दीपक अटेरी छ, मैले नै आएर नकराइ उ खाटबाट उठ्दैन उसलाई पलङमै छोडिदिनु म आएर उठाउँछु!
काठमाडौँ — ‘तिमी आउँदा मेरो अनुहार देख्न पाउँदैनौं । चाँडै आउ है, होइन भने मलाई भेट्न पाउँदैनौं । कुन्नी किन हो, त्यस दिन दीपकले यस्तै भनेको थियो । सास जाने बेलामा त सम्झ्यो होला है मलाई । बोलायो पनि होला ।’
मंगलबार पशुपति आर्यघाट छेउको किरियापुत्री भवनमा विपना बस्नेत दीपकलाई सम्झिइरहेकी थिइन्- ‘दीपकले भनेजस्तै भयो। मैले दीपकलाई भेट्न पाइँन,’ बोल्दा बोल्दै उनी भक्कानिइन्।
धेरैबेर माहोल सुनसान भयो। उनलाई सान्त्वना दिन किरियापुत्री भवन पुगेकी एक आफन्त भन्दै थिइन् ‘यस्तै हो जीवन भनेको, ढिलो चाँडो सबै जाने हो’।विपनालाई भने दीपकको जाने बेला भएको थियो भन्ने लाग्दैन। उनले दीपकसँग बोलेको अन्तिम कुरा सम्झिन्, ‘म चाँडै आउँछु। तिमी भात खाउ है भनेर ग’को थिएँ। म आएपछि बोल्छ होला भनेर कत्ति सोचेको थिएँ। तर दीपक बोलेन।’
नक्कली हिसिला यामी बनेर टेलिश्रृङ्खला ‘तितोसत्य’ मार्फत दर्शक हसाउँदै आएकी विपनाको आँखाबाट अविरल आँशु बगिरहेको छ। लामो समय हेयर ड्रेसरको रुपमा काम गरेकी विपनाको अनुहार फुङ्ग उडेको थियो। आँखाहरु सुन्नेका थिए। छेउमै सेते लुगामा छोरा रिनेस पनि थिए। उनी दुईलाई भेट्न आफन्त आउनेक्रम जारी थियो।
दीपकले संसार छोडिसकेको सत्य पत्याउनै गाह्रो परिरहेको छ उनलाई। त्यसैलै अन्तिम दिन दीपकसँग छुटिँदाको त्यो पल विपना हरेक आफन्त आउँदा दोहोर्याउँथिन्।
दीपकले संसार छोडेको त्यो दिन…
दीपकले संसार छोड्नु १७ दिनअघि (नोभेम्बर २९) मा विपना आफ्नी छोरी कलाकार रिस्ता बस्नेतलाई लिएर साँस्कृतिक कार्यक्रम गर्न मलेसिया उडेकी थिइन्। कार्यक्रमको लागि सुरुमा उनले दीपकलाई पनि लाने सोचेकी थिइन्। तर दीपकको पासपोर्ट थिएन। छोरा रिनेसलाई पनि सोधिन्। छोरा पनि नयाँ फिल्म ‘चिसो एस्ट्रे’कै काममा व्यस्त थिए।
त्यसैले छोरा र दीपकलाई डिल्लीबजारको डेरामै छाडेर आमाछोरी मात्रै मलेसिया गए। बावु छोरालाई खाना पकाएर खुवाउने जिम्मा भने शिव सिग्देललाई दिएकी थिइन्। विपना मलेसिया गएदेखि शिव पनि त्यही डेरामा बस्दै आएका थिए। शिव पेसाले फिल्मका स्पट ब्वाइ हुन्। उनी दीपकको मिल्ने साथी मध्यकै एक हुन्।
मलेसिया पुगेर दीपकलाई मेसेन्जर, भाइवर अनि मोबाइलमा लगातार फोन गरिरहन्थिन् विपना। ‘चिन्ता त हुन्छ नि होइन। जतिखेर पनि फोन गरिरहन्थें म। फोन नउठ्दाखेरि आफूलाई डर लाग्थ्यो,’ उनले सुनाइन्। मलेसिया हुँदा दीपकसँग उनको दैनिक कुरा हुन्थ्यो।
शनिबारको दिन भने बिहानै फोन गर्दा दीपकले फोन उठाएनन्। अरुबेला २/४ पटकमा फोन उठेन भने खाना पकाइदिने शिवलाई विपना फोन गरिहाल्थिन्। पुषको जाडो। त्यसमाथि मलेसियामा ९:१५ बज्दा नेपालमा ७ बजेको हुन्थ्यो। ‘ओच्छ्यानमै होला भनेर’ पहिलो कल काटिदिइन्। मन मानेन। फोन राखेको २ मिनेटमै फोन गरिहाल्थिन्। छोरालाई पनि फोन गरिन्। फोन उठेन। छोराको साथी पनि डेरामै थिए। उनले छोराको साथीलाई फोन गरिन्।
