बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा एक्सरे गरिएको छ।
बुधबार र बिहीबार मिर्गौला डायलासिस गरेका प्रधानमन्त्री ओलीले फोक्सोमा जम्मा भएको पानीको अवस्थाबारे बुझ्न आइतबार बिहान एक्सरे गरिएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बिहान केहीबेर एक्सरेका लागि प्रधानमन्त्री गए पनि अहिले मन्त्रिपरिषद् बैठक चलिराखेको जानकारी दिए।
‘एक्सरे गर्न बिहान एकछिन प्रधानमन्त्री अस्पताल जानुभएको हो,’ उनले सेतोपाटीसँग भने, ‘अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिराखेको छ। प्रधानमन्त्री बैठकमै हुनुहुन्छ।’
प्रधानमन्त्रीको आइतबार डायलासिस गर्ने तयारी रहेछ नि१ भन्ने प्रश्नमा उनले त्यस्तो जानकारी आफूलाई नभएको बताए। ‘हिजो पनि डायलसिस भएन। आज पनि गर्ने संभावना कम देख्छु,’ उनले भने।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आइतबार सचिवालय बैठक डाकेको भए अनिश्चित भएको छ। मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न नेकपाले सचिवालय बैठक बोलाएको थियो। शनिबार बसेको सचिवालय बैठकले उम्मेवारबारे प्रारम्भिक छलफल गरे पनि नाम सार्वजनिक गरेको थिएन।