थुलुङ (राई) सामाको जग्गा विक्रीमा लाखौँ रकम हिनामिना : कस्ले गर्‍यो हेर्नुस

Breaking News समाचार

थुलुङ(राई) सामाको जग्गा विक्रीको रकममा घोटला भएको छ। जग्गा विक्रीको रकममा कम्तीमा २१ लाख ४० हजारभन्दा बढी हिनामिना भएको तथ्य फेला परेको हो। संस्थाका कार्यवाहक अध्यक्ष राम थुलुङले भने जग्गा विक्रीबाट कूल १ करोड ८५ लाख मात्र प्राप्त भएको बताएका छन्।

तर, जग्गा खरिद गर्ने बाराही प्रपर्टी हाउजिङ्ग एण्ड लिजिङ्ग कम्पनीका मार्केटिङ्ग प्रमुख छवि बोहोराले भने जग्गाको खरिदपछि पाससम्मको प्रक्रिया चल्दा कूल २ करोड ३३ लाख तिरेको परिवर्तन खबरलाई जानकारी दिएका छन्।

जग्गा विक्री गरिएको बारेमा कार्यवाहक अध्यक्ष राईले भने, ‘जग्गा विधान अनुसारको सबै प्रक्रिया पुर्याएर गरिएको हो। केहि संस्थाप्रति नकारात्मक धारणा राख्नेहरुले यो विषयलाई अनावश्यक टिप्पणी गरेको हो। हामीले सबैको सल्लाह अनुसार राम्रो मूल्य पाएकोले बेचेको हो।’ उनले, ‘जग्गा विक्रीबाट संस्थाको खातामा १ करोड ८५ लाख रहेको र नयाँ जग्गा किन्ने विषयमा काम भइरहेको छ’ थपे।

कार्यवाहक अध्यक्ष राईले जग्गा २ करोड ५० लाखसम्ममा पनि किन्ने मान्छे आएको तर पछि जग्गा हेर्दा भिर र एकदम भिरालो हुनुका साथै कम क्षेत्रफलको भएकाले डेढ करोड मात्र मुल्य आउने भनेपछि आफुले रोकेको बताए। उनले भने, ‘यो हामीले पाएको मूल्य राम्रो हो, जग्गा मिलाउन थालेको भए ५० लाख खर्च गरेर मात्र नयाँ संरचना बनाउन सकिन्थ्यो। हामीलाई १ करोड ८५ लाखमा किन्ने प्रस्ताव आएपछि सबैको सल्लाहमा निर्णय गरेर नै जग्गा बेचिएको हो’ ।

यता, जग्गा विक्री भएको मूल्य अत्यन्त न्यून भएको भन्दै असन्तुष्ट भएका थुलुङ समुदायले संस्थाको संस्थापक सचिव जनिकुमार राईको संयोजकत्वमा ‘थुलुङ राई समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समिति’ समेत गठन गरेका छन्। समितिले सामाको अवैधानिक केन्द्रिय समितिले जग्गा बेचेर लाखौँ घोटाला गरेको आरोप समेत लगाएको छ।

समितिका संयोजक जनिकुमार राईले समितिको गठन समुदायको नाम बेचेर खानेहरुको विरुद्व सबै थुलुङ सामूदायलाई सु-सुचित गर्दै एकतावद्व गर्नलाई गरिएको बताए। उनले भने, ‘यो अवैधानिक समितिका सिमित व्यक्तिहरुले व्यक्तिगत आर्थिक लाभका लागि जग्गा बेचेका हुन्। यो जग्गाको मूल्य सामाको पदाधिकारीले दाबी गरे जस्तो त्यति धेरै कम हुनै सक्दैन। यसमा एउटा गिरोह समुह नै बनाएर लाखौँ रकम हिनामिना गरिएको छ।’

किरात राई थुलुङको साझा संस्थाको रुपमा परिचित संस्थाको स्थापना १९ वर्ष अगाडि कमल राईको अध्यक्षतामा थुलुङ किरातहरुको भाषा,संस्कृति र मुन्दुम जोगाउने उदेश्यले स्थापना भएको थियो।

 

समितिको  ‘ध्यानाकर्षण पत्र’ मा के छ ?

