेता हुन्। उनकै नेतृत्वको सफल संघर्षबाट चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएको हो। त्यस्ता नेताको शव हेर्ने इच्छा बेइजिङ आएका नेपालीमा हुनु स्वाभाविक पनि हो।
copy by nagarik dainik