राज्यले कुनै सहुलियत नदिदा ईंटा उद्योगहरु बन्द हुँदै
विगत झण्डै ३५ वर्षदेखि ईंटा व्यवसाय गर्दै आएका विनोद श्रेष्ठ अर्को वर्षबाट उद्योग बन्द गर्ने सोचमा पुगेका छन् । उद्योग सञ्चालन गर्न अति नै कठिनाइ भएकोले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् । राप्ती नगरपालिका-९ लालपुरमा उनको श्री ईंटा उद्योग छ । निरन्तर घाटा खानुपर्ने अवस्था आएको, व्यवसायका लागि कच्चा पर्दाथको अभाव भएकोले उद्योग बन्द गर्ने सोच उनमा आएको हो । ‘पहिलेदेखि नै आफूले गर्दै आएको पेशा भनेर एकैपटक चटक्क छाड्न नसकेर मात्रै झुण्डिएको हो, तर उद्योग चलाएर नाफा हैन, घाटा छ’ सञ्चालक श्रेष्ठले भने, ‘मौसमदेखि कामदार र बजार भाउले दुःख दिन्छ अरु व्यवथापकीय समस्या त छँदैछन् ।’ चितवनमा अहिले १८ वटा ईंटा उद्योग छन् । आजभन्दा झण्डै १० वर्ष अघि यहाँ ४० भन्दा बढि उद्योग थिए । जिल्लामा सञ्चालनमा रहेका ईंटा उद्योगहरुको लागि आवश्यक पर्ने माटोको अभाव हुन थालेपछि उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् । स्थानीयको जमिन खरिद गर्दै अग्लो, ढिस्को भएको स्थानको माटो काटेर उद्योगले ईंटा बनाउदै आएका थिए ।
‘साथीहरुले भटाभट उद्योग बन्द गर्न थाल्नुभयो’ व्यवसायी श्रेष्ठले भने, ‘ईंटा उद्योगीका अगाडि चुनौतीका चाङ छन् ।’ चितवनमा अहिले राप्ती नगरपालिका वडा नम्बर ९ लालपुर भन्ने स्थानमा ६, बीरेन्द्रनगरमा १, चैनपुरमा ९, पिठुवामा १ र जयमंगलामा १ ईंटा उद्योग सञ्चालनमा छन् । ईंटा उद्योगमा आएको नयाँ प्रविधि, ईंटा पोल्नको लागि आवश्यक प्रविधि, वातावरण मैत्री उद्योग सञ्चालन गर्नको लागि अपनाउनु पर्ने सावधानी लगायतको कारणले पनि उद्योग सञ्चालन गर्न ठूलो खर्च लाग्छ । परम्परागत रुपमा ईंटा पोल्दै आएका व्यवसायी नयाँ प्रविधिमा जान पनि सकिरहेका छैनन् । वातावरण मैत्री बनाउन नसकेको भनेर स्थानीयको बिरोधको समाना पनि उद्योगहरु गर्नु परिरहेको छ ।
साधारणतय एक ईंटा उद्योग सञ्चालन गर्न दुई करोडभन्दा बढी खर्च लाग्ने गर्दछ । एक उद्योग सञ्चालन हुँदा कम्तीमा १५० जना कामदारले प्रत्यक्ष रोजगारी पाउने गर्दछन् । एक उद्योगमा १४/१५ जना नियमित तलव लिने कर्मचारी हुन्छन् ।
ईंटा उद्योगीका चुनौती : मौसमदेखि बजारसम्म
पछिल्लो समयमा ईंटा उद्योग सञ्चालन गर्न जमिनको अभाव हुन थालेको छ । जमिन किनेर उद्योग सञ्चालन गर्न कसैले पनि नसक्ने अवस्था आएको व्यवसायी बताउँछन् । चितवनमा जग्गाको भाउ अधिक भएकोले जग्गा किनेर व्यवसाय गर्न ठूलो लगानी चाहिने ईंटा व्यवसायी विनोद श्रेष्ठको भनाइ छ । ग्रामिण क्षेत्रमा प्रति कठ्ठा एक लाख रुपैयाँमा पाइने जमिन अहिले मुल्य वृद्धि भएर प्रति कठ्ठा २० लाख रुपैयाँ भन्दा माथि पुगेपछि उद्योगीहरुले व्यवसाय बन्द गर्न थालेका छन् । जग्गा भाडामा लिएर सञ्चालन गर्दा विभिन्न समस्याहरू आइपर्ने गरेको छ । जग्गा लिजमा लिए पनि त्यहाँको माटो प्रयोग गर्न कसैले पनि दिँदैन । अन्यत्रबाट माटो ल्याएर मात्रै ईंटा बनाउनुपर्ने वाध्यता रहेको छ । ईंटा बन्न लायक माटो र डाँडाकाँडा भएको ठाँउमा मात्रै उद्योग सञ्चालन गर्न सहज हुने ईंटा व्यवसायी संघ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाले जानकारी दिए । अन्यत्र जमिनको संरचना बिगार्न कसैले पनि दिँदैनन् । प्रदुषणको कुरा पनि उत्तिकै उठ्ने गर्दछ ।
