महिला मुक्ति आन्दोलन, लोकतन्त्रवादमा पतन

Breaking News विचार/ब्लग

भाई किराती

वर्ग संघर्षको महत्वपूर्ण पाटो महिला मुक्ति आन्दोलनलाई मानिन्छ । मानव समाजमा जुन अंतर्विरोध सबैभन्दा पहिला पैदा भयो र यस विरुद्धको आन्दोलन पनि सबैभन्दा अन्तिम सम्म लड्नु पर्दछ । यो आन्दोलन सबैभन्दा जटिल प्रकृतिको हुन्छ । र मार्क्सवादी दृष्टिकोण अनुसार यसको निम्ति वैज्ञानिक कार्य्दिशाद्वारा निरन्तर संघर्षको आवश्यकता पर्दछ ।

नेपाली राजनीतिक जगतमा केही समय अघि देखि महिला मुक्ति आन्दोलनले राम्रै स्थान प्राप्त गर्‍यो, र आंशिक उपलब्धिहरु पनि भए । जसको कारण जिम्मेवारीको दृष्टिकोणले राज्यको महत्वपूर्ण स्थानहरूमा पनि महिला सहभागिता राम्रै देखियो । राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख जस्तो राज्यको नेतृत्व तहमा पुग्न सफल भयो पनि । त्यति मात्र होइन स्थानीय तहबाटै महिला नेतृत्वको स्थान सुनिश्चित भएको छ । तर विडम्बना, एकाधिकार पुँजीवादले नियोजित ढंगले ब्राह्मणवादको अस्तित्वको रक्षार्थ नेपाली राजनीतिमा महिलाको निम्ति अझ जटिल परिस्थिति खडा गरिदियो । अर्थात पुँजीवादले महिला मुक्ति आन्दोलनमा फेरि एकपटक खसीको टाउको देखाएर भ्यागुताको मासु ख्वाएको छ । यसतर्फ भने मुक्तिकामी भनिएका महिला जमात मध्ये धेरैले त सुइँको सम्म पाउन सकेका छैनन् । अझ यसो भनौं क्रान्तिकारी भनेर चिनिएका महिलाको ठूलै हिस्सा मुखदर्शक बनेका छ्न । यो भनेको महिला मुक्ति आन्दोलनको निम्ति भयावह अवस्था हो ।

“पहिलो पटक देखापरेको वर्गीय अन्तर्द्वन्द एकनिष्ठा बिबाह अन्तर्गत पुरुष र नारीका बीचको अंतर्विरोको साथै र पहिलो वर्गीय उत्पीडन पुरुषद्वारा नारी माथिको आधिपत्यको साथसाथै प्रकट हुन्छ “
– फ्रे. एङ्गेल्स

“जंगली योद्धा एवं शिकारीहरु घरमा नारीलाई प्रमुख स्थान दिएर आफू गौण स्थानमै सन्तुष्ट थिए । तर उता भद्र गोठालाहरुले भने आफ्नो स्वामित्वको प्रभावले प्रमुख स्थानमा आफुलाई स्थापित गरे र महिलालाई दोस्रो दर्जामा धकेलिदिए । फेरि नारीहरुले पनि कुनै जिकिर गर्न सकेनन्“
-फ्रे. एङ्गेल्स

“किसान नारीहरु यो भन्दा कम दुस्खि हुन पाइयोस् भन्ने मनसुवाले अर्को जुनिमा कुकुर भएर जन्मन पाए हुन्थ्यो भनी रहर गर्दथे“
– च्याङ चिङ

