बहुचर्चित द्रुतमार्गअनियमितताको आन्तरिक छानबिन प्रतिवेदन प्रधानसेनापतिको टेबुलमा पुग्यो
कार्तिक २१, २०७६
काठमाडौँ — नेपाली सेनाले निर्माण हुनु अगावै अनियमितताको आरोप खेपेको बहुचर्चित ‘काठमाडौं–मधेश द्रुतमार्ग’ निर्माण प्रक्रियाको आन्तरिक छानबिन टुंगाएको छ ।
मुलुकको राजधानी काठमाडौं उपत्यकाबाट दक्षिणी भेग मधेशमा एक घन्टामै पुग्न सकिने करिब ७३ किलोमिटर लामो द्रुतमार्ग निर्माण प्रक्रियाको सुरूआतमै अनियमितताको उजुरी परेपछि सेनाले अन्तरिक छानबिन थालेको थियो ।
प्रधानसेनापति पूर्ण चन्द्र थापाले बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा एक छानबिन टोली गठन गरेका थिए । उक्त टोलीले प्रधानसेनापति थापालाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ । ‘प्रधानसेनापतिको कार्यालयमा रिर्पोट पुगिसकेको छ, त्यस बारेमा केहि दिनमै हामी जानकारी दिने छौं,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने ।
छानबिनका क्रममा सेनाले सुरूआतमा काठमाडौं–मधेश द्रुतमार्गका आयोजनाको नेतृत्व गरेका अवकाश प्राप्त प्राविधिक उपरथी योगेन्द्र खाँडलाई पनि अनुसन्धानको लागि बोलाएको थियो । खाँडले असार १३ मा नियमित अवकाश पाएका हुन् ।
सैनिक स्रोतका अनुसार उक्त टोलीले खाँडपछि आयोजना सम्हालेका सहायक रथी शरदलाल श्रेष्ठलाई अनुसन्धानको अवधिभर कुनै जिम्मेवारी दिइएको छैन । खाँड आयोजना प्रमुख हुँदा श्रेष्ठले द्रुतमार्गको डिजाइन बनाएका थिए ।
खाँडले अनुसन्धानका दौरान श्रेष्ठको पनि नाम लिएपछि श्रेष्ठमाथि पनि अनुसन्धान गरिएको सैनिक स्रोतले बतायो । ‘श्रेष्ठ दोषी नदेखिए फेरि काममा फर्कने छन् । दोषी देखिए कारबाहीको भागीदार हुने छन्,’ स्रोतले भन्यो ।
नेपाल सरकारको २०७४ साउन २७ को मन्त्रिपरिषद्को निर्णय अनुसार सेनालाई द्रुतमार्ग बनाउने जिम्मेवारी दिइएको हो । मुलुकको रणनीतिक पूर्वाधार सेनालाई दिनुपर्ने भन्दै सरकारले सेनालाई निर्माणको जिम्मेवारी दिइएको थियो ।