सोमबार बिहान पौने ३ बजे पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष शिव आचार्यको  घरमा विस्फोट भएको छ । विस्फोटबाट घरमा पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको छ ।  यो वडा पनि निर्वाचन क्षेत्र कास्की २ भित्र पर्दछ । कास्की २ मा १४ मंसिरमा उपचुनाव हुँदैछ । २:४५ बजे भएको विस्फोटको प्रहरी र परिवार दुवैले पुष्टि गरेका छन् । विस्फोट कसले गरायो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले शंकास्पद व्यक्तिहरुमाथि निगरानी गरिरहेको बताए ।  वडाध्यक्ष शिव आचार्यको घर भने वडा नं १७ विरौटामा छ । घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा विस्फोट  भएको थियो । वडाध्यक्ष शिव आचार्यले सुतिरहेको अवस्थामा ठूलो आवाज आएपछि मात्र थाहा पाएको बताए ।