जब मानव समाजमा मातृसत्तात्मक प्रणालीको अन्त्य भयो तब बिस्तारै नारीमाथि पुरुषहरूको एकाधिकार मौलायो । त्यो यत्ति जब्बर बनेर आयो कि जुन प्रवृत्तिलाई सभ्यताको महान युगले समेत कुनै प्रभाव पार्न सकेन । त्यसपछि अझ धार्मिक युगको स्थापनाले त झन उत्पीडनमा पार्‍यो । मानौँ महिला भनेको सामान्य भोग्य साधन मात्र हो । धार्मिक बिधि बिधानको पर्खाल भित्र महिलालाई बन्दी बनाइयो । अझै सिन्धु सभ्यताले हिन्दु दर्शनको निर्माण गरेपछि झनै महिला माथि बर्बरता थोपरिएको देखिन्छ । महिलाहरुको मस्तिष्क भरी उबेला कुल्चिएको धार्मिक बुट अझै हटेको छैन  । महिलाहरु, महापुरुषहरुको अनुकुलतामा चल्ने यन्त्र नै बनाइए । महा पण्डित, पुरोहित, पादरीहरुको स्वेच्छा अनुसार कसैलाई देवी, दुर्गा, काली, लक्ष्मी, भवानी, सरस्वती र भगवती जस्ता पात्रको रुपमा उभ्याइयो । र पूजनीय महान नारीको उपाधीद्वारा सुसज्जित गरियो । भने बाँकी सबै महिलालाई अस्थायी साधनको स्थानमा दर्ज गरियो । खासमा त्यो नै स्त्रिलिंग भित्र वर्गीय धरातलको पहिलो आधार थियो । त्यहीँ देखि  महिलाद्वारा महिला माथि नै शोषण, विभेद र उत्पीडन हुनथालेको पाइन्छ । आज हजारौं वर्ष बितिसक्दा पनि त्यसको अन्त्य भएको छैन । अझ बरु नयाँ नयाँ शब्दावली सहित भिन्न रुपमा अस्तित्वमा आएको छ ।

सवाल यो छ कि महिला मुक्ति आन्दोलनको मुल उद्देश्य के हो ? केही महिलालाई राज्यको नेतृत्व तहमा पुर्‍याउनकै निम्ति मात्र हो या आम महिला उत्पीडन अन्त्यको निम्ति हो ? दुई चार जना महिला राज्यको उच्चस्थानमा पुगेपछि महिला उत्पीडन अन्त्य भयो भनेर मान्ने हो भने भन्नू केही छैन । तर महिला मुक्ति आन्दोलन भनेको वर्गसंघर्ष नै हो । यस भन्दा फरक ढंगले बुझियो भने त्यो वर्गसंघर्षको चेत भन्दा टाढाको विषय बन्दछ । आजको नेपालको राजनीतिक दर्शन भनेको वर्णव्यवस्थामा आधारित हिन्दु दर्शन हो । तसर्थ यही मार्गदर्शनको जगमा हुर्केका केही बाहेक निष्ठावान चेलाहरु सबै नै मार्क्सवादी दृष्टिकोणलाई तहसनहस पार्न चाहन्छन् । त्यस्ता खालका मान्छेहरु मुखले वर्गसंघर्ष सर्वेसर्वा हो भन्दछन तर वर्ग विभेद गर्न पनि छोड्दैनन । वर्गसंघर्षको विकल्पै छैन भन्छन् तर लिङ्गीय, जातीय र क्षेत्रीय उत्पीडनको अन्त्य गर्नु भनेको उ आफ्नो अस्तित्व समाप्त भएको ठान्दछ । अझै आमूल परिवर्तनको मुलधार हामी नै हौँ भन्छन् तर पुरानो प्रणालीकै पक्षपोषणमा तल्लीन हुन्छन् !  नयाँ सामाजिक प्रणालीको सवाल उठ्यो भने, सद्भाव खल्बलाउने, सहिष्णुता माथिको बज्रपात ठान्दछन । तसर्थ यसतो सामाजिक परिवेशमा महिला मुक्ति आन्दोलनलाई कसरी समाजवादी स्वरुपको आधार प्रदान गर्ने भन्ने नै आजको कम्युनिस्टको निम्ति मुख्य नैतिक प्रश्न हो । मान्छेले सजिलो गरि भन्ने गरेका छन कि वर्गसंघर्ष सकिएपछि सबै समस्याहरू आफै समाधान हुन्छन् । कुरो त आच्छा नै हो । त्यसो भए २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको मुल उद्देश्य वर्गसंघर्षको नियममा आधारित वर्गीय आन्दोलन नै हो । त्यो आन्दोलन आज ७० वर्ष पुग्दा पनि सफल हुन सकेन किन ? त्यसको लेखाजोखा नगरीकन वर्गसंघर्षको रटानले मात्र क्रान्ति हुनसक्दैन । किन कि “मानव जातिले आजसम्म आर्जन गरेको सम्पुर्ण चिजहरुको ज्ञान राख्नुनै कम्युनिस्टको मुल विशेषता हो“ जसले समाजवादी क्रान्तिमा महिलाहरुको भूमिका स्पष्ट गर्दछ ।

