Logo

प्रधानमन्त्री ओली नेकपाका शीर्ष नेताहरू सँग छलफल छलफलमा सहमतिको प्रयास


काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका शीर्ष नेतासँग सघन छलफलमा छन्। सभामुख चयन, संवैधानिक निकायमा नियुक्तिदेखि पार्टीका आगामी कार्ययोजना बनाउने चटारो पनि उत्तिकै देखिएको छ नेकपामा।

संगठनात्मक एकतामा तीन कुनातिर फर्किएका नेताहरूले एक ठाउँमा उभिने संकेत गरेका छन्। असमझदारी हटाउँदै जान अध्यक्षद्वय ओली र पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल एकमत देखिएका छन्। यसअघि एकलौटी निर्णय गरेको आरोप खेपेका ओलीले पछिल्ला दिनमा भने सहमतिको संस्कार बसाउन खोजेको टिप्पणी नेताहरूले गर्न थालेका छन्।

ओलीले दाहाल र नेपाललाई विश्वासमा लिन खोजेको देखिन्छ। तीन महिनायता तिक्ततापूर्ण सम्बन्धमा रहेका नेपालसँग उनले समझदारीको प्रयास थालेका छन्। ‘पार्टीभित्र असमझदारी बढाउने होइन, सबै शीर्ष नेता मिलेरै पार्टी र सरकारलाई गति दिने हो। त्यसको महसुस शीर्ष नेताहरुले गर्नुभएको छ’, ओलीनिकट स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने, ‘शीर्ष नेताहरू अविश्वास हटाई समझदारी जुटाउन लाग्नुभएको छ।’

नेताहरूबीच चरण–चरणमा छलफल भइरहेको छ। यस्ता छलफल एकले अर्का नेतालाई जानकारी गराएरै गरिरहेको बालुवाटार स्रोतले बतायो। ‘उहाँहरूले जहाँ–जहाँ जसरी छलफल गरिरहनुभएको छ त्यसको जानकारी एकापसमा गराएरै भइरहेको छ’, प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने। नेपाल पक्षधर नेता भने ओलीप्रति अझै विश्वस्त देखिएका छैनन्। ‘मुखले होइन, व्यवहारबाट सन्देश दिन सक्नुपर्छ’, एक नेताले भने।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार पनि ओली र दाहालबीच दुई चरणमा छलफल भयो। दिउँसो भने महासचिव विष्णु पौडेलसमेत सहभागी थिए। ‘पार्टी बैठक बोलाउने विषयमा गृहकार्य भइरहेको छ। मितिको टुंगो लागेको छैन’, महासचिव पौडेलले अन्नपूर्णसँग भने। नेकपाले सचिवालय बैठक बोलाएर लगत्तै स्थायी समिति बैठक बस्ने तयारी छ। गत पुसयता स्थायी समिति बैठक बसेको छैन।

प्रधानमन्त्री ओली पार्टीभित्रको अन्तरविरोध समाधान गर्न कस्सिएका देखिन्छन्। नेपाललाई बालुवाटार बोलाएर उनले तिक्तता मेट्ने प्रयास गरेका छन्। मंगलबार र बुधबार उनले नेपालसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए। पार्टीको अनुशासन आयोग अध्यक्षमा नेपालनिकट अमृत बोहरालाई चयन गरिएसँगै ओलीले नेपाल पक्षलाई पनि समेटेर अघि बढने सन्देश दिएको नेताहरू बताउँछन्।

ओलीसँग संवादहीनता तोडिएसँगै बिहीबार दाहाल भेट्न नेपाल खुमलटार पुगेका थिए। खुमलटारमा दाहाल, नेपाल र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। दिउँसो गृहमन्त्री निवास पुल्चोकमा पनि नेकपा नेताहरूबीच छलफल भएको थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्