“संगीतविनाको शिक्षा अपूर्ण हुन्छ सत्यमोहन जोशी”

कला/साहित्य विचार/ब्लग समाचार

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले राष्ट्रियताको जगेर्नामा संगीतको ठूलो महत्व रहेको बताएका छन् । राष्ट्रिय बौद्धिक केन्द्र, ललितपुरले आयोजना गरेको राष्ट्रियताका लागि संगीतको उपादेयता विषयक कार्यक्रममा जोशीले भने, ‘संगीतको माध्यमबाट राष्ट्रियताको जगेर्ना गर्न सकिन्छ, त्यसका लागि सरकारी तहबाट पनि पर्याप्त स्थान दिनु आवश्यक छ ।’

संगीतविनाको शिक्षा अपूर्ण हुने बताउँदै जोशीले भने, ‘शिक्षा प्रणालीमा पनि संगीतलाई तल्लो तहदेखि नै समेटेर लैजानुपर्छ । विभिन्न जातजाति, भाषाभाषीका रीतिरिवाज, कलासंस्कृति र धर्मकर्मलाई समेटेर राष्ट्रियताको भावना निर्माण गर्न संगीतको महत्वपूर्ण स्थान रहन्छ ।’

कार्यक्रममा कांग्रेसका युवा नेता प्रदीप पौडेलले राज्यले संगीतलाई महत्व दिन नसकेको बताए । उनले भने, ‘संगीत एउटा सिर्जना हो । सिर्जना आफैँमा सकारात्मक र रचनात्मक हुन्छ । यसको विकासका लागि सरकार र राजनीतिज्ञले जति महत्व दिनुपर्ने हो, त्यति दिन सकेको अवस्था छैन ।’ संगीतमा राज्य र समाजको लगानी आवश्यक रहेको उनले जानकारी दिए ।

‘विद्यालयको पाठ्यपुस्तकमा संगीतलाई समेट्न नसक्नुले पनि देशले संगीतलाई महत्व नदिएको जस्तो देखिएको छ,’ उनले भने । कांग्रेस ललितपुरका सभापति तथा पूर्वसांसद मदनबहादुर अमात्यले संगीतले हरेक मान्छेलाई प्रभाव पार्ने बताए । भारतीय दूतावासका प्रथम सचिव प्राध्यापक केदारनाथ शर्माले मानिसको जीवनमा संगीत महत्वपूर्ण हुने बताए । ललितपुर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. २४ का अध्यक्ष दिनेश कार्कीले संगीतविनाको मानिस रसविनाको फलफूलजस्तै हुने बताए ।