समाजको आधा हिस्सा महिला भएको कारण राज्यको मुल नेतृत्वमा पुग्नु स्वभाविक छ । तर विषय नेतृत्व तहमा पुग्नु मात्रै सबै समाधान होइन । किन कि जो महिला राज्यको मुल नेतृत्वमा पुग्छ उसको राजनीतिक पृष्ठभुमि, दर्शन र चिन्तन के हो ? भन्ने प्रश्न प्रमुख हो । जस्तै सार्क राष्ट्रहरुकै उदाहरण लिन काफी छ । इन्दिरा गान्धी, बेनिजीर भुट्टो, बेगम खाली दाजिया, शेख हसिना, श्रीमाओ आर डि बन्दरानाइके, चन्द्रीका कुमारातुङ्गा लगायतका महिलाहरू राज्यको कार्यकारी स्थानमा पुग्न सफल भएका थिए । मानव इतिहासमा आदिम कालको मातृसत्तात्मक प्रणालीको अन्त्य पछि महिलाहरु राज्यको कार्यकारी नेतृत्वमा पुगेको यो दोस्रो ऐतिहासिक घटना हो । भने राज्यको उत्पत्ति पछि महिलाले राज्यको नेतृत्व गरेको यो पहिलो ऐतिहासिक घटना हो । नेपालको राजनीतिक परिवर्तनको हकमा भने महान दसवर्षे जनयुद्ध, जनआन्दोलन साथै विभिन्न घडीमा भएका राष्ट्रिय आन्दोलनहरुको समष्टिमा नाम मात्रको भएपनि नेपाल संघीय गणतन्त्रात्मक मुलुक भएको छ । मुलतः त्यसको आधारमा नेपालमा कार्यकारी नै नभए तापनि र रुपमै भएपनि राज्यको पाँच बरियता क्रम मध्ये तीन ठाउको पदीय जिम्मेवारीमा महिला पुग्न सफल भएका छन् ।  यो एक ऐतिहासिक आवश्यकताले सिर्जना गरेको परिवेश त हो । तर जुन जुन राष्ट्रहरुमा महिलाहरुको कार्यकारी नेतृत्व रह्यो, लगायत नेपालमा आम महिलाको सवाल के छ ? महिला मुक्ति आन्दोलनको मुल मक्सत यही हो त ?

यदि महिलाहरुले आफु माथि भएको उत्पीडन अन्त्यको निम्ति स्थापना गरिएको आन्दोलन हो भने त्यसले समाजका हरेक अंतर्विरोधहरुको सही विश्लेषण गरी समाजवादी स्वरुपको रणनीतिक मार्ग्दिशा तय गर्नुको कुनै विकल्प छैन । जुन आन्दोलन वर्गसंघर्षको प्रमुख हिस्सा बन्न सकोस् । होइन भने फेरि पनि महिला वर्ग लोकतन्त्रवादको दास बनिरहने निश्चित छ । के मार्क्सवादको सैद्धान्तिक आधारमा निर्माण भएको महिला मुक्ति आन्दोलनको बिकल्प लोकतन्त्रवाद नै हो ?

