Logo

तिहारको चलहपहल सुरु भाइमसलाको मूल्य नबढ्ने भए पनि फूल तथा मालाको मूल्य भने बढ्ने


नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको नजिकिए सँगै बजारमा चहल पहल बढेको छ । विशेषतः तिहारमा फूल र भाइमसलाको बढी कारोबार हुन्छ ।  तिहारमा यो वर्ष फूलको मूल्य वृद्धि हुने भए पनि भाइमसलाको मूल्य भने नबढ्ने भएको छ ।   नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यो वर्ष तिहारमा भाइमसलाको मूल्य नबढ्ने बताए । तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला हो । तिहारमा यसकोे कारोबार करोडौंमा हुने गरेको छ ।

तिहारमा नरिवल, काजु, किसमिस, पेस्ता, बदाम, छोकडा, सुपारी, सिश्री, दालचिनी लगायतको सर्वाधिक व्यापार हुने गरेको छ । “उपभोक्ताले यो वर्ष गत वर्षकै मूल्यमा भाइमसला किन्न पाउनेछन् । मूल्य बढेको छैन । तर सुकुमेल, ल्वाङ र मखनाको मूल्य भने केही वृद्धि भएको छ,” अध्यक्ष श्रेष्ठले भने

गत वर्ष प्रति किलो ३ हजार रहेको सुकुमेल यो वर्ष ५५ सय पुगेको छ । त्यसैगरी गतवर्षको तुलनामा ल्वाङ प्रति किलो ३ सय बढेको छ भने मखना प्रतिकिलो १५० रुपैयाँ बढेको छ । यी बाहेक अन्य मसलाको मूल्य वृद्धि नभएको श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार गत वर्ष काजु प्रतिकिलो १५ सय ५०, किसमिस प्रतिकिलो ५५०–६५० ( दुई प्रकारका किसमिस मध्ये हरियो सस्तो पर्छ भने रातो अलि महँगो) सम्म थियो । त्यससैगरी पेस्ता प्रतिकिलो १७ सय देखि १९ सय, नरिवल प्रतिकिलो ४ सय ८० देखि ५ सय रुपैयाँ, छोकडा प्रतिकिलो २ सय देखि २ सय २० रुपैयाँ, आल्मण्ड प्रतिकिलो १३ सय देखि १५ सय सम्म, सुपारी प्रतिकिलो ६५०, ओखर ६२० र ७००, दालचिनी प्रति किलो ५५०, मिश्री प्रतिकिलो १८० देखि २२०, खुर्पानी प्रतिकिलो ९ सय, अलैची प्रतिकिलो १५ सय रुपैयाँ थियो भने यो तिहारमा पनि गत वर्षकै मूल्यमा मसला किन्न सकिने व्यापारीको भनाइ छ ।

नेपालमा उत्पादन हुने गरेको हाडे ओखर समेत विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । नेपालमा विशेषगरी, भारत, अमेरिका, अस्ट्रेलिया, साउदी, चीन लगायत देशबाट तिहारको लागि प्रयोग हुने भाइमसला आयात गरिन्छ ।

मालाको मूल्य बढ्यो 

यसवर्ष फूल तथा मालाको मूल्य भने बढ्ने भएको छ ।  फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले गत वर्षको तुलनामा बजारमा हरेक वस्तुको मूल्य वृद्धि भएको बताए । “गत वर्षको तुलनामा यो वर्ष फूल तथा मालामा मात्र होइन, बजारमा हरेक वस्तुको मूल्य वृद्धि भएको छ,” उनले भने ।

गत वर्षको तुलनामा फूलमा १२ देखि १५ प्रतिशत मूल्य वृद्धि भएको छ । जसले गर्दा उपभोक्ताले  १ मिटरको मालाको (जहाँ ४० थुँगा हुन्छ) लागि उपभोक्ताले गुणस्तर हेरेर खुद्रा मूल्य१ सय रुपैयाँ सम्म तिर्नुपर्ने देखिएको छ । गत वर्ष एक मिटर मालाको मूल्य ६० देखि ८० रुपैयाँ थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्