अब देखी राष्ट्रपति वा प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरिए ६ महिना कैद र पाँचलाख जरिवाना
नयाँ दिल्ली । भारतमा कसैले राष्ट्रपति वा प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरेमा अब ६ महिना सम्म कैद र ५ लाख रुपैयाँ सम्मको जरिबानाको व्यवस्था गरिने भएको छ ।
अमर उजालाको आजको समाचार अनुसार निजी कम्पनीको विज्ञापनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर प्रयोग बढेपछि केन्द्र सरकारले १९५० को प्रतीक र नाम (अनुचित प्रयोग रोकथाम) कानुनमा पहिलो पटक सजायको प्रावधान राख्न लागेको हो । साथै जरिबानाको रकम १ हजार गुणा बढाएर ५ लाख रुपैयाँ बनाउन लागिएको छ ।
उपभोक्ता मामिला मन्त्रालयले ७ दशक पुरानो कानुनमा संशोधनको मस्यौदा बनाएको छ । कानुन मन्त्रालयले यसमा मन्जुरी पनि दिएको छ । सार्वजनिक परामर्श लिएपछि मस्यौदालाई केन्द्रीय मन्त्रिपरिषद् समक्ष मन्जुरीको लागि पठाइनेछ । सरकारले यो कानुनलाई संसदको शीतकालीन सत्रमा पारित गर्ने तयारी गरेको छ ।
पहिला प्रधानमन्त्री वा राष्ट्रपतिको तस्बिर दुरुपयोग गर्नेमाथि ५०० रुपैयाँ जरिबानाको व्यवस्था थियो । (बीबीसी)