पूर्वीय सभ्यताले निर्माण गरेको दार्श्निक जगतमा प्राचीन नेपाली भूमिको गार्गी नामक महिला दार्श्निक पनि सहभागी थिए । उनी हाल जनकपुर स्थित तत्कालीन राजा जनकको दरबारमा बस्थिन । तर कालान्तरमा हिन्दु दर्शनको बर्बरताले उनको अस्तित्व माथि सदाको लागि ढकनी लगाएको छ । कहिँ कहिँ सुन्ने गरिएको छ, कि ती दार्श्निक गार्गीद्वारा राजा जनकका छोरी सीता प्रभावित थिइन् । तसर्थ सीता प्रति राम र रावणको प्रतिस्पर्धा भएको प्रष्ट छ । अन्ततः रामसँग सीताको बिबाह भयो । त्यसपछि रावणले सीता हरेर लानु मनासिब थिएन । भलै सीता जस्तो  उच्च ज्ञान भएको नारी आफ्नो राज्यमा सम्मिलन गराउनु पाए आफुलाई सहयोग पुग्ने कुरा उसले सोचेका थिए होलान् । तर फेरि रावणलाई हराएर रामले सीतालाई फिर्ता त गर्‍यो । त्यसपछि सीता माथि भएको दुर्ववहार, जस्तै अग्नी परिक्षा लिनु, मार्ने आदेश दिएर पठाउनु, लवकुशलाई अस्वीकार गर्नु । आदि असह्य हर्कतहरुको कारण सीता आफुले आफुलाई सिध्याउन वाध्य भइन ।

कुनै एक अवसरमा दार्श्निकद्वय गार्गी र याज्ञवल्क्य बीच भेट भएछन् र चर्चित दार्श्निक याज्ञवल्क्य प्रति गार्गीले प्रश्न सोधेछ्न ।
गार्गी -मान्छे केमा अडिएको छ ?
याज्ञवल्क्य -पृथ्वीमा ।
गार्गी -पृथ्वी केमा अडिएको छ ?
याज्ञवल्क्य (-ब्रह्माण्डमा ।
गार्गी – ब्रह्माण्ड केमा अडिएको छ ?
याज्ञवल्क्य – त्यो भन्दा उता जान मिल्दैन ।

यस सवाल जवाफबाट के स्पष्ट हुन्छ भने प्रश्न कर्ताको चेतना स्तर धेरै माथि छ । उता जवाफमा, मान्छे पृथ्वीमा अडिएको वस्तुगत यथार्थ हो । भने पृथ्वी ब्रह्माण्डमा अडिएको कुरा तर्कसंगत छैन । किन कि पृथ्वीको आफ्नै भौतिक गति शक्ति छ । तसर्थ पृथ्वीलाई कसैले अडाइरहनु पर्दैन अथवा कसैको निर्देशन वा वाधा अड्चन नै स्वीकार गरिरहँदैन । पृथ्वी ब्रह्माण्डमा अडिएको छ भन्नुको तात्पर्य ब्रह्माण्डनै हो सर्वेसर्वा त्यो भन्दा अरु केही चिज छैन भन्नू हो । र पृथ्वी लगायत सबै कुरा ब्रह्माण्डको आदेशमा चल्छ भन्नु हो । त्यसको सिधा अर्थ ब्रह्माण्ड भनेकै परमईश्वर हो । त्यो भन्दा उता केही चिज छैन । यो तर्क सरासर अध्यात्मवादी छ । किनभने यदि भौतिक कण अर्थात परमाणु (परम अणु) लाई नै अन्तिम, अकाट्य वा टुक्राउनु नमिल्ने परमईश्वर भनिएको हो भने अहिले विज्ञानको बिकासले त परमाणुबाट इलेक्ट्रोन, प्रोटोन, ग्रेभिटोन, फोटोन, बोसोन, विक बोसोनसम्म वैज्ञानिकहरुको खोज अध्यायन र परिक्षणले पत्ता लगाइसकेका छन । अझ यसो भनौं परम अणुलाई पनि हजार टुक्रा पार्न मिल्छ । यसर्थमा परमईश्वरबाट हजार गुणा पर सम्म पनि जान सकिएको छ । यदि परमईश्वरको हजार टुक्राको एक टुक्रालाई अध्यात्मवादीहरु के नामले संबोधन गर्लान त ? अतस् कुनै पनि भौतिक पिण्डहरु आफ्नै गति शक्तिद्वारा सञ्चालित हुन्छन् । करोडौं भौतिक पिण्डहरुको समष्टिगत रुपलाई ब्रह्माण्ड भनिएको मात्र हो । ब्रह्माण्डले पृथ्वीलाई अड्याएको होइन । न ब्रह्माण्ड नै अरु कतैबाट अड्याइएको छ । ब्रह्माण्ड अडिएको छ त केबल शब्दमा ।

