Logo

एकाबिहानै छुरी खाएको त्यो पल


122 Views

– पञ्च विस्मृत

डिसेम्बर २३,

सोमबार, २०१९,

समय करिब ३.४५, बिहान, साउदी अरेबिया ।

मेरो ड्यूटी ३.३० मा सकेको हो । घटनास्थलसम्म पुग्दा ३.४५ भएको हुनुपर्छ । डिसेम्बरको महिना भएकोले अलिक ढिलैगरि उज्यालो हुन थालेको थियो । ल्याम्पपोस्टहरु त्यति उज्याला लाग्दैनथे । साउदी अरेबियाको माटो टेकेको पनि वर्षाैँ भएछ । तर निडर भएर हिँडेका ती सडकले कुनै पनि बेला आफ्नो रङ्ग बदल्छन् भन्ने कुरा कसलाई थाहा !

एक इण्डियन साथीलाई जब उसको भिल्ला छोडेर फर्कन लागेँ साइकलमा, मेरो पछाडिबाट स्कुटरको आवाज आयो । मैले वास्ता गरिनँ । किनभने त्यस्ता स्कुटर प्रायः बकाला (किराना पसल) हरुमा काम गर्ने इण्डियन अथवा बङ्गालीहरुले प्रयोग गरेको देखेको थिएँ । तर त्यो करिब ३.४५ को एकाबिहान कुन मान्छे त्यस्तो स्कुटर चलाउँछ भन्ने कुराको विश्लेषण गर्नतिर म लागिनँ । त्यसो गर्ने समय नै पनि भएन भनौँ । हिँडेको करिब ३० सेकेण्ड मात्र भएको थियो, त्यो स्कुटरको आवाज एक्कासी ठूलो भएर आयो । भनौँ स्कुटरको स्पीड बढ्यो । तर पनि मैले पछाडि फर्केर हेरिनँ । सडक त ठूलै थियो तर कसो कसो बरु साइड दिने भएँ । नजिकै दुइटा कार पार्क गरिएका थिए । त्यसको बायाँ साइडमा एक ब्यूटी पार्लर थियो ।

साइड मात्रै के दिन खोजेको थिएँ, त्यो स्कुटर मेरो यति नजिक आयो कि एक्कासी स्कुटर चालकले ठेलेजस्तो लाग्यो । मेरो साइकल ढल्यो । उसको स्कुटर पनि ढल्यो । साउदी सडकहरुमा प्रायः बच्चाहरु ठट्टा गर्ने गर्दछन् । र, मेरो दिमाग त्यतातिर गएछ । त्यो ठेल्ने व्यक्तिको अनुहारमा हेरेँ । मेरो पछाडिबाट अर्का व्यक्तिले मेरो झोला समायो । दुई जना चढेर आएक रहेछन् । म लाटो अझैसम्म ठट्टा हो गरेको हो कि भन्ने कुरामा अलमल्ल रहेछु । जब पछाडिबाट झोला समाउनेले जोरले तान्न थाल्यो तब मात्र म झसङ्ग भएँ – ती त लुटेरा रहेछन् ।

हो, वास्तवमा कुनै पनि अपराध वा आतङ्कवादको कुनै धर्म हुँदैन । र, आतङ्कवाद धर्म पनि हुन सक्दैन । यी त रोगी मानसिकताका उपज मात्र हुन् । जति नै धनी र विकशित मुलुकमा पनि चोरी, लूटपातका घटना घटिरहेका हुन्छन् ।

जब केही सिकुटे, कालो वर्णका ती दुई लुटेरा हुन् भन्ने लाग्यो मैले भर्खरै छोडेर आएको साथीलाई सम्झेँ । तर ऊ घरभित्र छिरिसकेको थियो । सडकतिर हेरेँ सुनसान थियो । उज्यालो पनि त्यति नभएकोले उनीहरुको अनुहार पनि याद गर्नेगरि देख्न सकिनँ । त्यस्तो अवस्थामा मैले आफ्नो झोलालाई सम्झेँ । जसभित्र मेरो इकामा, पैसा र अघिल्लो महिना मात्रै किनेको सामसुङ ए फिफ्टी थियो । कुनै पनि हालतमा ती कुरा लुटेराको हातमा सजिलै सुम्पिने हालतमा थिइनँ म ।