समितिले जग्गा विक्री गरेको मूल्यप्रति चर्को विरोध जनाउँदै, करोडौं मूल्य बराबरको थुलुङ समुदायको साझा जग्गा विधि, विधान प्रक्रिया र समाजलाई गुमराहमा राख्दै सीमित पदाधिकारी र व्यक्तिको निहित स्वार्थको लागि विक्री गरिएको प्रति सम्पूर्ण थुलुङ समुदायको गम्भीर आपत्ति रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।

‘सामाका सीमित पदाधिकारी र व्यक्तिले स्वेच्छाचारी ढंगबाट सामुदायको हक हित, पहिचान र संस्कृतिको नाममा स्थापित संस्थालाई आफ्नो निहित स्वार्थले प्रेरित क्रियाकलापमा प्रयोग गरेकोप्रति गम्भीर असहमति जनाउँदै किरात राई थुलुङका सम्पूर्ण विद्वान, राजनीतिक नेतृत्व, तथा सम्पूर्ण समुदायको छलफलमा त्यस्तो छलकपटपूर्ण कायर गतिविधिको पारदर्शिताको लागि ‘थुलुङ राई समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समिति’ समेत गठन गरेको स्पष्ट पार्न चाहान्छौं ।” पत्रमा लेखिएको छ।

थुलुङ राई समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समितिको ध्यानाकर्षण पत्र। 

समितिले गैरजिम्मेवारीपूर्ण प्रक्रिया र क्रियाकलापलाई निस्तेज पार्ने उदेश्यले त्यस संस्था (थुलुङ राई सामा) का संस्थापक सचिव जनीकुमार राईको संयोजकत्वमा प्रारम्भिक १५ सदस्यीय सरोकार समिति गठन गरेको बताएको छ।

थुलुङ समुदायको सामूहिक जग्गा भक्तपुर जिल्लाको नंखेलस्थित १ (ख) कित्ता नम्बर ९०४ मा रहेको करिब ६४ आना जग्गा सामाको वर्तमान अध्यक्ष पूर्णसिंह थुलुङ राई र उपाध्यक्ष राम थुलुङ राई तथा केही सीमित झुण्डको एकलौटी निर्णयमा अवैधानिक ढंगमा पदाधिकारी तथा सदस्यहरुको घरघरमा गई ‘माइनुट’मा हस्ताक्षर गराइ विक्री गरेको आरोप लगाएको छ।

 

थुलुङ (राई) सामा, युकेले महाधिवेशन र जग्गा विक्री सम्वन्धमा यस्तो भनेको थियो :

थुलुङ (राई) सामा, युकेको केन्द्रिय कार्य समितिले थुलुङ (राई) सामाको केन्द्रिय समितका अध्यक्षलाई पठाएको सुझाव पत्रमा समेत वर्तमान समितिको कार्यकाल सकिएकोले महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न र संस्थाको जग्गा विक्री गर्ने बारेमा सम्पूर्ण सरोकारवाला, चन्दादाता तथा पुर्वपदाधिकारीहरुलाई जानकारी गराउन र सर-सल्लाह गर्न सुझाएको थियो।

‘पहिलो कुरा हजुर अध्यक्ष ज्युको नेतृत्वको कार्य समितिको कार्यवधि सस्थाको विधान बमोजिम अलि नाघिसकेको र हालमा संस्था बिना वर्तमान कार्य समितिको रहेको व्यक्तिगत र संस्थागत सर्वत्र  सुनिदै आइदैं गरेकोले गर्दा, यदि यो कुरा पक्कै हो भने थुरासा, युके एक भाइचारा शुभचिन्तक संस्थाको नाताले सुझावको रुपमा संस्था वास्तवमा आफ्नो विधि, विधान र प्रक्रियामा नै चले राम्रो होला’ भन्दै पत्र लेखेको थियो।

थुरासा, युकेले पठाएको सुझाव पत्र। 

संस्थाको जग्गा विक्री गर्ने बारेमा चासो राख्दै थुरासा, युकेले पत्रमा  हावा नचली पाटा नहल्लिने भन्दै थुरासा केन्द्र नेपालको मातहतमा रहेको जग्गा बेचबिखन गर्ने भन्ने सुनिएकाले यस्तो संवेदनशील विषयमा सुरुवातकालिन पदाधिकारीहरु तथा लगनशिल दाताहरु विविध कारणले विदेश रहँदै आएको र उनीहरुको थाहा पाउने अधिकार भएको र केन्द्रिय पदाधिकारीहरुको जानकारी गराउनु दायित्व र कर्तव्य भएको अवगत गराएको छ।

 

अवैधानिक समितिले ठुलो रकम कमिसन खायो : संस्थापक अध्यक्ष  

थुलुङहरुको पहिचान, भाषा, संस्कारको संरक्षण गर्ने उदेश्यले दुई दशक अघि थुलुङ राई सामाको स्थापना गरिएको हो। जग्गा माङखिम( स्योरिनेम) बनाउने उदेश्यले मेरो कार्यकालमा नै निर्णय गरिए पनि पर्याप्त रकमको अभाव भएकोले पछि किन्ने शर्तमा रोकिएको थियो।  म ब्रुनाई गएको एक वर्षपछि १ लाख २० हजार पठाँए र स्वयम् नेपाल आएको बेला ३० हजार ल्याए त्यसपछि गोकर्ण राई अध्यक्ष भएको बेलामा ४ रोपनी जग्गा किनिएको थियो।