अन्तमा स्- नेपाली राजनीतिक पृष्ठभुमिमा निर्मित महिला मुक्ति आन्दोलनले स्थापित गरेको मुल मुद्दाहरु लथालिङ्ग भएका छन् । राज्यको नेतृत्वदायी भूमिका देखि स्थानीय तहसम्म महिला प्रतिनिधित्व सुरक्षित गरिएको त छ । तर राष्ट्रिय सावालहरु समेटिएका हरेक आन्दोलनहरुको मुल भूमिका पात्रहरु फेर्नमा मात्रै सिमित भएको छ । प्राचीन धार्मिक युगकै जस्तो अहिले पनि महा पुरुषहरुको स्वेच्छाले महिलालाई विभिन्न पदहरुमा स्थापित गर्ने प्रचलन अझै गएको छैन । यसको तात्पर्य पुरानो अर्थात पुरातनवादी सामाजिक चिन्तन जहाँको त्यहीँ छ । जुन प्रवृत्तिको कारण समाजको हरेक क्षेत्रमा क्षमतावान, निष्ठावान र जनता माझ स्थापित महिला नेतृत्व माथि अन्याय साथै अपमान भएको छ । भन्नै पर्छ कि समाजमा पुरुषहरूले आफ्नो लक्ष्य प्राप्त गर्नको लागि महिलाहरुको साथ सहयोग अनिवार्य सर्त हो । त्यसै गरी महिलाहरुले पनि आफ्नो लक्ष्यमा पुग्नको निम्ति पुरुषहरूको साथ सहयोग अनिवार्य सर्त हो । जस्तै नारी र पुरुष दुवैको बिना उपस्थिति समाज बिकास क्रम सम्भव छैन । तर नेपालमा भने पुरुषहरु आफ्नो लक्ष्यमा पुग्नको निम्ति महिलाहरुको साथ सहयोग अनिवार्य सर्त ठान्दछन तथापि महिलाको लक्ष्यमा पुरुषहरू वाधकको भूमिकामा हुन्छन् । जुन समाजको महत्वपूर्ण सर्तहरुलाई बेवास्ता गर्ने प्रथाको कारण नारी उत्पीडन अन्त्यको आन्दोलनहरुले समाजवादी मेरुदण्ड पछ्याउन सकिरहेको छैन । त्यो नै खासमा महिला मुक्ति आन्दोलन यथास्थितिमा रुमल्ली रहनुको मुल कारक तत्व हो ।

अतस् यदि महिलाहरुले आफु माथि भएको उत्पीडन अन्त्यको निम्ति स्थापना गरिएको आन्दोलन हो भने त्यसले समाजका हरेक अंतर्विरोधहरुको सही विश्लेषण गरी समाजवादी स्वरुपको रणनीतिक मार्ग्दिशा तय गर्नुको कुनै विकल्प छैन । जुन आन्दोलन वर्गसंघर्षको प्रमुख हिस्सा बन्न सकोस् । होइन भने फेरि पनि महिला वर्ग लोकतन्त्रवादको दास बनिरहने निश्चित छ । के मार्क्सवादको सैद्धान्तिक आधारमा निर्माण भएको महिला मुक्ति आन्दोलनको बिकल्प लोकतन्त्रवाद नै हो ?