Logo

गौरिकाले पाइन् ५६ लाख ,स्वर्ण विजेताले ९ लाख पाउने


प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षकहरुलाई नगद पुरस्कारको घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रोत्साहनस्वरुप प्रधानमन्त्रीले स्वर्ण, रजत र कास्य पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार राशिको घोषणा गरेका हुन् ।
यसअघि मंगलबार नै साग समापन समारोहमा सदस्यसचिव रमेश सिलवालले प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने बताएका थिए ।

एक स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ नगद दिइनेछ भने एकभन्दा बढी स्वर्ण विजेतालाई एघार लाख रुपैयाँका दरले नगद पुरस्कार दिइनेछ । जसमा दुईवटा स्वर्ण विजेताले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कार राशिअनुसार पौडीमा चार स्वर्ण जित्ने गौरिका सिँहले स्वर्णतर्फबाट ४४ लाख प्राप्त गर्नेछिन् । त्यसैगरी उनले दुईवटा रजत पदक पनि जितेकी छन् ।

दुईवटा रजतमा थप १२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् । उनले स्वर्ण र रजत गरि कम्तिमा ५६ लाख रुपैयाँ नगद पाउनेछिन् ।  त्यसैगरी कास्य विजेताले जनही तीन लाख प्राप्त गर्नेछन् । गौरिकाले समूहमा तीन कास्य पदक जितेकाले त्यसमा कति रकम प्राप्त गर्नेछिन् भन्ने एकिन भएको छैन । त्यसैगरी तेक्वान्दोकी आयशा शाक्यले दुईवटा स्वर्णपदक जितेकी छन् । उनले २२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने करातेका मण्डेकाजी श्रेष्ठले पनि दुईवटा स्वर्ण जितेकाले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी पदक विजेताका प्रशिक्षकलाई पनि जनही पाँचलाख रुपैयाँ दिइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यसैगरी फुटबलको स्वर्ण विजेता प्रत्येक खेलाडीहरुलाई जनही पाँचलाख रुपैयाँ दिइने थापाले बताए । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ ।
१३ औँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जितेको छ ।

सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रहेको थियो । यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए ।  यसअघिको समाचारमा गौरिका सिँहले ११ लाख रुपैयाँ प्राप्त गरेको भन्ने समाचार त्रुटि भएकाले सच्याइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्