हिउँदमा पर्ने पानी ईंटाका उद्योगीको सबैभन्दा ठूलो टाउको दुखाईको बिषय बन्दै आएको छ । काँचो ईंटा तयार गर्ने क्रममा पर्ने पानीले ठूलो आर्थिक क्षति गर्ने गरेको व्यवसायी विनोद श्रेष्ठले बताए । यसपटक दुई दिन परेको पानीले यहाँका उद्योगमा दुई करोड बराबरको क्षति गरेको व्यवसायीको भनाइ छ । पोल्न ठिक्क पारिएको ईंटा भिजेर काम नलाग्ने भएको व्यवसायी बताउँछन् । ईंटा उत्पादनको पिक सिजनका रुपमा पुषको मध्यदेखि माघको अन्तिमसम्मलाई लिइन्छ । माघको पहिलो हप्तादेखि आगो लगाएर ईंटा उत्पादन योजना व्यवसायीले बनाएका हुन्छन् । पानीले इँटा उत्पादनको चक्र नै प्रभावित पार्ने व्यवसायीको भनाइ छ ।
मौसममा भर पर्ने व्यवसाय हो, खुल्ला आकाशमुनी काम गर्नुपर्छ, त्रिशुल ईंटा उद्योगका सञ्चालक रहेका व्यवसायी नारायण सापकोटाले भने, ‘आकाशबाट परेको पानी ईंटा बनाएको खाल्डोमा नै जम्मा हुन्छ अनि सबै सकिन्छ, यो त जुवा खेले जस्तो पेशा हो ।’
बल्ल तल्ल जुटाएको माटो र मजदुर फेरि जुटाउनुपर्ने अवस्था आउँदा खर्च बढी लाग्ने व्यवसायीको गुनासो छ ।
ईंटा बनाउन चितवनमा अन्यत्रबाट माटो ल्याउनुपर्ने अवस्था छ । पहिलाको जस्तो जहाँ उद्योग छ त्यहीको माटो प्रयोग गर्न कमै मात्र पाइन्छ । माटोसमेत ईंटा बनाउने गुणस्तरको नपाइने हुँदा नोक्सान धेरै हुने गरेको व्यवसायीहरु बताउँछन् । यहाँको माटोबाट ४० प्रतिशत मात्रै इट्टा तयार हुन्छ । जवकी पूर्वी नेपालका जिल्लामा त्यहाँको माटोबाट ९० प्रतिशत भन्दा बढी ईंटा बन्छ । पूर्वको ईंटा चितवनको भन्दा बढी सस्तो र गुणस्तरीय हुने गरेको छ । रौतहट, पर्सा, बारा जिल्लाबाट बढी मात्रामा ईंटा चितवन भित्रिने गरेको छ । यहाँ उत्पादित ईंटाभन्दा सस्तोमा बाहिरबाट ईंटा आउने गरेको छ ।
ईंटा उद्योगमा मजदुरको समस्या पनि उत्तिकै पर्ने गरेको श्री ईंटा उद्योगका सञ्चालक विनोद श्रेष्ठले बताए । भारत लगायत तराईका क्षेत्रबाट कामदार ल्याउनुपर्ने हुन्छ । ईंटा उद्योगीहरुले गत वर्ष नै चालु वर्षको ईंटा उत्पादनका लागि मजदुरलाई पेश्की रकम दिनुपर्दछ । फागुपूर्णिमामा उनीहरुसँगको सम्झौता सकिन्छ । त्यसपछि उनीहरु स्वतन्त्र हुन्छन् । त्यसपछि उनीहरुलाई काम लगाउन समस्या हुन्छ ।
राज्यले कुनै सहुलियत दिँदैन : उद्योगी
ईंटा उद्योगीहरुलाई राज्यले कुनै सहुलियत र सुविधा नदिएको व्यवसायीहरुको गुनासो छ । एक स्थानीय तहबाट अर्को स्थानीय तहमा माटो लैँजादा दोहोरो करको मारमा आफूहरु पर्ने गरेको गुनासो उनीहरुले गरेका छन् ।
उद्योग सञ्चालनका लागि सिमित क्षेत्र तोकेर आवश्यक पूर्वाधार तयार नगरिदिने हो भने ईंटा उद्योगीहरु पलायन भएर जाने ईंटा उद्योगी संघ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाले बताए । माटो निकासीमा सहजता, दोहोरो करबाट मुक्ति दिनुपर्ने माग आफूहरुले गर्दै आए पनि कतैबाट सुनुवाइ नभएको व्यवसायीको दुःखेसो छ ।