भुटानमाथि नेपालको सानदार फराकिलो जित (भिडियो सहित)

Breaking News खेलकुद समाचार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानमाथि सानदार जित दर्ता गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले ४-० को फराकिलो जित दर्ता गरेको हो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले २ तथा मिक्छेन तामाङ र अभिषेक रिजालले १-१ गोल गरे ।

खेलको पाँचौ मिनेटमा ६ यार्ड बक्सनजिक अनमार्क रहेको अवस्थामा फिनिस गर्दै गोल गरेका थिए । नेपालले त्यसअघि अनन्त तामाङको हेडरमा गोलरक्षकले क्लियर गर्दा अग्रता लिन चुकेको थियो । नेपालले खेलको अधिकांश समय भुटानमाथि दवाव कायम गरेको छ । ३२ अौं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा अभिषेक रिजालको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको ५० अौं मिनेटमा सुजलले अग्रता दोब्बर पारे । त्यसको १५ मिनेटपछि अभिषेकले डाइभिङ हेडरमा गोल गर्दै नेपाललाई ३-० ले अगाडि बढाए । मिक्छेन तामाङले फ्रिकिकमा सिधै गोल गरेपछि नेपालले ४-० को अग्रता लिएको थियो । यस जितसँगै नेपालले ३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भुटानको पनि ३ अंक नै छ । श्रीलंका र माल्दिभ्सको १-१ अंक रहँदा बंगलादेश अंकविहीन छ ।

प्रशिक्षक बालगोपाल महर्जनले सुरुवाती ११ मा कप्तान सुजल र अभिषेकलाई अग्रपंक्तिमा खेलाए । मध्यक्रमको जिम्मेवारी तेज तामाङ, मिक्छेन तामाङ, नितिन थापा र सुनिल बल रहेका छन् । डिफेन्समा विक्रम लामा र अनन्तसँग विकास खवास र सुमन अर्याल तथा गोलरक्षकमा विकेश कुथु रहे ।