कांग्रेसको विवाद मिलाउन प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक
काठमाडौँ — कांग्रेसमा देखिएको विवाद समाधानको प्रयास गर्न नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा आज बैठक बशेको छ । अपरान्ह साढे ४ बजेबाट सुरु बैठकमा विवाद समाधानका लागि संस्थापन र नेता रामचन्द्र पौडेल पक्षले बनाएको वार्ता समितिका सदस्यहरु सहभागी छन् ।
सहमति बिना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो।
त्यही विवाद समाधानका लागि शनिबार बिहान सभापति शेरबहादुर देउवाले नेता पौडेललाई उनकै निवास बोहोराटारमा पुगेर भेटेका थिए। भेटमा पौडेलले महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म बैठकमा उपस्थित नहुने प्रष्टयाएका थिए। पौडेलले समूहका मागबारे छलफल गर्न वार्ता समिति बनाएको र त्यही समितिसँग छलफल गर्न भनेका थिए।
पौडेलले सस्थापनसँग छलफलका लागि नेता प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सदस्य रहेको समिति बनाएका छन्। सभापति देउवाले पौडेल पक्षलाई मनाउने जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिएका छन्।
निधिले सिंहलाई टेलिफोन गरी चाक्सीबारीमा पुगेर विवाद समाधानका लागि छलफल गरिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। साढे ४ बजेदेखि वार्ता जारी रहेको शर्माले बताए। बैठकमा समाधान खोज्न अधिकतम प्रयास गर्ने तर सहमति नभएमा विधानमा भएको व्यवस्था अनुरुप बहुमतबाट अगाडि बढ्ने शर्माले बताए। ‘सकभर सहमतिबाट अगाडी बढ्ने प्रयासमा हामी छौं। सहमति हुन सकेन भने विधानले व्यवस्था गरेको प्रक्रियाबाट अगाडी बढ्नु विकल्प छैन्। आइतबारको बैठक रोकिन्न,’ शर्माले भने।
पौडेल पक्षको बहिस्कारबीच देउवाले बिहीबारको बैठकमा मौजुदा रहेका २८ विभागलाई बढाएर ४१ पुर्याउने प्रस्तावसहित छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेका थिए। ती एजेण्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समिति बैठक बोलाइएको छ।