भक्तपुर–१ (क)मा दश स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी, दुईको दर्ता खारेज

राजनीति समाचार

२०७६ कार्तिक २१

भक्तपुर–  आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि भक्तपुर–१ प्रदेश सभा (क)मा २१ जनाको २३ वटा मनोनयन पत्र दर्ता भएको छ । दर्ता भएका उमेदवारी मनोनयनमध्ये दुई वटा खारेज भएको छ । समानुपातिकको बन्द सूचिमा नाम रहेका राप्रपा संयुक्त र आमुल परिवर्तन पार्टीका उमेदवारको मनोनयन खारेज भएको हो । दर्ता भएकामध्ये ११ राजनीतिक दलका र १० स्वतन्त्र छन् ।

तत्कालीन एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको हृदयघातका कारण मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । प्रदेश सभा सदस्यका लागि नेकपाबाट देवीप्रसाद ढकाल, नेपाली कांग्रेसबाट कृष्णलाल भडेल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट निरज लवजुले मनोनयन दर्ता गरेका छन् ।यस्तै, नेपाली कांग्रेस (बी.पी)बाट मधुसुदन न्यौपाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, समाजवादी पार्टीबाट सुदर्शन कुमार, नेकपा मालेबाट सुदर्शन लामिछाने र साझा पार्टीबाट सुरज प्रधानले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्र उम्मेदवारका रुपमा अर्जुन कोजु, राकेश सुवाल, उत्तम साखकर्मी, कृष्णप्रसाद ह्योगो, कृष्णराम पोतामाहा, जीवनचन्द्र अधिकारी, जीवन नेपाली, संगिता पौडेल, सुजाता देउजा र सुमना कार्कीले मनोनयन दर्ता गरेका छन् ।यो क्षेत्रमा चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्दछ । यहाँ ४५ हजार १५ जना मतदाता रहेका छन् भने २२ मतदानस्थलमा ५४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।