हङकङका कार्यकारी प्रमुख केरी लामप्रति पूर्ण विश्वास छ: राष्ट्रपति सी जिनपिङ

Breaking News समाचार

सांघाई । चीनका राष्ट्रपति सी जिन पिङले हङकङमा जारी लोकतान्त्रिक आन्दोलनका क्रममा जनस्तरबाट आलोचनाकी पात्र बनिरहेकी कार्यकारी प्रमुख केरी लाम प्रति आफ्नो पूर्ण विश्वास र समर्थन रहेको जनाएका छन् ।

बेइजिङ्गले लामलाई हटाउने तयारी गरिरहेको पश्चिमा मिडियामा चर्चा भइरहेका बेलामा संघाईमा सोमबार भेटघाटका क्रममा राष्ट्रपति सीले लामलाई सो कुरा बताएका हुन् ।

लाम सेकेण्ड चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पोका क्रममा अहिले संघाइमा गएकी छन् । सो अवसरमा लामले हङकङको पछिल्लो अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएकी थिइन् ।

भेटका क्रममा राष्ट्रपति सीले हिंसाको अन्त्य गरी अमन चयन पुनर्वहाली गर्नु अहिलेको लागि हङकङको महत्वपूर्ण कार्य भएको जनाएका छन् । सीले समाजका सबै पक्षसँग संवाद गरी जनताको जीवनस्तर सुधारमा पनि प्रभावकारी ध्यान दिनुपर्ने जनाएका छन् ।

उनले हङकङका सबै नागरिकले ‘एक देश, दुई प्रणाली’ नीति कार्यान्वयन गर्नका लागि मद्यत गर्ने विश्वास समेत सो अवसरमा व्यक्त गरेका थिए । (ग्लोबल टाइम्स)