वर्तमान केन्द्रिय समितिले ४ रोपनी मध्ये १ रोपनी ३ आना जग्गा बाटोले खायो भनेर झुटो कुरा गरेका छन्। मेरी विचारमा बढीमा ५ देखी ८ आना जग्गा बाटोमा जान सक्छ र बाँकी रह्यो ३ रोपनी ४ आना भने पक्का बाँकी हुनु पर्छ। सामाको जग्गा भएको नजिकै मेरो पनि जग्गा थियो। मैले  २ बर्ष अगाडी आनाको ९ लाखको दरले बेचेको थिए भने पक्कै त्यतापट्टि आनाको १५ लाख भन्दा बढी नै मुल्य पुग्यो होला। अहिले सामाको जग्गा ४८ आना मात्र भनेका छन्, जुन सरासर गलत हो। सामाको खातामा जग्गा विक्री बापत आएको १ करोड ८५ लाख रकमलाई हिसाब गर्दा आनाको ३ लाख ७५ हजारले बेचेको देखिन्छ जसको मतलब ठुलो रकम कमिसनको रुपमा खाएका छन्।

पूर्णसिङको समिति अवैधानिक रुपमा २ वर्ष भन्दा बढी समयदेखि महाधिवेशन नगरि यो जग्गा बिक्री गर्नकै लागि बसेको हो । त्यस्तो होइन भने कसरी महाधिवेशनमा अनुमोदन नगरि समितीको एक दुई जनाले समुदायको जग्गा बेच्ने काम कसरी गर्न सक्छ? स्योरिनेम बनाउने नाममा बेचेको भन्ने उनीहरुको तर्क सबै थुलुङ्हरुले सहमति कतैबाट गरेका छैन किन भने स्योरिनेम बनाउने मात्रै भनेकोले सबै थुलुङ्हरु विश्वस्त भएका छैनन्।

 

जग्गा बेच्ने सामा समितिको कार्यकाल २ वर्ष अघि नै सकिएको:

थुलुङ (राई) सामाको जग्गा बेच्ने र मूल्य निर्धारण गर्ने वर्तमान समितिको कार्यकाल २ वर्ष अघि नै सकिएको हो। तर जग्गा बेच्नकै लागि यो समितिले महाधिवेशन नगरेको र नेतृत्व हस्तान्तरण समेत नगरेको संस्थापक अध्यक्ष तथा ‘थुलुङ राई समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समिति’का संयोजक जनीकुमार राईको ठम्याई छ।

यस जग्गाको किनबेचमा ठुलै रकमको चलखेल भएको सजिलै अनुमान समेत लगाउन सकिन्छ। जबकि जग्गा किन्ने र बेच्नेले संचारकर्मीसंग फरक-फरक कुराकानीमा जग्गाको क्षेत्रफलको फरक-फरक योग बताए। पहिलो कुराकानीमा किन्ने छवि बोहोराले जग्गा ४ रोपनी पुग-नपुग रहेको बताए भने दोस्रो कुराकानीमा ४८ आना मात्र भएको बताए। त्यस्तै सामाका कार्यवहाक अध्यक्ष राईले समेत जग्गाको स्पष्ट क्षेत्रफल बताउन सकेनन्। त्यस्तै उनलाई किन्नेले २ करोड ६ लाख ४० हजार नै सामालाई दिएको भन्ने बारे सोध्दा एक करोड ८५ लाख मात्र सामाले प्राप्त गरेको तर २ जना दलाल मार्फत जग्गा बेचेको बताए। तर किन्ने संस्थाका हिस्सेदार बोहोराले भने सबै मापदण्ड पुरा गरेर २ करोड ६ लाख ४० हजार तिरेको बताउनुका साथै जग्गा पास गर्दासम्म करिब २ करोड ३३ लाख लागेको बताए। यसर्थ जग्गाको विक्रीमा यो वा त्यो नाममा ठुलो रकम हिनामिना भएको छ।

यो निर्णय गर्दाको अवधिमा महाधिवेसनबाट निर्वाचित अध्यक्ष पूर्णसिङ थुलुङ भने उपस्थित छैनन्। उनी २ वर्ष देखि नै बिरामी परेकोले कार्यवाहक अध्यक्षको रुपमा सबै जिम्मेवारी उपाध्यक्ष राम थुलुङलाई दिएका छन्। हाल सामाको निर्णयहरु कार्यवाहक अध्यक्ष राम राई र महासचिव सुवास राईले गर्ने गरेका छन् । (परिवर्तन खबर र सन्चारकर्मी डटकममा न्युज लेखिएको छ ।)