Logo

४ बालिकासहित ७ नेपाली महिलाको भारतको बेश्यालयबाट उद्धार


भारतको आसाम स्थित १ बेश्यालयबाट ७  जना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा ४ जना बालिकासमेत छन् ।

मानव बेचबिखन विरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको १ कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो ।

सिल्चारको सो बेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखन विरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो ।

दिल्लीबाटै भारतीय अधिकारीहरु सँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरी सहित पुगेर सोमवार साँझ ७ जना नेपाली महिलाको उद्धार गरिएको हो । उद्दार गरिएकामध्ये ३ जना २० वर्ष मुनिका रहेको र ४ जना बालिकाहरु रहेको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइरालाले जानकारी दिए ।

गत जुलाइमा १ जना नेपाली किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो । उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको ७ जनाको टोली आसाम पुगेको थियो ।

ती युवती र किशोरीलाई बेश्यालयसम्म लैजाने र जबरजस्ती यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी कोठी सञ्चालिका हुन् कि दलालमात्र हुन् भन्ने खुलेको छैन ।

उद्धार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको शक्ति समूहले जनाएको छ । कानुनी सल्लाहकार कोइरालाले दिल्ली स्थित दूतावासलाई जानकारी दिएर उद्धार गरिएको बताएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्