फेसबुक र गुगल मानवधिकारका लागि खतरा बन्दै : एमनेस्टी इन्टरनेशनल
मानव अधिकारवादी अन्तर्राष्ट्रिय संगठन एमनेस्टी इन्टरनेशनलले गुगल र फेसबुकको ‘बिजनेस मोडल’ मानवधिकारका लागि खतरा भएको बताएको छ ।
एमनेस्टीले जारी गरेको प्रतिवेदनमा गुगल र फेसबुकद्वारा गरिने ‘व्यापक निगरानी’ प्रति चिन्ता प्रकट गरिएको छ । दुबैको ‘प्लेटफर्म’ ले बृहत रुपले मानवाधिकारलाई हानी पुग्ने अवस्था सिर्जना गरिरहेको एमनेस्टीको दाबी छ ।
फेसबुकले एमनेस्टीको उक्त प्रतिवेदनप्रति असहमति जनाएको छ । फेसबुकले मानविधाकारलाई सशक्त बनाइरहेको दाबी गर्दै उक्त प्रतिवेदनप्रति असहमति जनाएको हो । त्यस्तै गुगलले प्रयोगकर्ताको विश्वासको कदर गर्दै प्रयोगकर्ताको ‘डेटा’ को सुरक्षाको जिम्मेबारीको पनि संवेदनशिल रहेको बताएको छ ।
प्रतिवेदनमा गुगललाई विश्वभर ९० प्रतिशत भन्दा बढी प्रयोग हुने ‘सर्च इञ्जन’ का रुपमा उल्लेख गर्दै विश्वको एक तिहाइ जनसंख्याले दैनिक रुपमा फेसबुक प्रयोग गरिरहेको जनाइएको छ ।
५८ पेजको प्रतिवेदनमा एमनेस्टीले गुगल र फेसबुकको ‘बिजनस मोडल’ लाई ‘अर्बों मानिसहरुको विश्वव्यापी निगरानी’ भनेको छ । एमनेस्टीले दुबै टेक कम्पनीहरुको आधारभूत ‘बिजनस मोडल’ मा ‘मौलिक परिवर्तन’ गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
फेसबुक र गुगलले आप्mनो सेवा परिवर्तन गर्दा कुनै शुल्क नलिए पनि प्रयोगकर्ताले आप्mनो ‘पर्सनल डेटा’ का रूपमा त्यसको मूल्य चुकाउनु परिरहेको एमनेस्टीको भनाइ छ ।
त्यसका लागि प्रतिवेदनमा क्याम्ब्रिज एनालिटी प्रकरणको उदाहरण दिइएको छ । कसरी प्रयोगकर्ताको ‘पर्सनल डेटा’ उनका विरुद्ध प्रयोग गरिन्छ भन्ने बारेमा उक्त प्रकरणलाई प्रमाणका रुपमा पेस गरिएको छ ।