अमेरिकाले टीपीएसको समयावधी बढायो, अब नेपाली २०२१ सम्म बस्न पाउने
वाशिङटन । अमेरिकाले टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) अन्तर्गत अमेरिकामा बस्दै आएका नेपाली सहित ६ देशका नागरिकको त्यहाँ बस्न पाउने समयावधी बढाएको छ ।
अमेरिकाको होमल्याण्ड सेक्युरिटी मन्त्रालयले जारी गरेको फेडरल रजिस्टर सम्बन्धी सूचनामा सो कुरा उल्लेख गरिएको छ । अमेरिकाको सो मन्त्रालयले यही नोभेम्बर ४ को दिन सो सूचना जारी गरेको हो । यसरी टीपीएस सुविद्यामा त्यहाँ गएर समयावधी लम्ब्याउन पाउनेमा एलसाल्भाडोर, हैटी, होण्डुरस, नेपाल, निकारागुवा र सुडानका नागरिक छन् ।
अमेरिकाले सम्बद्ध देशमा अप्ठेरो परेका नागरिकहरुलाई अमेरिकामा केही अवधी बस्नको लागि सो सुविद्या उपलब्ध गराउँदै आएकोमा अवस्था सुध्रिएको भन्दै सन् २०१८मा उनीहरुलाई स्वदेश फर्किन भनेको थियो । तर ती नागरिकहरुले स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए ।
नेपालबाट सन् २०१५को भूकम्प पछि करिब ९ हजार मानिस सो सुविद्या लिएर अमेरिका गएको बताइएको छ । अमेरिकी सरकारको पछिल्लो निर्णय अनुसार उनीहरु अब सन् २०२१ को जनवरी ४ सम्म अमेरिकामा रहन सक्नेछन् ।
अब सो अवधी सम्म नेपाल समेत ६ देशका नागरिकले त्यहाँ काम गर्न समेत पाउनेछन् । उनीहरुले त्यसका लागि इम्प्लोइमेन्ट अथोराइजेसन डकुमेन्ट (ईएडी) पाउने जनाइएको छ ।
(एजेन्सी)