मैले झोला छोडिनँ । मेरो दायाँतिरकोले पनि झोला तान्न खोज्यो । उसको हातमा करिब पाँच इन्चको छुरी नाँचिरको देखेँ । तर त्यसको वास्ता नगरी मैले उसको छातीमा एक मुक्का बजारेँ । ऊ अलिक पछाडि हट्यो । त्यतिकैमा मेरो दायाँतिरकोले पनि छुरी निकाल्यो । तर झोला छोड्यो । मैले छातीमा मुक्का बजारेको व्यक्तिले मेरो कुममाथिमाथि छुरी नचाएझैँ लाग्यो । अब दुवैको हातमा छुरी थियो । अवस्था गम्भीर हुँदैगएको महसुस गरेँ ।सडकतिर हेरेँ, सडक सुनसान थियो । कुनै कार आइहालेको भएपनि सहायता गर्नेवाला त थिएनन् नै तर त्यो सुनसान सडकले मलाई आत्मसमर्पण गर भनिरहेको थियो ।

मैले भनेँ, “ल तिमीहरुलाई जे चाहिन्छ सबै दिन्छु ।” भनेर एउटा हात झोलाभित्र छिराएँ । झोला अहिले मेरै हातमा थियो । झोलाबाट के निकाल्ने हो भनेर ती दुवै हेरिरहेका थिए । जब स्कुटर चालक आफ्नो लडेको स्कुटर उठाउन सडकतिर गए, म भाग्न थालेँ । दुर्भाग्यवश मेरो खुट्टामा एक लूज स्याण्डिल थियो, भने मेरो जुत्ता प्लास्टिक ब्यागमा बोकेको रहेछु ।

पन्ध्र बीस कदम भागेको मात्रै के थिएँ, अचानक लडेँ । मेरो मोबाइल हातमा रहेछ, बाङ्गिने गरी सडकमा बजारेँ । जब उठेर हेरेँ स्कुटर चालकले मलाई उछिनेर छुरी देखाउँदै मेरो ब्याग माग्दै रहेछ । फेरि पनि भाग्न त सक्थेँ शायद तर भाग्ने प्रयास गरिनँ । ऊ एक्लै उभिएको थियो त्यहाँ । मैले पहिलेझैँ आफ्नो झोलामा हात हालेँ । र, वालेट झिकेँ । र, उसको हातमा राखिदिएँ । सम्झेँ मेरो इकामा, जुनबिना मेरो संसार डुब्थ्यो । र, भनेँ मेरो इकामा दे, अरु लैजा !

आज्ञाकारी भएर उसले मेरो इकामा झिकेर फुत्त भुइँमा फालिदियो । त्यति नै खेर एउटा कार हुइँकिएर गयो । शायद त्यसैको डरले ऊ भाग्न लाग्यो । उसका अर्का साथी भने मोबाइल मोबाइल भन्दै थियो । मोबाइल मेरो हातमा थियो । जुन दिनेवाला थिइनँ । अन्ततः स्कुटर चढेर दुवै भागे ।

त्यसपछि हतार हतार साइकल उठाएँ र म पनि भिल्ला फर्किएँ । जब भिल्ला छिरेँ त मेरो बायाँ हातको चोर औँलाबाट रगत बगिरहेको रहेछ । त्योदेखि मेरा इण्डियन साथी आत्तिए । हतार हतार कम्पनीको गाडी बोलाइयो । अचम्म त त्यतिबेलासम्म मलाई लागिरहेको थियो कि सिर्फ मेरो औँलामा चोट लागेको हो । जब ज्याकेट फुकालेँ त मेरो कुमको पछाडिपट्टि एक इन्च गहिरो छुरीले दागिएको रहेछ । रगत त्यति बगेको थिएन । ज्याकेट केही मोटो थियो । खोलेर हेर्दा दुई पल्ट छुरी हानिएको पाएँ । एउटा ज्याकेटले छेकेछ । अर्को चाहिँ ज्याकेट र टीसर्ट छेँडेर छालामा एक इन्च गहिरो लागेछ ।