‘उसले सुतिरहनु भएको होला एक छिनमा उठाउँ? भन्यो। मैले म कानमा फोन राखिरहन्छु तिमी ढोका ढकढक्याउ भने। उसले ढ्याङढ्याङ गर्दा दीपकले ढोका खोलेन। अलि बेस्सरी ढ्याङढ्याङ गर न भनें, जाडोमा निदाइरहेको होला,’ विपनाले सुनाइन्, ‘फोन गरें, फेरि गरें, उठेन। जति फोन गर्दा पनि उठेन। त्यसपछि मेरो मन चिसो भयो।’
त्यसपछि उनले प्राविधिक संघको अध्यक्ष पुस्कर लामालाई फोन गरिन्। पुस्करले पनि दीपकलाई फोन गरे। दीपकको फोनमा रिङ गइरह्यो तर उठेन। शिव फिल्मको कार्यक्रमले बाहिर रहेछन्।
उनीहरुको कुकुर सँधै दीपक सँधै सुत्थ्यो। त्यसदिन भने कुकुर पनि छोरासँगै सुतेको थियो। कसैगरी पनि दीपकको फोन नउठेपछि उनले फेरि छोरालाई फोन गरिन्।
छोरा र उनका साथीले धेरैपटक ढोका ढक्ढक्याए। नखुलेपछि उनले ढोकाबाट चियाएर भित्र हेर्न भनिन्। रिनेसले आमाले भनेजस्तै भित्र चियाउँदा बुबाको शरीर हलचल नगरी खाटमा सुतिरहेको देखे। फोनमा छोराले सुनाएको सुचनाले विपनाले अनिष्टको संकेत पाइसकेकी थिइन्। उनलाई औडाहा भइसकेको थियो।
छोराले घरबेटीलाई बोलाए। ढोका फोरेर हेर्दा दीपक मृत अवस्थामा भेटिए। उनको एउटा खुट्टा खाटबाट तल झरेर लत्रिएको थियो। दुवै हात मुट्ठी कसेको अवस्थामा थिए।’जे नहोस् भन्थें सोच्यो त्यही हुँदो रैछ’ विपना सम्झिन्छिन्।
…………..
पुस्करलगायत केही फिल्मकर्मी दीपकको डेरा पुगिसकेका थिए। छोरा रिनेसले पुलिसलाई खबर गरे। पुलिसले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयार गर्यो। विपना यसका लागि तयार भइनन्। उनले छोराको फोनमा पुलिससँग कुरा गरिन्। ‘दीपक अटेरी छ, मैले नै आएर नकराइ उ खाटबाट उठ्दैन। उसलाई पलङमै छोडिदिनु म आएर उठाउँछु,’ उनले भनिन्।
‘मलाई ऊ अब यो संसारमा छैन भनेर पत्यारै लागिरहेको थिएन,’ उनी भावुक भइन्, ‘तिमी मेरो अगाडि मर्न हुन्न भन्थें, मैले नदेख्ने गरी नै गयो।’
मलेसियाका कार्यक्रम आयोजकले दीपकको समाचार यतिञ्जेलमा पाइसकेका थिए। उनीहरुले नेपाल दूतावाससँग सम्पर्क गरी विपनाको राति ३ बजेकै टिकट मिलाइदिए। शनिबार बिहान दीपक मृत फेला परे, आइतबार बिहान विपना काठमाडौं आइपुगिन्।
खासमा उनको फर्किने टिकट बिहीबारको थियो। दीपकका लागि जुत्ता किनेर ल्याउने योजना उनको थियो। ‘दीपक जुत्ताको सौखिन थियो,’ उनले भनिन्।उनी हलचल नगर्ने शरीर नजिक पुगिन्। ‘दीपक म आएँ, तिमी उठ,’ तर, दीपक उठेनन्।
दार्जिलिङबाट दीपकका आफन्त आइपुगे। अनि बल्ल मंसिर ३० गते दीपकको शवको पोस्टमार्टम गरियो। त्यसैबीच मंसिर २९ गते कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भयो। भोलीपल्ट ३० राष्ट्रिय सम्मानका साथ दुवै कलाकारको एकैसाथ शव यात्रा गरियो। र, आर्यघाटमा अन्त्येष्टि गरियो।
दीपकको शरीर धुँवासँगै उडेर गइसक्यो। अझै पनि विपनलाई भने दीपक यतैकतै भएँझैं लाग्छ।
