काभ्रे चेम्बर अफ कमर्सको आयोजनामा निःशुल्क स्क्रिनिङ तथा स्त्रीरोग परीक्षण
मुन्धुमस्टार
काभ्रे
२०७६ कार्तिक २१ बिहीबार ०६:५१:००
सोमबार सुष्मा कोइराला मेमोरियल अस्पताल, साँखुको प्राविधिक सहयोगमा हलिं नेवा गुथी मिसा कवः काभ्रे तथा लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको सह–आयोजनामा सत्यसाई अस्पताल प्रालिमा निःशुल्क शिविरको आयोजना गरिएको थियो । सोही शिविरमा स्त्रीरोगको परीक्षण गरिएको हो ।जर्मनका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुजेनी ग्रोथ, अर्का डा. सोफी क्रासमारले शिविरमा आएका महिलाहरूको पाठेघरको जाँच तथा अन्य रोगहरूको परीक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरेका थिए । त्यसरी नै सुष्मा कोइराला मेमोरियल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुशीला श्रेष्ठ र वरिष्ठ नर्स सामिन श्रेष्ठले पनि स्वास्थ्य जाँच गरेका थिए । सो शिविरमा पनौती, बनेपा र धुलिखेलका ७२ जना महिलाहरूले सेवा लिएका थिए । परीक्षण गरिएका बिरामीहरूमध्ये आठजनालाई थप परीक्षण र उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पतालमा रेफर गरिएको चेम्बर काभ्रेका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।
जर्मनीकी डा. सुजेनीले सन् २०१४ देखि नै वर्षको दुईपटक नेपाल आएर यहाँका विभिन्न दुर्गम क्षेत्रमा स्त्रीरोग परीक्षण शिविर सञ्चालन गर्दै आएकी छिन् । शल्यचिकित्सक(सर्जन) समेत रहेका उनका पतिले बिरामीहरूको अपरेसन गर्दै आइरहेको आयोजकले जानकारी दिएका छन् । यसअघि पनि काभ्रे चेम्बर र लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको आयोजनामा बनेपामा आँखा शिविरको आयोजना गरिएको थियो । स्त्रीरोग शिविर भने बनेपामा पहिलोपटक भएको आयोजकको भनाइ छ ।