भिक्टिम अफ क्राइम एण्ड टेररिज्म :

अब म मेरा इण्डियन साथीलाई लिएर म कम्पनीको गाडी चढेर अफिस पुगेँ । र, मुदिरलाई पुलिस बोलाउन भनेँ । बोलाएको करिब ४५ मिनेटमा पुलिस आइपुग्यो । त्यतिको घटनाको लागि पुलिसका चार गाडी आइपुगे । र, घटनाको जानकारी लिए । मैले लुटेराहरुको हुलिया बताएँ । तिनैले एक्बुलेन्स पनि बोलाएछन् । एम्बुलेन्सभित्र राखे मलाई र ‘फर्स्ट एड’ दिइयो ।

मलाई तुरुन्त अस्पताल लानको सट्टा अब मलाई ३ मिनेट पर्खिन भनियो । तीन मिनेट पछि एउटा त्यस्तै लुटेराको हुलियासँग मिल्ने करिब १७, १८ वर्षको केटालाई पक्डेर ल्याइयो । र, मलाई सोधियो, “के लुटेरा यही हो ?” मैले यही हो भनेर यकिनका साथ भन्न सकिनँ । किनभने मैले लुटेराहरुको अनुहार त्यति राम्ररी हेरेको थिइनँ, र घटना घटेको समय खासै उज्यालो नभइसकेको कारण जति देखेँ धमिलो मात्र सम्झन सकेँ । त्यो समातेर ल्याएइको मान्छे मलाई देखेर मलिन अनुहार बनाएर उभिएको थियो । उसले लगाइराखेको घाँटीको माला पुलिसले जबर्जस्ती चुँडिनेगरि तानिदियो । मैले ५० प्रतिशत मात्र सम्भावना भएको बताएँ । त्यसपछि उसलाई कता लगियो थाहा भएन । म चढेको एम्बुलेन्स भने अस्पतालतिर हुइँकियो । पक्रेर ल्याएको व्यक्तिको खुट्टातिर मैले कसो हेरिनछु । किनभने दुई मध्ये एकले मेरो एउटा स्यान्डिल भूलवश साटेर लगाएर गएको थियो ।

जब अस्पताल पुगेँ, त्यस्तै पाँच मिनेटमा, डक्टरको कुरा सुनेर खङ्ग्रङ्ग भएँ । किनभने एक आइमाई डाक्टर भन्दै थिइन्, “यसको उपचार गर्न दुई हजार रियालसम्म लाग्न सक्छ ।” एक बजार रमिता हेरिरहेका नर्सहरुले जेनेरल हस्पिटलमा जान सल्लाह दिए, जहाँ सित्तैमा उपचार हुने समेत बताए । र, त्यहाँ सामान्य मल्हमपट्टी गरिसकेपछि अब एम्बुलेन्सको सट्टा पुलिसको गाडी चढियो । पहिलोपल्ट पुलिसको गाडी चढ्दा अनौठो अनुभूति भयो । पुलिसको गाडी त अत्यन्तै साँघुरो हुनेरहेछ, खुट्टा पसार्नै नमिल्ने । पुलिस स्टेशन पुगेर रिपोर्ट लेखाइयो । रिपोर्ट लेख्दा अस्पताल जाने नजाने कुरा सोध्यो पुलिसले । अस्पताल त जानै थियो । र, जाने भनेँ । त्यसपछि पुलिसले दिएको पेपर बोकेर जेनेरल अस्तपाल पुगियो, दम्माम मेडिकल कम्प्लेक्स ।

त्यहाँ पनि एक बजार डाक्टर र नर्सले मलाई झम्टे । र मेरो बारेमा सबै जानकारी लिए ।

“दे थिङ्क वी आर लाइक विल गेट्स ? वी आर पुअर पीपल !” एउटा डाक्टरले ठट्टा गर्दै भने ।

ती डाक्टरहरुको भीडले दुई स्टिच कुम पछाडिको घाउमा र दुई स्टिच औँलाको घाउमा लगाए । एक्सरे पनि भयो । बल्ल काम सकियो । त्यहाँको । त्यहाँ दिइएको रिपोर्ट अब फेरि पुलिसलाई बुझाउन त छँदै थियो ।

अस्पतालले दिएको रिपोर्टमा लेखिएको थियो— “भिक्टिम अफ क्राइम एण्ड टेररिज्म” ।

पाएको शिक्षा :

त्यो दुई मिनेटको घटनाको शक्ति अब भित्रैबाट महसुस गरेँ । वास्तवमा कुनै पनि घटना घट्नको लागि सेकण्ड र मिनेट नै काफी हुँदो रहेछ । पुलिसको त्यो सहयोग निक्कै प्रशंसनीय थियो । कति चुस्त ? तिनले मसँग गरेको व्यवहारदेखि साउदी पुलिसलाई हेर्ने मेरो दृष्टिकोण नै बद्लियो । कठोर र कडा स्वभावका देखिने साउदी पुलिस वास्तवमा आम मान्छेजस्तै सहृदयी हुँदारहेछन् भन्ने कुराको अनुभव गरेर दङ्ग परेँ ।

त्यो दुई मिनेटको घटना मेरो लागि वास्तवमै घातक थियो । अघिसम्मको मेरो सामान्य दैनिक जीवन अहिलेको अहिल्यै अस्तव्यस्त भएको पाएको थिएँ । समयमा सही निर्णय लिन नसकेर गलत कदम उठाएको भए मेरो ज्यान जान सक्थ्यो । जिन्दगी कति ‘अनप्रेडिक्टेबल’ हुँदोरहेछ भन्ने कुराको ज्ञान गहिरो रुपमा भयो । जिन्दगी सङ्घर्षको अर्को नाम रहेछ । र, जहिल्यै ‘रेडी फर एक्शन’मा रहनु पर्ने रहेछ भन्ने शिक्षा त्यस घटनाले दियो ।

जहिल्यै सजिलो र हल्का खालको जुत्ता र कपडा लगाउनु पर्ने रहेछ देखि जहिल्यै पनि आफ्नो वरपरको वातावरणदेखि चनाखो रहनु पर्नेरहेछ, अगाडि पछाडि हेर्दै चल्नु पर्नेरहेछ, र अपरिचित व्यक्तिदेखि सधैँ सावधान रहनु पर्नेरहेछ सम्मको शिक्षा त्यस घटनाले दियो । अर्को उल्लेखनीय शिक्षा भनेको यदि लुटेरा आफूमाथि जाइलागे उसले चाहेका कुरा सुम्पिदिनु रहेछ । त्यसो नगरेमा तिनले ज्यानसम्म लिनसक्ने रहेछन् । र, यसको रमाइलो पक्ष भनेको चाहिँ लुटेरासँग पनि सामान्य मानिसको झैँ सम्वाद आदानप्रदान हुँदोरहेछ । नत्र आज्ञाकारी भएर मेरो इकामा वालेटबाट निकाले दिँदैनथे मलाई ।

र, पीएसएस ( Presidency of State Security) ले मलाई मन छुने एसएमएस पठाएको छ— “Dear citizen and resident, terrorism has no religion. Report those who target our security and country by calling 990.”

हो, वास्तवमा कुनै पनि अपराध वा आतङ्कवादको कुनै धर्म हुँदैन । र, आतङ्कवाद धर्म पनि हुन सक्दैन । यी त रोगी मानसिकताका उपज मात्र हुन् । जति नै धनी र विकशित मुलुकमा पनि चोरी, लूटपातका घटना घटिरहेका हुन्छन् । त्यसैले गरिबीसँगपनि यसको कुनै लेनादेना छैन । यस्तो बिरामी मानसिकताले जहिल्यै र जहाँ पनि असर देखाउन सक्छ । सबैले सावधान हुन जरुरी छ ।

केही थोपा रगत लियो र, यति शिक्षा दियो उक्त घटनाले ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347