‘जिन्दगीको सहयात्री, लोग्नेस्वास्नी नै बनेर बसेका थियौं। कहिले झगडा हुन्थ्यो, कहिले माया। मेरै अगाडि त छ भन्ने हुन्थ्यो नि। अहिले पनि ऊ कतै गा’ छैन यतै भएँझैं लाग्छ,’ सेतो लुगाएर बसेकी बिपनाले भनिन्।
बिहे नगरी श्रीमान-श्रीमती
त्यो बेला चलेका कलाकारमा पर्थे दीपक। दीपक ठूलो पर्दाका स्टार नै थिए। खलनायकका रुपमा नेपाली फिल्ममा उनी स्थापित थिए। उनको अभिनयबारे निकै चर्चा हुन्थ्यो। विपना भने कलाकारको हेयर ड्रेसर थिइन्। पतिसँग छुट्टिएर बसेकी उनी छोराछोरीलाई एक्लै हुर्काउँदै थिइन्।
दीपकको अभिनय रहने प्राय फिल्ममा विपना नै हेयर ड्रेसर हुन्थिन्। पर्दा पछाडि उनको काम हुन्थ्यो भने पर्दामा दीपकको।
फिल्म क्षेत्रमा आउनु अगावै विपना दीपकलाई कलाकारका रुपमा चिन्थिन्। दीपकको रक्सीको लतबारे पनि उनलाई थाहा थियो। त्यतिखेर विपना दीपकलाई दाइ सम्बोधन गर्थिन्। समयक्रममा काम र फिल्मले उनीहरुलाई नजिक बनायो।
‘समर्पण’ फिल्मको सुटिङबाट भने यी दुईको प्रेम अंकुराउन थालेको थियो। दीपक सुटिङ नभएको समयमा विपनालाई भेट्न आउँथे। उनी कहिलेकाहीं दीपकलाई पैसा पनि दिन्थिन्। दीपकको रक्सी पिउने बानीबारे धेरैले धेरैथरि कुरा गर्थे। यस्तो सुन्दा उनको चित्त दुख्थ्यो।
बिस्तारै यी दुईले एकअर्कालाई माया गर्न थालेका थिए। दीपक त्यो बेला डेरामा नै बस्थे। बिस्तारै विपनाले दीपकलाई खाना खान आफ्नो डेरमा डाक्न थालिन्। भेट्घाट अनि घर आउनेक्रम बाक्लिन थालेपछि यी दुईले सँगै बस्ने निर्णय गरे। २०५९ देखि उनीहरु सँगै बस्न थाले।
विपना एक्लै थिइन्। उनले दीपकमा सहारा पाइन्। दीपकले पनि उनका दुई सन्तानलाई आफ्नो सन्तान स्वीकार्दै आए। यसरी बिहे नगरीकनै यी दुईले एकअर्कालाई श्रीमान-श्रीमती स्वीकारे।
सँगै बस्नुअघिको एउटा तिहारको रमाइलो प्रसंग जोड्छिन् विपना। ‘छोरो ८ वर्षको हुँदा एक दिन उसले भनेको थियो, यो तिहारअगाडिसम्म दीपक अंकल भन्छौं। तिहारपछि त बाबा भन्छौं,’ पूराना दिन सम्झँदा उराठ विपनाको अनुहारमा एक्छिनलाई भए पनि खुशी देखियो।
………..
मुटुमा रगत जमेर २०६२ सालमा दीपक थला परे। त्यो बेला विपनाले २१ दिन स्याहारिन्। २०६९ सालमा फेरि स्वरको नलीमा क्यान्सर देखियो।
‘झोला’ फिल्मको सुटिङदेखि भने दीपकको स्वर बस्दै गयो। विभिन्न संघसंस्थाबाट उठेको सहयोग रकमले उनको उपचार भइरहेको थियो।
बोल्नै नसक्ने अवस्थामा विपना दीपकको स्वर भइदिन्। अब त्यो स्वर ठ्याप्पै बन्द भयो।
केही समय अगाडि दीपकले ‘बुलबुल’ र ‘छ माया छ पक्कै’मा अभिनय गरेका थिए। त्यसअघि भने उनले ‘रानीमहल’ भन्ने फिल्मको आफ्नो सम्पूर्ण पक्षको अभिनय गरिसकेका थिए। डबिङ मात्रै बाँकी थियो। फिल्म बीचमै रोकियो। फिल्म पूरा भयो भने दर्शकले ‘रानीमहल’मा दीपकको अभिनय हेर्न पाउने छन्।
देखेभेटेको वा संगत गरेको मान्छेको छाप मनमा बसेको हुन्छ। तर मनको छाप देखाउने कसरी? १७ वर्षसँगै बसेका दीपकको भौतिक शरीर अब छैन तर उनको छाप बिपनाको मनमा छ, जो कहिल्यै मेटिने छैन।



