उपनिर्वाचनका लागिआज उम्मेदवारी दर्ता
बिहिबार, २१ कार्तिक २०७६,
उम्मेदवारले बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित जिल्लाको सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुपर्नेछ। मंसिर १४ मै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने कात्तिक २७ गते उम्मेदवारी दर्ता हुनेछ।
उपनिर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दिउँसो ३ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ। त्यस्तै शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, शनिबार उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन गरिनेछ।
आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। सोही दिन साँझ ५ बजेसम्म उम्मेवारको अन्तिम नामावली प्रकाशन गरिने छ। त्यसको भोलिपल्ट सोमबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मतदान मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ।
विभिन्न कारणले रिक्त भएका जनप्रतिनिधिहरू पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहका ४८ गरी कुल ५२ पदका लागि ३७ जिल्लामा उपनिर्वाचन हुँदैछ।आयोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावली अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाताले मतदान गर्न पाउने छन्। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।
उपनिर्वाचनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले कुनै भयबिना मतदान गर्ने गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए।